नेपाल–भारतले जारी गरेको ‘विकसित भारत र समुन्नत नेपाल: साझेदारीको पुनर्कल्पना’ मा के के छ ?
७ मार्ग, २०८३
- नेपाल र भारतले दशकौँ पुरानो द्विपक्षीय सम्बन्धलाई वर्तमान राजनीतिक, आर्थिक तथा प्रविधिगत आवश्यकताअनुसार नयाँ ढाँचामा अघि बढाउने सहमति गरेका छन् ।
काठमाडौँ : नेपाल र भारतले दशकौँ पुरानो द्विपक्षीय सम्बन्धलाई वर्तमान राजनीतिक, आर्थिक तथा प्रविधिगत आवश्यकताअनुसार नयाँ ढाँचामा अघि बढाउने सहमति गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशले ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ नामक संयुक्त दृष्टिकोणपत्र जारी गर्दै आर्थिक विकासदेखि ऊर्जा, पूर्वाधार, प्रविधि, शिक्षा, खेलकुद, स्वास्थ्य र कृषिसम्मका १० क्षेत्रमा सहकार्य विस्तार गर्ने योजना सार्वजनिक गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मङ्सिर ६ र ७ गते भएको प्रधानमन्त्री शाहको राजकीय भ्रमणका क्रममा जारी दृष्टिकोणपत्रले नेपाल–भारत साझेदारीलाई आधुनिक, परिणाममुखी र पारस्परिक लाभमा आधारित बनाउने लक्ष्य राखेको छ। यसमा दुई देशबीचका विद्यमान सम्झौता तथा सहमतिको पुनरावलोकनदेखि नयाँ आयोजना र सहकार्यका क्षेत्र पहिचान गर्नेसम्मका विषय समेटिएका छन् ।
संयुक्त दृष्टिकोणपत्रमा दुई देशको सम्बन्ध पारस्परिक सम्मान र लाभका सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै बदलिँदो समयअनुसार यसलाई परिमार्जन गर्नुपर्नेमा जोड दिइएको छ ।
सन् १९५० को सन्धिसमेत पुनरावलोकन गर्न सकिने
संयुक्त दृष्टिकोणपत्रको महत्त्वपूर्ण पक्ष नेपाल र भारतबीचका विद्यमान द्विपक्षीय सम्झौता तथा सहमतिको पुनरावलोकन गर्ने सहमति हो । दुवै देशका प्रधानमन्त्रीले सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहितका विद्यमान सम्झौता आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने उल्लेख गरेका छन् ।
दृष्टिकोणपत्रमा भनिएको छ- 'द्विपक्षीय साझेदारी समकालीन राजनीतिक, आर्थिक तथा प्रविधिगत वास्तविकतालाई प्रतिबिम्बित गर्ने र अद्यावधिक तथा भविष्यउन्मुख कानुनी संरचनामा आधारित हुनुपर्छ ।' जलस्रोत, ऊर्जा, व्यापार, वाणिज्य तथा सीमा सम्बन्धी बाँकी विषय पनि आपसी छलफल र संवादबाट समाधान गर्ने सहमति भएको छ । यसले लामो समयदेखि छलफलमा रहेका द्विपक्षीय विषयलाई संवादमार्फत अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
२ खर्ब ४० अर्ब रुपैयाँ विकास सहायता
भारतले नेपालको विकासका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसमध्ये विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार आयोजनाका लागि ५६ अर्ब रुपैयाँ अनुदान तथा ऊर्जा क्षेत्रका आयोजनाका लागि १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा रहनेछ ।
विशिष्ट आयोजना र सहायता उपलब्ध गराउने प्रक्रियाबारे दुवै देशले आपसी परामर्शबाट टुङ्गो लगाउनेछन्। भारतले नेपालका प्राथमिकताका क्षेत्रमा लगानी प्रोत्साहन गर्ने तथा व्यापार र लगानीसम्बन्धी विद्यमान संरचनाको पुनरावलोकन गरी आर्थिक साझेदारी विस्तार गर्ने योजना पनि अघि सारेको छ ।
