- टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा सहभागी कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी शेर्पा समुदायको परम्परागत पोशाकको पहिरनलाई लिएर विवादमा परेकी छन् ।
काठमाडौँ : टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा सहभागी कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी शेर्पा समुदायको परम्परागत पोशाकको पहिरनलाई लिएर विवादमा परेकी छन् । उनले शेर्पा समुदायको परम्परागत पोशाक उल्टोपाल्टो तथा नमिलेको ढंगले लगाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी बागमती प्रदेश अध्यक्ष छिरिङ डोल्मा शेर्पाले फेसबुकमार्फत मन्त्री चौधरीको पहिरनप्रति गम्भीर आपत्ति जनाएकी छन् । उनले सम्बन्धित समुदायसँग आवश्यक परामर्श नगरी हिमाली क्षेत्रको मौलिक पोशाकलाई गलत ढंगले प्रस्तुत गरिएको आरोप लगाएकी छन् ।
शेर्पाले मन्त्री चौधरीको उक्त पहिरनलाई ‘हिमाली मुद्दा उठाएको नभई हिमाली जातिलाई जिस्क्याएको’ टिप्पणी गरेकी छन् । उनले कोप–३१ मा विभिन्न देशका प्रतिनिधिले उक्त तस्बिर हेर्दा शेर्पा समुदायको परम्परागत पहिरनबारे गलत सन्देश जान सक्ने भन्दै प्रश्न उठाएकी छन् ।
उनले सगरमाथा आरोहणमार्फत नेपाललाई विश्वमाझ चिनाउँदै आएको शेर्पा समुदायको सांस्कृतिक पहिचानमाथि खेलबाड गर्न नहुने बताएकी छन् । हिमालको मुद्दा उठाउन शेर्पा समुदायको पोशाक लगाउनैपर्ने आवश्यकता नरहेको भन्दै मन्त्रीकै हैसियतमा हिमाली विषय उठाउन सकिने उनको भनाइ छ ।
शेर्पाले सामाजिक सञ्जालमा ‘पहिरन भनेको पहिचान हो’ भन्दै सांस्कृतिक पहिचानको सम्मान गर्न आग्रह गरेकी छन् । साथै, उनले मन्त्री चौधरीले यस विषयमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने मागसमेत गरेकी छन् ।
सार्वजनिक भएको तस्बिरमा मन्त्री चौधरीले शेर्पा महिलाले कम्मरमा बाँध्ने परम्परागत धर्के एप्रोन (पाङदेन) उल्टो तथा छोटो पारेर लगाएको र आङ्गीमाथि आधुनिक कोट लगाएको देखिन्छ । यही पहिरनलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।