सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

२७ भाद्र, २०८३, शनिवार
सारांश
  • कार्यक्रममा पूर्वमन्त्री लक्ष्मणराज घिमिरेले सन्तनेता भट्टराईले जीवनको अन्तिम समयमा देशको अवस्थाप्रति व्यक्त गरेको चिन्तालाई स्मरण गर्दै भावविह्वल बने।

काठमाडौँ: सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रको तेस्रो वार्षिक साधारण सभा राजधानीमा सम्पन्न भएको छ। केन्द्रका अध्यक्ष लोकेश ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाको वार्षिक कार्यक्रम, भावी कार्यनीति तथा सन्तनेता भट्टराईको जीवन, त्याग, संघर्ष र राजनीतिक योगदानबारे चर्चा गरिएको थियो।

 

कार्यक्रममा वक्ताहरूले कृष्णप्रसाद भट्टराईलाई नेपाली कांग्रेसका नेताका रूपमा मात्र नभई प्रजातान्त्रिक आन्दोलनका महान् नेतृत्वकर्ता, सिद्धान्तनिष्ठ तथा वैचारिक रूपमा प्रखर व्यक्तित्वका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरे। उहाँको आध्यात्मिक लगाव, धार्मिक चेतना र आधुनिक विचारको समन्वयलाई समेत वक्ताहरूले स्मरण गरेका थिए।

 

केन्द्रका अध्यक्ष ढकालले संस्थाको उद्देश्य, भावी कार्यक्रम, कार्यनीति तथा आर्थिक विषयमा जानकारी गराउँदै सन्तनेता भट्टराईका विचार र योगदानलाई जीवन्त राख्नु केन्द्रको मुख्य उद्देश्य रहेको बताए। सहभागी आजीवन सदस्यहरूले केन्द्रका गतिविधि सातै प्रदेशमा विस्तार गर्दै नयाँ पुस्ता र युवामाझ सन्तनेताको विचार पुर्‍याउनुपर्नेमा जोड दिए।

 

कार्यक्रममा पूर्वमन्त्री लक्ष्मणराज घिमिरेले सन्तनेता भट्टराईले जीवनको अन्तिम समयमा देशको अवस्थाप्रति व्यक्त गरेको चिन्तालाई स्मरण गर्दै भावविह्वल बने। उनले सन्तनेताले भावी पुस्ताले दुःख पाउनेबारे व्यक्त गरेका चिन्ताहरू अहिले वास्तविकतामा परिणत भइरहेको बताए।

 

‘सन्तनेता कृष्णप्रसादले भावी पुस्ताले दुःख पाउँछ भनेर हामीमाझ जे-जस्ता कुरा भन्नुभएको थियो, आज त्यही कुराहरू भइरहेका छन्। हामी देशको बर्बादी हेरेर बसिरहेका छौँ। आज देशको प्रजातन्त्र र राष्ट्रियता सबै कमजोर भएको छ,’ घिमिरेले भने।

 

इतिहास तथा संस्कृतिविद् डा. रमेशकुमार ढुङ्गेलले सन्तनेता भट्टराईले धर्म, संस्कृति र राजसंस्थालाई महत्त्व दिएको स्मरण गर्दै उहाँ आधुनिक विचार र धार्मिक–आध्यात्मिक चेतनाको अद्वितीय समिश्रण भएको व्यक्तित्व रहेको बताए।

 

संघीय संसद्का पूर्वमहासचिव मनोहर भट्टराईले सन्तनेतालाई चुनावमा धोका र धाँधली गरेर हराइएको स्मरण गर्दै त्यस घटनामा देश नै रोएको बताए।

 

सभामा सन्तनेता भट्टराईको जीवन र विचारलाई नाटक, चलचित्र, वक्तृत्वकला तथा विद्यालयस्तरीय कार्यक्रममार्फत नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो। सहभागीहरूले उहाँको जीवनलाई अध्ययन र अनुसन्धानको विषय बनाउँदै केन्द्रले त्यसका लागि सहयोग गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा केन्द्रका आजीवन सदस्यहरूको उपस्थिति थियो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार