सेतो मच्छिन्द्रनाथको रथयात्राको काठमाडौँमा तयारी, महानगरले बढायो बजेट

२०८२ चैत्र ०९ सोमवार
सारांश
  • जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) को जात्रा सञ्चालनका लागि काठमाडौँ महानगरले तयारी बैठक गरेको छ ।

काठमाण्डौ, ०९ चैत्र । जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) को जात्रा सञ्चालनका लागि काठमाडौँ महानगरले तयारी बैठक गरेको छ ।

 

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको वैठकमा रथयात्रा मार्ग व्यवस्थापन, धार्मिक, सांस्कृतिक तथा सामाजिक कामको समन्वय र सहजीकरण, सरसफाइ, शान्ति सुरक्षा, जात्राको गरिमा प्रवर्धन लगायत विषयमा छलफल भएको थियो । यो जात्रा महानगरपालिकाका ९ वटा वडाहरु (१, १९, २०, २१, २३, २४, २५, २७ र २८) मा सञ्चालन हुन्छ ।

 

छलफलमा कार्यवाहक प्रमुख डंगोलले, जात्रा सञ्चालनका लागि महानगरपालिकाले दिँदै आएको सहयोग रकम १० लाख रुपियाँबाट २० लाख रुपियाँ पुर्‍याइएको बताउँदै यसबाट जात्राको भव्यता र श्रद्धालुहरुको सहजतामा सहयोग पुग्ने बताइन् ।

 

गुठी संस्थानका प्रशासक शैलेश कुँवरले समयमा रथ यात्रा प्रारम्भ गरेर तालिका व्यवस्थापनमा प्रयास गर्ने बताए ।   सेतो मच्छिन्द्रनाथका मूल पुजारी एवं महानगरपालिकाका पूर्व वडाध्यक्ष नीलकाजी शाक्यले भने- 'यसको सन्देश विश्वलाई बुझाउनु पर्नेछ । यसलाई अपनत्व गराउने गरी समन्वय गरौँ ।’

 

जनवहाः द्यः जात्रा व्यवस्थापन समितिका संयोजक सुजीव वज्राचार्यका अनुसार यस वर्ष यस बर्ष चैत १२ गते केलटोलबाट खट यात्रा सुरु हुनेछ । सेतो मच्छिन्द्रनाथको मूर्तिलाई बिशेष श्रृङ्गार गरेर जमलस्थित तीनधारा पाठशाला अघिल्तिर निर्माण गरिएको रथमा लगेर प्रतिस्थापन गरिन्छ । यसपछि रथ तानेर पहिलो दिन रत्नपार्क, भोटाहिटी हुँदैअसनसम्म पुर्‍याइन्छ । त्यसै दिन राती १० बजे राष्ट्रपति दर्शनका लागि असन आउने कार्यक्रम छ ।

 

१३ गते साँझ ५ बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याइनेछ । १४ साँझ ५ बजे हनुमानढोकाबाट हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्यावहाल हुँदै लगनसम्म पुर्‍याइन्छ । १५ गते लगनस्थित मच्छिन्द्रनाथकी आमा भएको रुखको परिक्रमा गराइन्छ । त्यसको भोलिपल्ट चैत १६ गते रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्‍याइन्छ ।

 

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौंँको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका रुपमा पूजा गरिन्छ । अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रुपमा समेत मच्छिन्द्रनाथको पूजा आराधना गर्ने चलन छ । मच्छिन्द्रनाथको जात्रा मनाउनाले घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाशले मानिसहरु जात्रामा सहभागी हुन्छन् ।

 

प्राचीन कालमा काठमाडौँको जमलमा खेत खन्ने क्रममा किसानले सेतो मच्छिन्द्रनाथको मूर्ति भेट्टाएको कथा यो रथयात्रासँग सम्बन्धित छ । मूर्तिलाई खेतबाट निकाली घरको भकारीमा राख्दा घरमा अन्नको कमी नभएको, सुख, शान्ति, समृद्धि प्राप्त भएको र रोग ब्याधको नाश हुन थालेको थियो । मूर्ति भगवान भएको र भगवानलाई घरमा राख्दा मान मर्यादा दिन नसकिने महसुस गरेर जमलबाट मूर्तिलाई लगेर जनबहालमा राखेको विश्वाश छ । मूर्तिको स्थापना गरिएको बर्षदेखि नै मूर्ति भेट्टाएको स्थानका रुपमा रथ यात्रा जमलबाट सुरु गर्ने गरिएको छ ।

 

अष्टमीका दिन निकालिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथ यात्रा बिसर्जन गर्नु पर्ने प्रचलन छ ।  हिन्दु र बौद्ध धर्मावलम्बीहरुका साझा आस्थाका देवता सेतो मच्छिन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि पूर्णिमा भित्रका ५ दिन चल्छ । मूर्ति सेतो भएकोले देवताको नाम सेतो मच्छिन्द्रनाथ राखिएको बिश्वास छ । देवताका अन्य नामहरुमा करुणामय, आर्यअबलोकितेश्वर पनि हुन् ।

 

अनिष्ट टार्न तथा अकाल मृत्युबाट बच्न पुस शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथलाई महास्नान गराउने चलन छ । महास्नानका लागि काठमाडौंको शोभा भगवती नजिकको भचाखुशी खोलाबाट ६ वटा तामाका र ३ वटा चाँदीका घटामा पानी ल्याइन्छ । यसरी ल्याइएको पानीमा ६ वटा तामाका घटामा भएको पानीमध्ये ३ पटक तातो र तीन पटक चिसो पानीले मच्छिन्द्रनाथलाई स्नान गराइन्छ । ३ वटा चाँदीका घटामा रहेको पानी मच्छिन्द्रनाथ, करुणामय र आर्यताराको साधना गरेर मच्छिन्द्रनाथको मन्दिरभित्र राखिने परम्परा रहेको छ । महास्नान गराउँदा पैंता, नाखीलगायतका सांस्कृतिक बाजागाजा बजाइन्छ । महास्नानपछि मच्छिन्द्रनाथको मूर्तिलाई बासको कपडाले बेरेर आफ्नो आसनमा नराखी बाहिरै राख्ने राखिन्छ । सेतो मच्छिन्द्रनाथलाई स्नान गराउने चलन लामो समय अघिदेखिको भए पनि यज्ञ मल्लका पालादेखि मन्दिर स्थापना गरी स्नान गराउन थालिएको इतिहासमा उल्लेख पाइन्छ । मच्छिन्द्रनाथलाई स्नान गराउँदा आयु लामो हुने, अकालमा मृत्यु नहुने जनविश्वाश छ ।

 

माघ शुक्ल पूर्णिमाका दिन मच्छिन्द्रनाथलाई परम्परागत बौद्ध विधिअनुसार प्राण प्रतिष्ठा गराई नारी पुरुष दुवैलाई गरिने जातकर्म, नामकर्म, चुडाकर्म आदि संस्कारगत १० कर्म गराइन्छ । त्यसपछि मात्र अफ्नो आसनमा राखिन्छ ।

 

जात्रा तथा पर्वले आन्तरिक सद्भाव, भाइचारा, पारिवारिक सुख, सामाजिक व्यवस्थापन, सदाचारलगायत व्यक्ति, समाज तथा राष्ट्रलाई समृद्ध बनाउने क्षमता राख्छन् । यस पक्षलाई जात्रा सञ्चालन गर्नुको अर्थसँग जोडेर हेर्न सकिन्छ । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार