कांग्रेसमा गुटगत प्रतिस्पर्धाको अन्त्य, पदाधिकारीका आकांक्षी खुल्दै
१६ असोज, २०८३, शुक्रवार
- पूर्वसभापति शेरबहादुर देउवा समूहमा रहेका केही नेताहरू विशेष महाधिवेशनपछि थापा नेतृत्वको प्रक्रियामा जोडिएका छन् ।
काठमाडौँ: नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र पुरानो शैलीको गुटगत र प्यानलगत प्रतिस्पर्धाभन्दा व्यक्तिगत रूपमा पदाधिकारीको दाबी शुरु भएको छ ।
सभापतिदेखि महामन्त्री, उपसभापति र सहमहामन्त्रीसम्म आकांक्षीहरू सार्वजनिक रूपमा खुल्न थालेका छन् । विशेष महाधिवेशनपछि गगनकुमार थापा नेतृत्वमा आएपछि उनलाई नै सभापतिमा निरन्तरता दिने तयारी भइरहेको छ । तर पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि सभापति पदमा प्रतिस्पर्धाको सम्भावना पनि देखिएको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसभित्रको पुरानो समूहगत समीकरणसमेत परिवर्तन भएको देखिन्छ । पूर्वसभापति शेरबहादुर देउवा समूहमा रहेका केही नेताहरू विशेष महाधिवेशनपछि थापा नेतृत्वको प्रक्रियामा जोडिएका छन् ।
कांग्रेसमा सबैभन्दा धेरै प्रतिस्पर्धा महामन्त्री पदमा देखिने सम्भावना छ । अहिले प्रारम्भिक चरण नै भएकाले दाबेदारको संख्या घट्ने बढ्ने भने हुन सक्छ । दुई महामन्त्री पदका लागि करिब एक दर्जन नेताले आकांक्षा राखेका छन् । विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरे पुनः यही पदमा दोहोरिन चाहिरहेका छन् । यी दुई बाहेक महामन्त्रीका आकांक्षीमा प्रवक्ता देवराज चालिसे, उदयशमशेर राणा, प्रकाश रसाइली ‘स्नेही’, डा. डिला संग्रौला, जीवन परियार, नैनसिंह महर, रामहरि खतिवडा, आङ्गेलु शेर्पा, अमरसिंह पुन र मधु आचार्य पनि छन् । केही नेताले उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीले आन्तरिक रूपमा तयारी अघि बढाइरहेका छन् । महामन्त्री पदको दाबी गर्ने नेताहरू पछिल्लो समय जिल्ला–जिल्लामा पुगेर महाधिवेशन प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तासँग भेटघाट समेत गरिरहेका छन् ।
यसपटक केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने पुरानो व्यवस्था हटाइएकाले पदाधिकारीका आकांक्षीले आफ्नै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्ने भएको छ । त्यसैले काठमाडौंमा बसेर पदाधिकारीको दाबी गर्नुभन्दा पहिले आफ्नै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचित गराउने चुनौती नेताहरूसामु छ। यही कारण पदाधिकारीका आकांक्षीहरू अहिले जिल्ला तथा निर्वाचन क्षेत्रमा सक्रिय भएका छन् । यसले पदाधिकारीका आकांक्षीका लागि पहिलो परीक्षा नै प्रतिनिधि चयनलाई बनाएको छ। कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने तयारी छ ।
त्यसैगरी, उपसभापति पदमा वर्तमान उपसभापति पुष्पा भुसाल र विश्वप्रकाश शर्माको नाम चर्चामा छ । सभापति थापा शर्मालाई सर्वसम्मत बनाउने प्रयासमा रहेको बताइएको छ । यससँगै महालक्ष्मी उपाध्याय ‘डिना’ र पूर्वउपसभापति उम्मेदवार विजयकुमार गच्छदारको नाम पनि चर्चामा छ । सहमहामन्त्रीमा भने समावेशी समूहका आधारमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुने भएकाले महामन्त्री र उपसभापतिको जस्तो एउटै पदमा देशव्यापी प्रतिस्पर्धा हुने छैन । प्रतिमा गौतमले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेकी छन् भने मनोजमणि आचार्य, श्याम घिमिरे, मीन विश्वकर्मा र जनकराज गिरीलगायतका नाम पनि चर्चामा छन् ।
यसपटकको महाधिवेशनमा एउटै नेताको नेतृत्वमा पूरै प्यानल बनाएर चुनाव लड्ने पुरानो अभ्यास भने नदेखिने भएको छ । सभापतिको उम्मेदवार एउटै भए पनि उनका समर्थक नेताहरूले महामन्त्री, उपसभापति वा सहमहामन्त्रीमा आफ्नै छुट्टै दाबी अघि बढाउन सक्ने अवस्था बनेको छ । यसले महाधिवेशन प्रतिनिधिसँगको व्यक्तिगत सम्बन्ध, भौगोलिक आधार, समावेशी प्रतिनिधित्व, पुस्तागत समीकरण र नेताहरूको विगतको भूमिकालाई पदाधिकारी निर्वाचनमा महत्वपूर्ण बनाउने देखिन्छ । काँग्रेसमा सम्भवत पहिलो पटक बिना गुटको प्रतिष्पर्धा हुने वातावरण बनेको देखिएको छ ।
त्यस्तै, हाल १६४ सदस्यीय रहेको केन्द्रीय कार्यसमिति १५औँ महाधिवेशनपछि २३८ सदस्यीय बनाउने तयारी गरिएको छ । पदाधिकारीको संख्या १४ बाट बढाएर १७ पुर्याइएको छ । सभापतिसहित १३ पदाधिकारी र १५६ सदस्य महाधिवेशनबाट निर्वाचित भएर आउनेछन् । नयाँ व्यवस्थाअनुसार सभापतिले महाधिवेशनपछि तीन सहमहामन्त्रीसहित ६१ जना मनोनयन गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि पदाधिकारीमा कोषाध्यक्ष मात्रै मनोनयन गर्ने व्यवस्था थियो । मनोनीत हुने तीन सहमहामन्त्रीमध्ये एक महिला अनिवार्य गरिएको छ । आठ समूहबाट एक–एक सहमहामन्त्री निर्वाचित हुने पुरानो व्यवस्था भने कायम राखिएको छ । यससँगै कम्तीमा एक निर्वाचित र एक मनोनीत गरी दुई महिला पदाधिकारी सुनिश्चित गरिएको छ । सभापतिले मनोनयन गर्न पाउने केन्द्रीय सदस्यको संख्या पनि ४१ बाट बढाएर ६१ पुर्याइएको छ ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ । असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन गर्ने कार्यतालिका छ । महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने तयारी गरिएको छ ।
यसरी महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसभित्र नेतृत्वका आकांक्षी खुल्ने क्रम तीव्र बनेको छ । विशेष महाधिवेशनपछि बनेको नयाँ राजनीतिक समीकरणमा पुरानो गुटगत संरचना कति प्रभावशाली रहन्छ र व्यक्तिगत रूपमा अघि बढेका आकांक्षीमध्ये कसले प्रतिनिधिको समर्थन जुटाउँछन् भन्ने विषय अब महाधिवेशनको मुख्य राजनीतिक चासो बनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
मोदी शासनको १२ वर्ष: सांस्कृतिक पुनरुत्थान देखि आर्थिक समृद्धिसम्म
भारतले पछिल्ला वर्षहरूमा केवल आर्थिक र प्राविधिक क्षेत्रमा प्रगति गरेको छैन, अन्तर्राष्ट्रिय कूटनीतिमा पनि आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरेको देखिन्छ।