सीमावर्ती क्षेत्रमा निर्यातमुखी उत्पादनका लागि विशेष आर्थिक क्षेत्र तथा औद्योगिक पार्क स्थापना, सूचना प्रविधि पार्क विकास र भारतीय लगानी आकर्षित गर्ने विषयसमेत दृष्टिकोणपत्रमा समेटिएको छ ।
रेल, सडक र डिजिटल सम्पर्क विस्तार
भौतिक तथा डिजिटल सम्पर्क विस्तारलाई आर्थिक सहकार्य र जनस्तरको सम्बन्ध बलियो बनाउने आधारका रूपमा प्रस्तुत गरिएको छ। अयोध्या–जनकपुर रेल सेवा र महाकाली नदीमाथि भारतको धार्चुला तथा नेपालको दार्चुला जोड्ने सवारीसाधन आवागमनयोग्य पुल सञ्चालनमा आएको विषयलाई दुवै पक्षले उपलब्धिका रूपमा लिएका छन् ।
भैरहवा र सुनौलीका एकीकृत जाँच चौकी निर्माणलाई तीव्रता दिने तथा भारतको बनबासा र नेपालको दोधारा–चाँदनीमा नयाँ जाँच चौकी निर्माण अघि बढाउने सहमति भएको छ ।
जयनगर–बर्दिबास र जोगबनी–विराटनगर रेलमार्गका बाँकी खण्डको काम छिटो सम्पन्न गर्ने, रक्सौल–काठमाडौँ रेलमार्गको अन्तिम स्थलगत सर्वेक्षणलाई अघि बढाउने तथा नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने योजना छ। बर्दिबास–निजगढ र वीरगञ्ज–निजगढ खण्डलाई प्राथमिकतामा राखिएको छ ।
यसैगरी, सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण तथा नेपाल–भारतबीच ग्यास पाइपलाइनको सम्भावना अध्ययन गर्ने सहमति भएको छ। भारतको एकीकृत भुक्तानी प्रणाली र नेपालको राष्ट्रिय भुक्तानी प्रणालीबीचको सम्पर्कलाई थप विस्तार गर्दै सीमापार खुद्रा भुक्तानी सेवा कार्यान्वयनलाई तीव्रता दिने पनि उल्लेख छ ।
ऊर्जा र जलस्रोतमा संयुक्त लगानी
ऊर्जा तथा जलस्रोत सहकार्यलाई दृष्टिकोणपत्रको प्रमुख आधार बनाइएको छ। भारतले नेपालमा जलविद्युत् तथा प्रसारण पूर्वाधारमा थप लगानी प्रोत्साहन गर्ने र नेपालले त्यस्तो लगानीका लागि आवश्यक सहजीकरण गर्ने सहमति भएको छ ।
पञ्चेश्वर, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको काम अघि बढाउने तथा दुवै देशको लाभका लागि जलस्रोत उपयोग गर्ने विषयमा जोड दिइएको छ । बाढीको प्रभाव न्यूनीकरण गर्न पनि यी आयोजनालाई महत्त्वपूर्ण मानिएको छ ।
विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली तथा विपद्पछिको पुनःस्थापनामा संयुक्त सहकार्य गर्ने सहमति भएको छ। जल तथा मौसमसम्बन्धी तथ्याङ्क, हिमतालको निगरानी र पूर्वसूचना प्रणालीको वास्तविक समयमै दुवैतर्फ आदानप्रदान गर्ने व्यवस्था विकास गरिनेछ ।
त्यस्तै, नेपालमा हरित हाइड्रोजनको नमुना आयोजना सञ्चालन गर्ने, सौर्य ऊर्जासहितका वैकल्पिक ऊर्जा स्रोतको विकासमा सहकार्य गर्ने र जलस्रोत संरक्षण तथा भूमिगत पानीको प्रदूषण नियन्त्रणमा भारतले प्राविधिक सहयोग उपलब्ध गराउने उल्लेख छ ।
नेपालमा प्रविधि केन्द्र र कृत्रिम बौद्धिकतामा सहकार्य
