मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समाधान हुन्छ : मन्त्री यादव

२०८२ श्रावण ९ शुक्रवार
सारांश
  • शुक्रबार पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशका जिल्लाहरू हाल इतिहासकै एक गम्भीर जलसङ्कटको सामना गरिरहेका बताएका हुन् ।

पर्सा : खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन् ।

 

शुक्रबार पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशका जिल्लाहरू हाल इतिहासकै एक गम्भीर जलसङ्कटको सामना गरिरहेका बताएका हुन् ।

 

उनले भने, ‘तराई–मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको छ । अब सहानुभूति होइन, साझा जिम्मेवारी आवश्यक छ । खानेपानी सङ्कट मधेश प्रदेशको मात्रै समस्या होइन, यो हाम्रो साझा चुनौती हो । सङ्कट समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको छ ।’

 

त्यसैगरी, मन्त्री यादवले तराई–मधेशमा विकराल समयमा पनि आफूसहित सिङ्गो मन्त्रालय नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न अहोरात्र खटिएको जानकारी गराए ।

 

उनले भने, ‘विपद्को यस घडीमा हामी नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न खटिएका छौँ । यहाँको खानेपानी समस्या चाँडै समाधान गरिने म आम नागरिकहरुमा बिश्वास दिलाउन चाहन्छु ।’

 

मन्त्री यादवले आफूले नेतृत्व गरेको खानेपानी मन्त्रालयको विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्बाट मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको बताए ।

 

उनले भने, ‘यो सङ्कटलाई केवल सहानुभूतिका रूपमा होइन, साझा जिम्मेवारीका रूपमा हेर्ने र समाधानका लागि हातेमालो गर्ने बेला आएको छ । दातृ निकाय, संघसंस्था र नागरिक समाजलाई आवश्यक सहयोग गर्न म हार्दिक आग्रह गर्दछु ।’

 

मन्त्री यादवले ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको निर्मल बस्ती खानेपानी आयोजना ठोरी क्षेत्रको दीर्घकालीन खानेपानीको सङ्कट अन्त्यको लागि मन्त्रालयले दिगो र रणनीतिक समाधानतर्फ गरेको प्रयासको प्रतिबद्धताको मुल  प्रतिबिम्ब भएको दाबी पनि गरे ।

 

यस आयोजना मार्फत ठोरीका कम्तिमा पनि दुई हजार १६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार ओभरहेड ट्याङ्की, डीप ट्युबवेल, कार्यालय भवन, पम्प हाउस र पानी प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट) लगायतका संरचना निर्माण गरिएकाले यहाँका नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।

 

आजको उक्त कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, जिल्ला भूमी आयोग पर्साका अध्यक्ष तवेरेजअहमद, आयोजना प्रमुख विपुलकुमार लाल दास, निर्माण व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार