एनपीएलको आगामी सिजनदेखि नै 'होम एन्ड अवे' सञ्चालन गर्ने बारे छलफल
९ मार्ग, २०८३
- नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका आफ्नै घरेलु रङ्गशाला निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने विषयमा सरकारले छलफल अघि बढाएको छ ।
काठमाण्डौ, ०९ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका आफ्नै घरेलु रङ्गशाला निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने विषयमा सरकारले छलफल अघि बढाएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार एनपीएलका आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधि र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कासँग यस विषयमा छलफल गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु मैदान निर्माण गरी प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेपछि सरकारले त्यसको कार्यान्वयनका लागि परामर्श थालेको हो ।
छलफलमा मन्त्री पोखरेलले एकैपटक आठवटा रङ्गशाला निर्माण गर्नुभन्दा चरणबद्ध रूपमा अघि बढ्नुपर्ने प्रस्ताव राखेका छन् । आगामी चौथो संस्करणदेखि नै दुईदेखि तीनवटा मैदानमा ‘होम एन्ड अवे’ प्रणालीको अभ्यास सुरु गर्ने र पाँचौँ तथा छैटौँ संस्करणसम्म आठवटै टोलीका घरेलु मैदान तयार पार्ने विषयमा छलफल भएको छ ।
मन्त्री पोखरेलले रङ्गशाला निर्माणका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल वा क्लबलाई दीर्घकालीन लिजमा दिएर निर्माणको जिम्मेवारी दिने विकल्पमा सरकार खुला रहेको बताएका छन् । क्लबहरूको स्वामित्व र अपनत्व भए निर्माण प्रक्रिया छिटो अघि बढ्न सक्ने उनको भनाइ थियो ।
छलफलमा अन्तर्राष्ट्रिय प्रसारण, उत्पादन तथा खेल समीक्षा प्रणाली (डीआरएस) का कारण एउटै मैदानमा प्रतियोगिता सञ्चालन गर्दा पनि लागत उच्च हुने विषय उठेको थियो । ‘होम एन्ड अवे’ प्रणालीमा जाँदा खर्च र आम्दानी बाँडफाँटको स्पष्ट व्यवस्था बनाएर अघि बढ्ने विषयमा समेत छलफल भएको छ ।
क्यानका सचिव पारस खड्काले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानका विद्यमान विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) परिमार्जन गरी कम लागतमा निर्माण सम्पन्न गर्न सकिने प्रस्ताव राखेका छन् । चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशालासहित यी तीन मैदान छोटो समयमै तयार पार्न सकिने उनको भनाइ थियो ।
फ्रेन्चाइज टोलीका प्रतिनिधिहरूले आगामी सिजनअघि त्रिवि क्रिकेट मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् । मूलपानी र चितवनका रङ्गशालाको निर्माण छिटो सम्पन्न गरी बिहानका खेल मूलपानीमा र साँझका फ्लडलाइट खेल त्रिवि मैदानमा सञ्चालन गर्न सकिने सुझावसमेत दिएका छन् ।
क्लबका प्रतिनिधिहरूले सरकारले स्पष्ट नीतिगत व्यवस्था गरे निजी क्षेत्रबाट रङ्गशाला निर्माण तथा सञ्चालनमा लगानी भित्र्याउन आफूहरू तयार रहेको बताएका छन् । उनीहरूले खेलकुद पूर्वाधारमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने र प्रायोजनसम्बन्धी नीतिगत जटिलता हटाउन पनि सरकारसँग आग्रह गरेका छन् ।
मन्त्री पोखरेलले एनपीएलका क्लबहरूसँगै सहकार्य गरेर पीपीपी मोडलमा रङ्गशाला निर्माण गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन् । प्रधानमन्त्रीको घोषणाअनुसार आवश्यक मोडालिटी तयार गरी छिट्टै काम सुरु गर्ने उनको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानीकर्तालाई थप भार नपर्ने गरी पुँजी बढाउने लगानी कोषको तयारी
-
चार महिनामा व्यापार घाटा ६६ खर्ब ८९ अर्ब, आयात-निर्यात दुवै बढ्यो
-
निर्वाचन आयोगले गर्यो गगन नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक
-
ग्यासको आयात, भण्डारण र वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन
-
आमसञ्चार र प्रेस काउन्सिल विधेयकमा कानुनी सुधार हुँदैछ : सञ्चारमन्त्री
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।