- भारतका जलवायु अभियन्ता सोनम वाङ्चुकले प्रहरीले आफूलाई घरमै नजरबन्द गरेको आरोप लगाएका छन् ।
एजेन्सी, २७ कार्त्तिक । भारतका जलवायु अभियन्ता सोनम वाङ्चुकले प्रहरीले आफूलाई घरमै नजरबन्द गरेको आरोप लगाएका छन् ।
बिहीबार राति भिडियो सार्वजनिक गर्दै उनले आफ्नो घरबाहिर ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको तथा घरबाट बाहिर निस्कन नदिइएको बताएका छन् । तर लद्दाख प्रहरीले भने यो नजरबन्द नभई निर्वाचनका क्रममा लागू गरिएको निषेधाज्ञाको पालना मात्रै भएको जनाएको छ ।
लद्दाखमा आगामी डिसेम्बर ४ मा हुने पहाडी विकास परिषद्को निर्वाचन जाडो मौसममा नगर्नुपर्ने माग गर्दै वाङ्चुकसहित विभिन्न संगठनले विरोध गरिरहेका छन् । डिसेम्बरमा तापक्रम माइनस १५ देखि २५ डिग्रीसम्म झर्ने र धेरै स्थानीय बासिन्दा जाडो छल्न अन्य क्षेत्रमा जाने भएकाले निर्वाचन अप्रिल–मे २०२७ मा सार्नुपर्ने उनीहरूको माग छ । निर्वाचन क्षेत्र निर्धारणमा समेत पर्याप्त छलफल नगरी हतारमा निर्णय गरिएको भन्दै विरोध भइरहेको छ ।
प्रहरीले एक दिनअघि प्रदर्शनस्थलबाट वाङ्चुकलाई हटाएर उनको घर पुर्याएको थियो । सञ्चारमाध्यमका अनुसार उनलाई ६० दिनसम्म लेह आउजाउमा प्रतिबन्ध लगाउने आदेशसमेत जारी गरिएको छ । वाङ्चुकले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन रोक लगाइएको विषयमा अदालत जाने बताएका छन् ।
उनले सन् २०२५ सेप्टेम्बर २४ मा भएको हिंसात्मक घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् । लद्दाखलाई पूर्ण राज्यको मान्यता दिनुपर्ने मागसहित भएको आन्दोलनका क्रममा गत वर्ष सेप्टेम्बर २४ मा हिंसा भड्किँदा चार जनाको मृत्यु भएको थियो भने ८० भन्दा बढी आन्दोलनकारी र ३० सुरक्षाकर्मी घाइते भएका थिए ।
यसपटक डिसेम्बर ४ मा लद्दाखका आठ जिल्लामा पहिलोपटक आठवटा स्वायत्त पहाडी विकास परिषद्का लागि निर्वाचन हुँदैछ । मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ भने मतगणना डिसेम्बर ८ मा हुने तय गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।