राप्रपाको निष्कर्ष: राजा, दल र ‘जेनजी’ बीच नवीन समझदारी आवश्यक
२०८२ मङ्सिर २६ शुक्रवार
- राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि जनमत संग्रहको बाटो अस्वीकार गर्ने निर्णय गरेको छ ।
काठमाडौँ, २७ मंसिर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान राजनीतिक संकटको निकासका लागि राजा, राजनीतिक दल र ‘जेनजी’ (Gen-Z) पुस्ताबीच ‘नवीन समझदारी’ आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा काठमाडौँमा तीन दिनसम्म (मंसिर २४–२६, २०८२) बसेको केन्द्रीय कार्यसमितिको बैठकले मुलुक गम्भीर राजनीतिक चक्रव्यूहमा फसेको भन्दै अबको निकास राष्ट्रिय सहमतिबाट खोजिनुपर्ने निर्णय गरेको हो ।
राप्रपाले गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ लाई ३५–३६ वर्षदेखि सत्तामा रहेका दलहरूको असफलता, चरम भ्रष्टाचार, र दलीयकरणको दुष्परिणामको रूपमा व्याख्या गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “केही घण्टामै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ध्वस्त हुनु, प्रधानमन्त्री भाग्नुपर्ने अवस्था आउनु र सरकारी कार्यालयहरू जल्नुले वर्तमान संविधान र यसका नेतृत्वकर्ताहरू पूर्ण रूपमा असफल साबित भएको पुष्टि गर्दछ ।”
राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि जनमत संग्रहको बाटो अस्वीकार गर्ने निर्णय गरेको छ । “हाम्रो परिकल्पनाको राजा देशको साझा संस्था हुनेछ, त्यसैले यस्तो संस्था अल्पमत वा बहुमतको आधारमा होइन, राष्ट्रिय सहमतिबाट स्थापित हुनुपर्छ,” राप्रपाको निर्णयमा उल्लेख छ । जनमत संग्रहले अस्थिरता र द्वन्द्व बढाउने भन्दै राप्रपाले ‘पूर्ण संवैधानिक राजसंस्था’ सहमतिकै बाटोबाट ल्याउनुपर्नेमा जोड दिएको छ ।
सरकारले घोषणा गरेको २०८२ फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनले समस्याको समाधान नदिने राप्रपाको ठहर छ । यद्यपि, जिम्मेवार राजनीतिक दलको हैसियतले राप्रपाले उक्त प्रजातान्त्रिक प्रक्रिया (निर्वाचन) मा सहभागी हुने निर्णय गरेको छ । बैठकले पार्टीको महाधिवेशन तयारी र निर्वाचनको तयारीलाई एकसाथ अघि बढाउन निर्देशन दिएको छ ।
आफ्ना एजेण्डाहरू स्थापित गर्न र राजासहितको नवीन समझदारीका लागि जनदबाव सिर्जना गर्न राप्रपाले पुस महिनामा देशभर ‘जनसंवाद तथा जनप्रदर्शन’ गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टीको निर्देशन विपरीत मधेश प्रदेश सरकारमा सहभागी भएको भन्दै समानुपातिक सांसद कन्चन बिच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निष्कासन गर्दै सांसद पदबाट हटाउने निर्णय अनुमोदन गरेको छ ।
यस्तै, पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियारले देखाएको सक्रियताको स्वागत गर्दै राप्रपाले यसलाई तार्किक निष्कर्षमा पुर्याउन माग गरेको छ । ‘जेनजी’ आन्दोलनका क्रममा मारिएका ७६ जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राप्रपाले घाइतेको उपचार र क्षतिपूर्तिको माग समेत गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।