कोशी प्रदेश प्रमुखविहीन, नयाँ नियुक्तिको टुंगो लाग्न सकेन

२७ कार्तिक, २०८३
सारांश
  • पाँचवर्षे कार्यकाल पूरा गरी प्रदेश प्रमुख परशुराम खापुङ बिदा भएसँगै कोशी प्रदेश प्रदेश प्रमुखविहीन बनेको छ। कात्तिक २४ गते खापुङको कार्यकाल औपचारिक रूपमा समाप्त भए पनि सरकारले हालसम्म नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सकेको छैन।

विराटनगर : पाँचवर्षे कार्यकाल पूरा गरी प्रदेश प्रमुख परशुराम खापुङ बिदा भएसँगै कोशी प्रदेश प्रदेश प्रमुखविहीन बनेको छ। 

 

कात्तिक २४ गते खापुङको कार्यकाल औपचारिक रूपमा समाप्त भए पनि सरकारले हालसम्म नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सकेको छैन। वैकल्पिक जिम्मेवारीसमेत नतोकिँदा प्रदेश प्रमुखको पद रिक्त रहेको हो।

 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा खापुङ २०७८ साल कात्तिक २५ गते कोशी प्रदेशको प्रदेश प्रमुख नियुक्त भएका थिए। पाँच वर्षे कार्यकाल पूरा भएपछि उनी पदबाट बिदा भएका हुन्।

 

खापुङको कार्यकालमा प्रदेश सरकार गठनका क्रममा उनको भूमिका विवादमा समेत परेको थियो। २०८० असार २२ गते उनले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरलाई आधार मान्दै नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए। तर, सभामुखको हस्ताक्षरसहित बहुमत जुटाइएको उक्त नियुक्तिलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै साउन ११ गते बदर गरिदिएको थियो।

 

नेपालको संविधानको धारा १६५ अनुसार प्रदेश प्रमुखको पदावधि समाप्त भएमा पद रिक्त हुने व्यवस्था छ। पद रिक्त भएको अवस्थामा नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्म राष्ट्रपतिले अर्को कुनै प्रदेशका प्रदेश प्रमुखलाई उक्त प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्ने संवैधानिक प्रावधान छ। तर, कोशी प्रदेशका हकमा हालसम्म यस्तो वैकल्पिक व्यवस्था पनि गरिएको छैन।

 

अर्को प्रदेशका प्रमुखलाई कोशीको अतिरिक्त जिम्मेवारी दिइएको अवस्थामा उनले मुख्यमन्त्री तथा मन्त्रीलाई शपथ गराउने, प्रदेश सभाको अधिवेशन आह्वान वा अन्त्य गर्ने तथा प्रदेशबाट पारित विधेयक प्रमाणीकरण गर्नेजस्ता संवैधानिक जिम्मेवारी निर्वाह गर्न सक्नेछन्।

 

यसैबीच, प्रदेश प्रमुखको कार्यालय कोशीकी सूचना अधिकारी सम्पूर्ण थापाले नयाँ प्रदेश प्रमुख नियुक्त भएकोबारे कार्यालयलाई हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताइन्। उनका अनुसार सरकारी कार्यालय खुलेपछि नयाँ नियुक्तिसम्बन्धी सूचना आउने अपेक्षा भए पनि अहिलेसम्म इमेल वा फोनमार्फत कुनै जानकारी प्राप्त भएको छैन।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?

तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।

थप समाचार