चीन भ्रमणलाई उपलब्धिमूलक बनाउन प्रधानमन्त्रीको आग्रह

२७ कार्तिक, २०८३
सारांश
  • प्रधानमन्त्री बालेन शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र विकाससँग जोड्न आग्रह गरेका छन्।

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र विकाससँग जोड्न आग्रह गरेका छन्।

 

नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउन तथा आवश्यक निर्देशन लिन रास्वपाका सांसद तथा नेताहरूले शुक्रबार प्रधानमन्त्रीसँग भेट गरेका थिए।

 

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नेपाल र चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने गरी भ्रमणलाई उपलब्धिमूलक बनाउन निर्देशन दिएको जानकारी दिए।

 

उनका अनुसार प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर अध्ययन, छलफल तथा अनुभव आदानप्रदान गर्न सुझाव दिएका छन्। विशेषगरी प्रविधि, व्यापार, अर्थतन्त्र, पर्यटन र कृषिको आधुनिकीकरणका क्षेत्रमा चीनबाट लिन सकिने लाभबारे गम्भीर अध्ययन गर्न प्रधानमन्त्रीले आग्रह गरेका हुन्।

 

चीनसँगको आर्थिक तथा प्राविधिक सहकार्यलाई नेपालको विकास र समृद्धिसँग जोड्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको बुर्लाकोटीले बताए। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले तयार पारेको भ्रमण तालिकामा पनि यी विषय समेटिएको उनले जानकारी दिए।

 

प्रधानमन्त्रीले भ्रमणलाई औपचारिक भेटघाट र पर्यटकीय गतिविधिमा मात्र सीमित नगरी दुई देशको पारस्परिक हित र नेपालको विकासमा योगदान पुर्‍याउने अवसरका रूपमा उपयोग गर्न निर्देशन दिएका छन्।

 

यसैबीच, भ्रमणका क्रममा नेपाल–चीन सीमा सम्बन्धी विषयमा भने छलफल नहुने बुर्लाकोटीले स्पष्ट पारे। सीमा विषयमा नेपालको आधिकारिक धारणा यथावत् रहने पनि उनले बताए।

 

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका सांसद तथा नेताहरूको टोली नोभेम्बर १५ देखि २६ सम्म चीन भ्रमणमा रहनेछ। भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य, प्रविधि हस्तान्तरण, कृषि आधुनिकीकरण र पर्यटनलगायतका विषयमा अध्ययन तथा छलफल हुने अपेक्षा गरिएको छ।

 

भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?

तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।

थप समाचार