नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट मात्रै हुन्छ, विशेष महाधिवेशनको औचित्य छैन: एनपी साउद

२०८२ पुष २९ गते मङ्गलवार
सारांश
  • नेता साउदले पार्टीको वर्तमान नेतृत्व कार्यकर्ताका जायज माग र विधानका सम्बन्धमा सधैं सकारात्मक रहेको दाबी गरे।

काठमाडौं: नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको नेतृत्व परिवर्तन विधानसम्मत प्रक्रिया र १५औं महाधिवेशनबाट मात्र सम्भव भएको बताएका छन्। काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता साउदले असन्तुष्ट पक्षले माग गरिरहेको विशेष महाधिवेशनको अहिले कुनै औचित्य नरहेको प्रष्ट पारेका हुन्।

 

पार्टीभित्र पछिल्लो समय देखिएको वैचारिक बहस र नेतृत्व परिवर्तनको मागका सम्बन्धमा बोल्दै साउदले भने, “नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट हुन्छ, विशेष महाधिवेशनबाट होइन। विधानभन्दा बाहिरका कुरामा कसैले पनि जिद्दी गर्नु हुँदैन।” उनले आगामी वैशाखको अन्तिम साता काठमाडौंमा १५औं महाधिवेशन सम्पन्न हुने र त्यहीँबाट नयाँ नेतृत्व चयन हुने जानकारी दिए।

 

नेता साउदले पार्टीको वर्तमान नेतृत्व कार्यकर्ताका जायज माग र विधानका सम्बन्धमा सधैं सकारात्मक रहेको दाबी गरे। असन्तुष्ट पक्षले भृकुटीमण्डपमा आयोजना गरेको भेलालाई संकेत गर्दै उनले त्यसलाई ‘विशेष महाधिवेशन’ नभई केवल ‘भेला’ को संज्ञा दिए।

 

“भृकुटीमण्डपको भेलाबाट साथीहरू सकारात्मक भएर फर्किनुहुनेछ र पार्टीलाई विभाजन हुनबाट जोगाउन भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,” साउदले भने। उनले १५औं महाधिवेशनको मिति सबै पक्षको सहभागिता र सहमतिमै केन्द्रीय समितिले तय गरेको समेत स्मरण गराए।

 

यसअघि पुस महिनाका लागि तय गरिएको महाधिवेशनको तालिका सबैको सल्लाहमा स्थगित गरिएको उल्लेख गर्दै उनले अहिले विधान मिचेर नयाँ प्रक्रिया सुरु गर्नुभन्दा नियमित महाधिवेशनमै केन्द्रित हुनुपर्नेमा जोड दिए। नेविसंघको आन्दोलन, नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण जस्ता कार्यहरूलाई समेटेर पार्टीले नयाँ नेतृत्वका लागि तयारी गरिरहेको उनको भनाइ थियो।

 

अन्त्यमा, पार्टी एकतालाई सुदृढ बनाउन र विभाजनको कुनै पनि प्रयासलाई रोक्न सबै नेता–कार्यकर्ता जिम्मेवार हुनुपर्ने साउदले बताए।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार