रविले सुरु गरे अमरेशको मेची–महाकाली पदयात्रा, दैनिक ५ घण्टा पैदल र ७ घण्टा जनतासँग संवाद

३० कार्तिक, २०८३
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले जनताका समस्या, गुनासा र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले मेची–महाकाली पदयात्रा सुरु गरेका छन्।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले जनताका समस्या, गुनासा र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले मेची–महाकाली पदयात्रा सुरु गरेका छन्।

 

जनकपुरस्थित जानकी मन्दिर परिसरबाट रास्वपा सभापति रवि लामिछानेले आइतबार पदयात्राको शुभारम्भ गरेका हुन्। सिंहका अनुसार मेची नदीको किनारबाट सुरु हुने यात्रा मकर संक्रान्तिका दिन महाकाली नदीको किनारमा पुगेर सम्पन्न हुनेछ।

 

पदयात्राको मुख्य उद्देश्य देशको भौगोलिक, जातीय, धार्मिक तथा सामाजिक विविधताबीच राष्ट्रिय एकता बलियो बनाउनुका साथै जनताका वास्तविक समस्या प्रत्यक्ष रूपमा सुन्नु रहेको सिंहले बताए।

 

‘यो देश जोड्ने यात्रा हो, समाज जोड्ने यात्रा हो। जात, धर्म, पहाड, मधेस वा वर्गका नाममा देशमा कुनै पनि द्वन्द्व नहोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको हुँ,’ उनले भने।

 

सिंहका अनुसार पदयात्राका क्रममा दैनिक करिब पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा जनतासँग प्रत्यक्ष संवाद गर्ने योजना छ। प्रत्येक २० देखि २५ किलोमिटरको दूरीमा पर्ने गाउँमा पुगेर स्थानीयसँग छलफल गर्ने तथा आसपासका बस्तीमा समेत पुगेर समस्या र सुझाव संकलन गरिने उनले बताए।

 

यात्राका क्रममा मजदुर, किसान, महिला, दलित, मुस्लिम, व्यापारी तथा युवालगायत विभिन्न वर्ग र समुदायका नागरिकसँग भेटघाट गर्ने योजना रहेको सिंहले बताए। विशेषगरी रोजगारी, जनजीविका तथा स्थानीय तहमा देखिएका समस्यालाई प्राथमिकताका साथ संकलन गरिने उनको भनाइ छ।

 

यात्राका क्रममा संकलन भएका जनताका समस्या र सुझावलाई तीन प्रति तयार पारिने सिंहले बताए। उनका अनुसार एउटा प्रति रास्वपा सभापति रवि लामिछानेलाई, अर्को प्रधानमन्त्रीलाई बुझाइनेछ भने तेस्रो प्रति आफूले राखेर ती विषय संसद्मा उठाइनेछ।

 

रास्वपाले प्राप्त गरेको जनमत र जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै सिंहले पार्टीका कमजोरी सुधार गर्दै जनताका समस्या समाधानतर्फ अघि बढ्नुपर्ने बताए।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार