महाधिवेशनको तयारी तीव्र, लिङ्देननिकट नेताहरू जिल्ला भ्रमणमा

३० कार्तिक, २०८३
सारांश
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आठौँ महाधिवेशन नजिकिएसँगै पार्टीभित्र राजनीतिक गतिविधि र आन्तरिक प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। संस्थापन पक्ष र असन्तुष्ट समूह आ–आफ्नो प्रभाव विस्तार गर्न जिल्ला केन्द्रित अभियानमा जुटेका छन्।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आठौँ महाधिवेशन नजिकिएसँगै पार्टीभित्र राजनीतिक गतिविधि र आन्तरिक प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। संस्थापन पक्ष र असन्तुष्ट समूह आ–आफ्नो प्रभाव विस्तार गर्न जिल्ला केन्द्रित अभियानमा जुटेका छन्।

 

पूर्वअध्यक्ष कमल थापासहितका नेताहरूले विभिन्न जिल्लाको भ्रमण गरिरहेका बेला अध्यक्ष राजेन्द्र लिङ्देननिकट दोस्रो पुस्ताका नेताहरू पनि जिल्ला दौडाहामा निस्कने भएका छन्। थापा समूहको अभियानलाई चुनौती दिने रणनीतिसहित लिङ्देन पक्षका नेताहरू तराई–मधेस र गण्डकी प्रदेशमा केन्द्रित हुन लागेका हुन्।

 

यसअघि पूर्वअध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनी तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले वीरगञ्जदेखि झापासम्म एक सातासम्म अभियान सञ्चालन गरेका थिए। उक्त अभियानका क्रममा नेताहरूले अध्यक्ष लिङ्देनको नेतृत्वका कारण पार्टी कमजोर बनेको आरोप लगाएका थिए। थापाले आगामी स्थानीय तहको निर्वाचनमा समेत राप्रपाले उम्मेदवार पाउन कठिन हुने अवस्था आएको टिप्पणी गरेका थिए। थापा समूह अहिले पनि विभिन्न जिल्लामा आफ्नो अभियानलाई निरन्तरता दिइरहेको छ।

 

यही समयमा लिङ्देननिकट नेताहरू पनि जिल्ला भ्रमणमा निस्कन लागेपछि पार्टीको महाधिवेशन केन्द्रित गतिविधि थप बढेको छ। महाधिवेशनको पूर्वसन्ध्यामा पुराना पुस्ताका नेताहरूबाट पार्टी र नेतृत्वबारे आएका अभिव्यक्तिले कार्यकर्तामा भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यसलाई स्पष्ट पार्न आफूहरू अभियानमा जान लागेको नेतृ खुस्बु ओलीले बताइन्।

 

प्रतिनिधिसभा सदस्य ओलीको नेतृत्वमा युवा नेताहरूको टोली तराई–मधेसका विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुनेछ। त्यस्तै, महामन्त्री राजेन्द्र गुरुङको नेतृत्वमा अर्को टोली मंसिर पहिलो सातादेखि गण्डकी प्रदेशका जिल्लाहरूमा पुग्नेछ।

 

अभियानका क्रममा पार्टीविरुद्ध फैलाइएको भ्रम चिर्नुका साथै विभिन्न तहका नेता तथा कार्यकर्तासँग संवाद र अन्तरक्रिया गरिने ओलीले बताइन्। राष्ट्रिय राजनीतिमा राप्रपाको भूमिका र औचित्य, पार्टीको नीति, विचार, सिद्धान्त तथा नेतृत्वबारे समेत छलफल गरिने उनको भनाइ छ।

 

लिङ्देननिकट समूहले आगामी आठौँ महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई नै पुनः अध्यक्ष बनाउने तयारी गरेको छ। लिङ्देननिकट एक नेताका अनुसार पार्टीको दीर्घकालीन भविष्यका लागि उनको विकल्प नरहेको संस्थापन पक्षको बुझाइ छ।

 

‘राप्रपाको दीर्घकालीन भविष्यका लागि अध्यक्षमा उहाँको विकल्प छैन। पार्टी विधानले उहाँलाई त्यो सुविधा पनि दिएको छ। शून्यमा पुगेको पार्टीलाई उहाँले नै यहाँसम्म ल्याउनुभएको हो,’ ती नेताले भने।

 

तराई–मधेस अभियानमा हालैको निर्वाचनमा काठमाडौं–६ बाट उम्मेदवार बनेका उद्धवराज भेटुवाल तथा धनकुटाबाट उम्मेदवार रहेका विभत्सु थापालगायत युवा नेताहरू सहभागी हुनेछन्। युवा व्यवसायीसमेत रहेका थापा राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका नाति हुन्।

 

त्यस्तै, मधेस प्रदेशका सहमहामन्त्री मोहन यादवसहितका नेताहरू पनि अभियानमा सहभागी हुनेछन्। भ्रमण दलका नेता थापाका अनुसार मंसिर १ गते सप्तरी र सिराहा, २ गते धनुषा र महोत्तरी, ३ गते सर्लाही र रौतहट तथा ४ गते बारा र पर्सामा कार्यक्रम तय गरिएको छ।

 

यता महामन्त्री गुरुङ नेतृत्वको टोलीले गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुगेर नेता तथा कार्यकर्तासँग छलफल गर्नेछ। टोलीले तनहुँ, लमजुङ, गोरखा, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा अन्तरक्रिया तथा संवाद कार्यक्रम सञ्चालन गर्नेछ।

 

गुरुङ नेतृत्वको टोलीमा युवा नेता जनकराज पाठक, बागलुङबाट निर्वाचनमा उम्मेदवार बनेका अञ्चल शाही र कल्याण विक्रम आचार्य तथा ललितपुर–१ की उम्मेदवार इन्जिनियर सजीना कार्कीलगायत युवा नेताहरू सहभागी हुने तय भएको छ।

 

महाधिवेशन नजिकिँदै गर्दा दुवै पक्षले जिल्ला तहमा सक्रियता बढाउन थालेपछि राप्रपाभित्र नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार