समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता

२०८२ पुष २९ गते मङ्गलवार
सारांश
  • यसैक्रममा विभिन्न दलका ८५ उम्मेदवारले बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

काठमाडौं: प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले बन्दसूची पुनर्संरचना थालेका छन् । 

 

यसैक्रममा विभिन्न दलका ८५ उम्मेदवारले बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

 

निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नाम फिर्ताको समय तोकेको थियो । आयोगका अनुसार उम्मेदवार स्वयं उपस्थित भएर वा अनुपस्थित अवस्थामा वारेसमार्फत पनि नाम फिर्ता लिन सकिने व्यवस्था गरिएको थियो ।

 

नाम फिर्ता लिनेमा जनमत पार्टी, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार रहेका छन् । दलगत रूपमा सबैभन्दा धेरै जनता समाजवादी पार्टीका २१ जना र जनमत पार्टीका २० जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

 

जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै भएको एकतापछि बन्दसूची मिलान गर्न नाम फिर्ता लिने र नयाँ व्यवस्थापन गरिएको सम्बन्धित दलले जनाएको छ । आयोगका अनुसार अन्तिम नामावली सार्वजनिक हुँदा फिर्ता लिने उम्मेदवारको सङ्ख्या अझै परिवर्तन हुनसक्छ ।

 

यस निर्वाचनका लागि समानुपातिकतर्फ ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० सदस्य समानुपातिक र १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार