आङ्देम्बेले सम्झाए प्रधानमन्त्री शाहलाई संसदीय मर्यादा
१५ असोज, २०८३, बिहिवार
- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहको संसद्मा अनुपस्थितिलाई लिएर प्रश्न उठाउँदै संसदीय मर्यादा र परम्परा पालना गर्न ध्यानाकर्षण गराएका छन् ।
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहको संसद्मा अनुपस्थितिलाई लिएर प्रश्न उठाउँदै संसदीय मर्यादा र परम्परा पालना गर्न ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै आङ्देम्बेले प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर फर्किए पनि महासभामा भएका गतिविधिबारे संसद्लाई जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले संसद् चलिरहेका बेला प्रधानमन्त्री कहाँ र के काममा व्यस्त छन् भन्नेबारे सदनलाई जानकारी हुनुपर्ने बताउदै प्रमुख प्रतिपक्षी दलले संसद्मा प्रश्न उठाइरहेका बेला प्रधानमन्त्रीको अनुपस्थिति संसदीय मर्यादाअनुकूल नभएको उनको भनाइ थियो ।
आङ्देम्बेले प्रधानमन्त्रीलाई संसद् सरकारको अनुकूलतामा चल्ने संस्था नभएको स्मरण गराउँदै लोकतन्त्रमा नियम र प्रक्रिया सरकारका लागि पनि समान रूपमा लागू हुने बताए । उनका अनुसार संसद्मा बहुमत हुँदैमा शासन सञ्चालनका लागि पर्याप्त नहुने र जनताको विश्वास कायम राख्न संवाद, समन्वय, संस्थागत सम्मान, निर्णय क्षमता र परिणाम आवश्यक हुन्छ ।
सरकारले संसद्, राज्यका तीनै तह, संवैधानिक निकाय, प्रशासन, निजी क्षेत्र र नागरिक समाजलाई साथ लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। संसद्लाई प्रतिस्पर्धी नभई लोकतन्त्रको साझेदार संस्थाका रूपमा बुझ्नुपर्ने उनले बताए ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि र फर्किएपछि संसद्लाई जानकारी गराउने विषय केवल परम्परा नभई संसदीय जवाफदेहितासँग जोडिएको आङ्देम्बेले बताए । उनले प्रधानमन्त्रीलाई परम्परा र प्रक्रिया तोड्ने नाममा सरकार आफैं अप्ठ्यारोमा पर्ने अवस्था सिर्जना नगर्नसमेत आग्रह गरे ।
आङ्देम्बेले प्रधानमन्त्री शाहको संसदीय व्यवहारले नयाँ पुस्तालाई कस्तो संसदीय अभ्यास र मर्यादाको सन्देश दिने भन्ने प्रश्नसमेत उठाएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।