संयोजक पन्तको टिप्पणी : प्रधानमन्त्री पत्नी सबिना काफ्लेको किचन डिम्लोमेसी अवतार ! सिनेमाको रेड कार्पेट देखि कुकुर तिहार सम्म !

२३ कार्तिक, २०८३
सारांश
  • “एआईको युगमा नेपाल” अभियानका संयोजक सौरभराज पन्तले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारीको बढ्दो अवधारणासँगै प्रथम महिला वा प्रथम पुरुष को भूमिकाबारे पनि बहस गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । “एआईको युगमा नेपाल” अभियानका संयोजक सौरभराज पन्तले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारीको बढ्दो अवधारणासँगै प्रथम महिला वा प्रथम पुरुष को भूमिकाबारे पनि बहस गर्नुपर्ने बताएका छन् ।

 

प्रधानमन्त्री पत्नी सबिना काफ्लेले यस वर्षको कुकुर तिहारको अवसरमा काठमाडौंको नारायणचौरमा आयोजना गरेको कुकुर तिहार कार्यक्रमलाई सांस्कृतिक कूटनीतिको दृष्टिकोणबाट विश्लेषण गर्दै पन्तले यस्तो बहसको आवश्यकता औँल्याएका हुन् ।

 

पन्तका अनुसार, नेपाली मौलिक संस्कृति र परम्परालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा काठमाडौंका कलाकार, विभिन्न क्षेत्रका व्यक्तित्व, मन्त्री तथा केही विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको सञ्चारमाध्यममा उल्लेख छ ।

 

उनका अनुसार, नेपालमा यसअघि प्रधानमन्त्रीकी श्रीमती वा श्रीमान्को पहलमा यस प्रकारको औपचारिक तथा सार्वजनिक कूटनीतिक–सांस्कृतिक कार्यक्रम आयोजना भएको उदाहरण विरलै पाइन्छ । “के हामी बिस्तारै प्रत्यक्ष निर्वाचित कार्यकारी सँगै प्रथम महिला वा प्रथम पुरुषको अवधारणातर्फ पनि अघि बढ्दै छौँ ?” पन्तले प्रश्न गरेका छन् ।

उनका अनुसार, विश्वका कतिपय लोकतान्त्रिक मुलुकमा प्रथम महिला वा प्रथम पुरुषको भूमिका प्रधानमन्त्री वा राष्ट्रप्रमुखको औपचारिक पदभन्दा अलग रहेर सांस्कृतिक कूटनीति, सामाजिक अभियान, सार्वजनिक स्वास्थ्य, महिला सशक्तीकरण तथा अन्तर्राष्ट्रिय सम्बन्धमा सहयोगी भूमिकाका रूपमा विकसित भएको पाइन्छ ।

 

प्रधानमन्त्री पत्नी सबिना काफ्लेको पछिल्लो सक्रियतालाई पनि यही अन्तर्राष्ट्रिय अभ्यासको सन्दर्भमा हेर्नुपर्ने पन्तको धारणा छ । कुकुर तिहारलाई अन्तर्राष्ट्रियकरण गर्ने उनको पहल सांस्कृतिक कूटनीतिको एउटा उदाहरण बन्न सक्ने उनले बताएका छन् ।

 

त्यस्तै, प्रधानमन्त्री बालेन शाहको राजनीतिक तथा कूटनीतिक कार्यशैलीमा सबिना काफ्लेको सम्भावित भूमिकाबारे पनि चर्चा हुनुपर्ने पन्तको भनाइ छ ।

 

प्रधानमन्त्रीको औपचारिक कूटनीतिभन्दा बाहिर सांस्कृतिक सम्पर्क, सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय व्यक्तित्वसँगको संवाद तथा अनौपचारिक सम्पर्कमार्फत सम्बन्ध विस्तार गर्ने सम्भावनालाई नजरअन्दाज गर्न नहुने उनले बताएका छन् ।

पन्तले यसलाई बालेन सरकारको सम्भावित ब्याकच्यानल डिप्लोमेसी अर्थात् अनौपचारिक कूटनीतिक सम्पर्कको एउटा पक्षका रूपमा विश्लेषण गर्न सकिने बताएका छन् ।

 

यद्यपि, यसलाई औपचारिक कूटनीतिक जिम्मेवारी वा स्थापित भूमिका भन्न पर्याप्त सार्वजनिक प्रमाण आवश्यक हुने उनको भनाइ छ ।

 

नेपालमा प्रथम महिला वा प्रथम पुरुषको भूमिका कस्तो हुनुपर्छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण रहेको पन्तले बताएका छन् ।

 

“के यो केवल प्रधानमन्त्रीको व्यक्तिगत स्वार्थ, राजनीतिक प्रभाव विस्तार वा पारिवारिक पहिचान स्थापित गर्ने माध्यम बन्ने हो? अथवा यसले देशको सांस्कृतिक पहिचान, अन्तर्राष्ट्रिय सम्बन्ध, सामाजिक उत्तरदायित्व र राष्ट्रिय हितमा ठोस योगदान पुऱ्याउन सक्छ?” उनले प्रश्न गरेका छन् ।

 

प्रथम महिला वा प्रथम पुरुषको अवधारणा केवल पद र प्रतिष्ठामा सीमित हुन नहुने उल्लेख गर्दै पन्तले यसको औचित्य, भूमिका, जिम्मेवारी, पारदर्शिता र राष्ट्रिय योगदानबारे स्पष्ट बहस हुनुपर्ने बताएका छन् ।

 

नेपालको बदलिँदो राजनीतिक अभ्यास र सम्भावित शासकीय संरचनाको सन्दर्भमा यस विषयमा गम्भीर राष्ट्रिय बहस आवश्यक रहेको उनको निष्कर्ष छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार