गौशालाको अतिक्रमित भूमि खाली गराउन मेयरको प्रधानमन्त्रीसँग सुरक्षा माग

२८ कार्तिक, २०८३
सारांश
  • सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन सुरक्षा सहयोग नपाएपछि महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख डा. दीपेन्द्र महतोले प्रधानमन्त्री बालेन्द्र शाहसँग सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

ढल्केवर : सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन सुरक्षा सहयोग नपाएपछि महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख डा. दीपेन्द्र महतोले प्रधानमन्त्री बालेन्द्र शाहसँग सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

 

नगरप्रमुख महतोले शुक्रबार प्रधानमन्त्रीलाई पत्र पठाउँदै अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियानका लागि आवश्यक सुरक्षा प्रबन्ध गर्न माग गरेका हुन्।

 

नगरपालिकाका अनुसार साविक शिवभक्तिखोर गाविस–१ स्थित कित्ता नम्बर ११५ मा रहेको पाँच बिघा तीन कठ्ठा आठ धुर जग्गा नेपाल सरकारको नाममा दर्ता छ। उक्त जग्गामा ४२ वटा घर निर्माण गरी स्थानीयहरू लामो समयदेखि बसोबास गर्दै आएका छन्।

 

 तीमध्ये दुई घरमा मात्रै सुकुम्बासी परिवार रहेको र उनीहरूलाई हालको भन्दा राम्रो वैकल्पिक आवास उपलब्ध गराउने प्रस्ताव गरिएको नगरप्रमुख महतोले बताएका छन्।

 

नगरपालिकाले पटक–पटक सार्वजनिक सूचना जारी गर्दै जग्गा खाली गर्न आग्रह गरे पनि अतिक्रमणकारीले बेवास्ता गर्दै आएको जनाएको छ। उक्त जग्गा खाली गराएर बाल उद्यान निर्माण गर्ने तथा हाटबजारलाई व्यवस्थित बनाउने नगरपालिकाको योजना छ।

 

जग्गा आफ्नो नाममा कायम गराउन स्थानीयले सर्वोच्च अदालत र उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए। तर, दुवै अदालतबाट रिट खारेज भइसकेको नगरपालिकाको दाबी छ।

 

यसअघि गत चैतमा उक्त जग्गामा पक्की घर निर्माण भइरहेको उजुरीपछि सुरक्षा निकायको सहयोगमा निर्माणाधीन संरचना भत्काइएको थियो। तर, जग्गा पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढ्न सकेको छैन। नगरपालिकाको तयारीविरुद्ध गत जेठमा स्थानीयले संघर्ष समिति गठन गर्दै वैकल्पिक व्यवस्था नगरी घरटहरा हटाउन नहुने माग राखेका थिए। उनीहरूले गौशाला बजार बन्द गराउनुका साथै विरोध प्रदर्शनसमेत गरेका थिए।

 

नगरप्रमुख महतोका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, मधेस प्रदेशको गृह तथा सञ्चार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पटक–पटक सुरक्षा सहयोग माग गरिएको थियो। प्रहरी महानिरीक्षकदेखि गृह मन्त्रालयसम्म आग्रह गर्दा पनि सुनुवाइ नभएपछि प्रधानमन्त्रीलाई नै पत्र लेख्नुपरेको उनले बताए।

 

‘सरकारी जग्गा खाली गराउन प्रधानमन्त्रीज्यू काठमाडौंको मेयर हुँदाकै अवस्थादेखि सक्रिय हुनुहुन्छ। उहाँले अब आवश्यक निर्देशन दिनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ,’ महतोले भने, ‘सुरक्षा व्यवस्था उपलब्ध भएको २४ घण्टाभित्र अतिक्रमित जग्गा खाली गराइन्छ।’।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?

तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।

थप समाचार