नेपाललाई प्रविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार भारत र नेपालबीच नवप्रवर्तन तथा डिजिटल प्रविधिमा सहकार्य विस्तार गरिने भएको छ । काठमाडौँमा नवप्रवर्तन तथा उत्कृष्टता केन्द्र र पोखरामा डिजिटल घुमन्ते तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना छ। नेपाली नवप्रवर्तनकारी व्यवसायलाई भारतमा तालिम तथा परामर्श उपलब्ध गराउने र नेपालमा डिजिटल पार्क तथा तथ्याङ्क केन्द्र विकासमा निजी लगानी सहजीकरण गर्ने विषय पनि समेटिएको छ ।
कृत्रिम बौद्धिकताको क्षेत्रमा नेपाली भाषाका लागि बृहत् भाषा नमुना विकास गर्ने लक्ष्य राखिएको छ । यसका लागि भारतको भाषिणी प्रणालीसँग सहकार्य गर्ने प्रस्ताव गरिएको छ ।
अन्तरिक्ष प्रविधिमा पनि सहकार्य विस्तार गर्दै उपग्रह निर्माण, पृथ्वीको अवलोकन, विपद् व्यवस्थापनका लागि दूरसंवेदन तथा प्राविधिक क्षमता विकासमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनबीच सहकार्य गरिनेछ । पाँचौँ र छैटौँ पुस्ताका दूरसञ्चार प्रविधिमा समेत सहकार्य गर्ने योजना छ ।
शिक्षा र रोजगारीका लागि नयाँ अवसर
नेपालमा भारतीय उच्च शैक्षिक संस्थाका शाखा वा परिसर स्थापना गर्ने सम्भावना खोजिने भएको छ । यसको सुरुआत भारतीय प्रविधि संस्थानबाट गर्ने दृष्टिकोणपत्रमा उल्लेख छ । नेपाली विद्यार्थीका लागि छात्रवृत्ति तथा तालिमका अवसर विस्तार गर्दै कानुन, प्रविधि र कृत्रिम बौद्धिकताजस्ता नयाँ विषयमा अध्ययनको अवसर थपिनेछ। दुवै देशका प्राध्यापक तथा विज्ञबीच आदानप्रदान र शैक्षिक संस्थाबीच सहकार्य बढाइनेछ ।
भारतीय सहयोगमा नेपालमा व्यावसायिक तालिम संस्था स्थापना गर्ने योजना पनि छ । उक्त संस्थाले उत्पादन, सेवा तथा उद्यमशीलतासँग सम्बन्धित क्षेत्रमा नेपाली युवालाई सीप तथा तालिम प्रदान गर्नेछ ।
क्रिकेटसहित खेलकुद पूर्वाधारमा सहयोग
खेलकुद क्षेत्रमा भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सहयोग गर्ने भएको छ। राष्ट्रिय तथा प्रदेशस्तरमा क्रिकेट पूर्वाधार विकासमा पनि सहयोग गर्ने प्रस्ताव गरिएको छ ।
नेपालका प्रदेशस्तरीय क्रिकेट टोलीका खेलाडीलाई भारतका राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा अभ्यास गर्ने अवसर उपलब्ध गराइनेछ। ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्सलगायतका खेलमा पनि प्रशिक्षण तथा पूर्वाधार विकासको सम्भावना खोजिनेछ । नेपाल र भारतका खेलाडीलाई एकअर्काका क्रिकेट, फुटबललगायतका व्यावसायिक प्रतियोगितामा सहभागी गराउने सम्भावनाबारे पनि दुवै देशका खेलकुद निकायले छलफल गर्नेछन् ।
धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तार
नेपाल र भारतले रामायण, बौद्ध तथा शिवशक्ति धार्मिक पर्यटन परिपथ विकास गर्ने योजना अघि सारेका छन्। जनकपुर–अयोध्या, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर तथा काठमाडौँको पशुपतिनाथ–वाराणसीलाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिनेछ ।
दुवै देशमा आलोपालो गरी वार्षिक युवा सांस्कृतिक महोत्सव आयोजना गर्ने तथा चलचित्र निर्माण, रङ्गमञ्च र ललितकलाका क्षेत्रमा कलाकारको तालिम र आदानप्रदान विस्तार गर्ने सहमति भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा नालन्दा केन्द्र स्थापना गरी भारतको नालन्दा विश्वविद्यालयसँग सहकार्य विस्तार गर्ने योजना पनि समेटिएको छ। पर्यटन तथा आतिथ्य क्षेत्रमा युवा उद्यमीबीच सहकार्य र सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूलाई दुवै देशको भ्रमण गराएर पर्यटन प्रवर्द्धन गर्ने प्रस्ताव गरिएको छ ।
स्वास्थ्य र कृषि क्षेत्रमा नयाँ कार्यक्रम
स्वास्थ्य क्षेत्रमा नेपालका स्वास्थ्य चौकी, प्रसूति केन्द्र तथा अस्पताल निर्माणका लागि भारतले सहयोग निरन्तरता दिने भएको छ। नेपालको राष्ट्रिय चिकित्सा प्रयोगशालाको स्तरोन्नतिमा सहकार्य गर्ने तथा सस्तो र गुणस्तरीय औषधिको पहुँच बढाउन नेपाल–भारत जनऔषधि केन्द्र स्थापना गर्ने योजना छ । स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम, चिकित्सा संस्थाबीच सहकार्य तथा स्वास्थ्य अनुसन्धान विस्तार गर्ने विषय पनि समेटिएको छ ।
कृषि क्षेत्रमा भारतको अनुदान सहयोगमा चितवनमा कृषि औद्योगिक पार्क स्थापना गरिनेछ। यसले नेपाली कृषि उत्पादनको मूल्य अभिवृद्धि तथा प्रशोधनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
भारतको कृषि अनुसन्धान परिषद् र नेपालको कृषि अनुसन्धान परिषद्बीच सन् २०२६ देखि २०३० सम्मको कार्ययोजना कार्यान्वयनलाई तीव्रता दिने तथा नेपालमा कृषि उत्कृष्टता केन्द्र स्थापना गर्ने योजना पनि छ ।
छ महिनामा एकपटक उच्चस्तरीय अनुगमन
संयुक्त दृष्टिकोणपत्रमा उल्लेख भएका आयोजना तथा कार्यक्रमको कार्यान्वयन सुनिश्चित गर्न नेपालका परराष्ट्र सचिव र भारतका राजदूतको नेतृत्वमा उच्चस्तरीय अनुगमन समूह सक्रिय बनाउने निर्णय गरिएको छ ।
उक्त समूहले कम्तीमा प्रत्येक छ महिनामा बैठक गरी आयोजना तथा कार्यक्रमको प्रगति समीक्षा गर्नेछ। आवश्यक स्वीकृति तथा प्रक्रिया अघि बढाउन सहजीकरण गर्ने समूहले आफ्नो प्रतिवेदन दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा रहने नेपाल–भारत संयुक्त आयोगमा पेस गर्नेछ ।
नेपाल–भारत संयुक्त आयोगको अर्को बैठक सन् २०२७ मा आयोजना गर्ने निर्णयसमेत भएको छ ।
संयुक्त दृष्टिकोणपत्रले दुई देशबीचको सम्बन्धलाई परम्परागत मित्रतामा मात्र सीमित नराखी आर्थिक, प्राविधिक र विकास साझेदारीमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ । प्रधानमन्त्रीद्वयले यसलाई “आधुनिक र पारस्परिक लाभमा आधारित साझेदारीको मार्गचित्र” का रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा सरकार गठनका लागि लिकुड र याशारबीच छलफलमा मतभेद
-
रास्वपा सांसद आशिका तामाङ र केपी खनालबीच किन भयो विवाद ?
-
दुई दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किदैँ
-
नेपाल–भारतले जारी गरेको ‘विकसित भारत र समुन्नत नेपाल: साझेदारीको पुनर्कल्पना’ मा के के छ ?
-
प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।