देउवा समूहको दाबी- गगनकाे अधिवेशनमा सहभागीहरू पनि गल्ती भएछ भन्दै हामीतिर खुल्दैछन्

१७ असोज, २०८३, शनिवार
सारांश
  • उनले पार्टीको विशेष अधिवेशनमार्फत पार्टीलाई बिथोल्ने प्रयास भएको भन्दै त्यसको विरोधमा नेताकार्यकर्ता उभिएको दाबी गरे। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, सांसद तथा प्रदेश सांसदलाई विभिन्न किसिमका दबाब दिइएको पनि उनको आरोप छ।

काठमाडौं: नेपाली कांग्रेसका इतर पक्षका नेता डा. प्रकाशशरण महतले सभापति गगन थापाले गराएको अधिवेशन प्रक्रियामा वडादेखि नै संलग्न भएका पार्टीका नेता–कार्यकर्ता पनि आफ्नो समूहमा खुल्न थालेको दाबी गरेका छन्।

 

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशभर पार्टीका नेता–कार्यकर्ता स्वतःस्फूर्त रूपमा आफूहरूले अघि बढाएको अधिवेशन प्रक्रियामा जोडिन थालेको दाबी गरे।

 

उनले भने, ‘प्रतिकूल परिस्थितिका बाबजुद नेता–कार्यकर्ता आफ्नै खर्चमा जिल्ला तथा वडा तहमा भेला तथा गतिविधिमा सहभागी भइरहेका छन्। धेरै ठाउँमा अपेक्षा गरेभन्दा पनि बढी सहभागिता भइरहेको छ। मूल कुरा सौहार्दता अत्यन्तै धेरै छ।’

 

उनले पार्टीको विशेष अधिवेशनमार्फत पार्टीलाई बिथोल्ने प्रयास भएको भन्दै त्यसको विरोधमा नेताकार्यकर्ता उभिएको दाबी गरे। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, सांसद तथा प्रदेश सांसदलाई विभिन्न किसिमका दबाब दिइएको पनि उनको आरोप छ।

 

उनले थपे, ‘तिमीहरूको पद जान्छ, आधिकारिकता हामी नै हौँ, कांग्रेस त हामी नै हौँ भनेर ठूलो दबाब दिइएको छ। ती दबाबका बाबजुद साथीहरू पद महत्त्वपूर्ण कुरा होइन, हामी नै रियल कांग्रेस हौँ भनेपछि हाम्रो जिम्मेवारी कसले खोस्न सक्छ भनेर अडिनुभएको छ।’

 

पार्टीका मूल आदर्श, मूल्य र मान्यताको पक्षमा आफूहरू उभिएको जिकिर गर्दै उनले अदालतबाट समेत आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे। कांग्रेसले बोकेको बीपी विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका मूल मान्यताबाट विशेष महाधिवेशन पक्षधर नेतृत्व टाढिँदै गएको आरोपसमेत लगाए।

 

विशेष अधिवेशनको प्रक्रियामा सहभागी भएका केही नेता–कार्यकर्ता समेत पछिल्लो समय आफ्नो समूहको अधिवेशन प्रक्रियामा वडादेखि नै सहभागी हुन थालेको उनले बताए।

 

उनले थपे, ‘अरू धेरै साथीहरू पनि भ्रममा परेर उताको अधिवेशनमा सहभागी भएका साथीहरू पनि फटाफट, होइन हामीले त यो गलत गरेछौँ भनेर हाम्रो यो अधिवेशनको प्रक्रियामा वडादेखि नै संलग्न हुन थाल्नुभएको छ।’

 

न्यायालयबाट न्याय पाएपछि पार्टीलाई मूल सिद्धान्त र आदर्शलाई केन्द्रबिन्दुमा राखेर अघि बढाइने उनले बताए।

 

‘शेरबहादुरजीको नेतृत्वमा जुन १४ औँ अधिवेशन सम्पन्न भयो र उहाँ निर्वाचित हुनुभयो। उहाँले नै अब १५ औँ अधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्ने हो,’ उनले भने, ‘अहिले स्वतःस्फूर्त रूपमा देशैभरि पार्टीका साथीहरू यो अभियानमा जुट्नुभएको छ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार