आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !

६ कार्तिक, २०८३
सारांश
  • हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।

हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो। सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका६, हुति गाउँमा हरेक वर्ष दसैँको दशमी अर्थात् टीकाको दिन मनाइने यो जात्रा केवल उत्सव होइन, इतिहास, अध्यात्म, लोकविश्वास र नेपाली मौलिक संस्कृतिको जीवन्त दस्तावेज समेत हो।


हजारौँ मानिसको उपस्थितिमा करिब एक किलोमिटर टाढाबाट तीन जना व्यक्तिलाई कलात्मक ढङ्गले शृङ्गार गरी हरिणको स्वरूप दिइन्छ। स्थानीय महिला, पुरुष तथा वृद्धवृद्धा मौलिक भेषभूषामा सजिएर दमाहा बाजाको तालमा नाच्दै, गाउँदै अघि बढ्छन। उल्लास, उमङ्ग र धार्मिक श्रद्धाले भरिएको यो सांस्कृतिक यात्रा अन्तत: नौलाकेदार अर्थात दुर्गाभवानीको मन्दिर प्राङ्गणमा पुगेर समापन हुन्छ।

 

प्रकृति, देवता र मानव समुदायबीचको सम्बन्धलाई जीवन्त बनाउने यो दृश्यले जोकोहीलाई आकर्षित गर्छ। हरिण जात्रा कहिलेदेखि सुरु भयो भन्ने यकिन ऐतिहासिक प्रमाण उपलब्ध छैन। तर स्थानीय समाजसेवी ८० वर्षीय प्रेमसिंह कुँवरका अनुसार यो परम्परा निकै पुरानो हो। जात्राको उत्पत्तिबारे स्थानीय समाजमा विभिन्न किंवदन्ती, जनश्रुति र धार्मिक मान्यता प्रचलित छन। एउटा जनश्रुतिअनुसार, नौला देवता अर्थात् भगवती आफ्नो अधिकार र परिचय स्थापित गर्न हरिणमा सवार भएर हुति गाउँस्थित ब्रह्ममाण्डौमा विराजमान ब्राह्मणी देवीको शरणमा पुगेका थिए। त्यसपछि उनलाई गाउँमै बस्न स्थान दिइयो र दसैँको दशमीका दिन भोग दिने वाचा गरियो। यही धार्मिक विश्वाससँग जोडिएर हरिण जात्राको परम्परा सुरु भएको स्थानीय जनविश्वास छ।


अर्को किंवदन्तीले यस क्षेत्रको भूगोल र विगतको विपत्तिसँग जात्रालाई जोड्छ। हुति गाउँस्थित ब्रह्ममाण्डौदेखि चन्दाकोटसम्म लामो मानव बस्ती रहेको र कुनै समय आएको ठूलो पहिरोपछि अनिकाल, भोकमरी तथा रोगव्याधिको प्रकोप फैलिएको जनश्रुति छ। महाकाली नदीको माथिल्लो भेगमा पहिरोका कारण विस्थापित भई बसेको बस्तीलाई आज पनि ‘बसेडी’ भनिन्छ।


यी किंवदन्तीको ऐतिहासिक सत्यता थप अध्ययन र अनुसन्धानको विषय हो। तथापि, यिनले स्थानीय समाजको सामूहिक स्मृति, धार्मिक चेतना र प्रकृतिसँग जोडिएको जीवनदर्शनलाई उजागर गर्छन्। लोकविश्वासमा इतिहासका सबै तथ्य नहोलान्, तर पुस्तौँको अनुभव र सभ्यताको छाप अवश्य हुन्छ।


घटस्थापनादेखि नवरात्रभर स्थानीय धामीझाँक्री, पुजारी तथा महिला–पुरुष व्रत बसेर देवीको कथा वाचन गर्छन् र रातभर जाग्राम बस्ने परम्परा छ। दसैँको दिन घरमा ठूलाबडाबाट टीका तथा आशीर्वाद ग्रहण गरेपछि मीठा परिकार खाएर स्थानीय बासिन्दा दिउँसो करिब ३–४ बजेतिर नौलाकेदार मन्दिरको प्राङ्गणमा भेला हुन्छन, त्यसपछि सुरु हुन्छ हरिण जात्राको रौनक।


टाढा-टाढाबाट आएका आगन्तुक समेत यो अनौठो दृश्य देखेर आश्चर्यचकित हुन्छन्। उनीहरू स्थानीयसँगै नाचगानमा सहभागी भई रमाउँछन्। नेपालतर्फका विभिन्न गाउँका बासिन्दाका साथै महाकालीपारि भारतको उत्तराखण्ड राज्यस्थित जुमालगायतका गाउँबाट समेत मानिसहरू जात्रा हेर्न र मेला भर्न आउने परम्परा छ। महाकाली नदीले दुई देशको भूगोल छुट्याएको छ, तर यस क्षेत्रका मानिसको सांस्कृतिक सम्बन्ध, धार्मिक आस्था र सामाजिक आत्मीयतालाई छुट्याउन सकेको छैन। हरिण जात्रा त्यसैको जीवन्त उदाहरण हो।

 

काठमाडौँबाट करिब एक हजार किलोमिटरको दूरीमा रहेको दार्चुलाको ब्यास गाउँपालिका६, हुति प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा र सांस्कृतिक विविधताले सम्पन्न क्षेत्र हो। नौलामाण्डौ मन्दिर सदरमुकामबाट करिब १४ किलोमिटरको दूरीमा रहेको छ।


यस क्षेत्रको शिरमा मलिकार्जुन मन्दिर र प्रसिद्ध पर्यटनस्थल दाम्दाकोट अवस्थित छन्। नजिकैको सुन्दर रानी–गैरीबन क्षेत्रको बीचमा सरस्वती मन्दिर तथा हिमालय माध्यमिक विद्यालय छन्। तलको विशाल टारमा जिल्लाकै प्रसिद्ध ब्रह्ममाण्डौस्थित ब्राह्मणी देवीको मन्दिर रहेको छ। दक्षिणतर्फ भारतको जुमागाउँ छ भने हुति र जुमागाउँको फेद हुँदै महाकाली नदी आफ्नै बेगमा बगिरहेकी छिन्।


कैलाश मानसरोवर तथा कालापानी–लिपुलेकतर्फ जाने मार्गसँग जोडिएको यस क्षेत्रको भौगोलिक र सामरिक महत्त्वसमेत छ। यहाँको प्राकृतिक सौन्दर्य, धार्मिक स्थल र मौलिक संस्कृति एकीकृत रूपमा प्रवर्द्धन गर्न सके दार्चुलाको पर्यटन विकासमा नयाँ सम्भावनाका ढोका खुल्न सक्छन्।


म स्थानीय बासिन्दा मात्र होइन, पत्रकारिताको विद्यार्थी पनि हुँ। कामको सिलसिलामा देशका अधिकांश जिल्लामा पुग्ने अवसर पाएको छु। विगत १२ वर्षदेखि हरिण जात्राबारे अध्ययन र जानकारी सङ्कलन गर्दै आएको छु। दसैँको टीकाकै दिन यसरी हरिणको स्वरूप धारण गराई दमाहा बाजासहित सामूहिक नाचगान गरेर मनाइने यस्तै प्रकृतिको जात्राबारे अहिलेसम्म मैले अन्यत्र जानकारी प्राप्त गरेको छैन।

 

तथापि, यसको विशिष्टता र दुर्लभताबारे निष्कर्षमा पुग्न देशव्यापी सांस्कृतिक अध्ययन तथा अभिलेखीकरण आवश्यक छ। पुस्तौँदेखि स्थानीय समुदायले आफ्नै आस्था, श्रम र समर्पणबाट जोगाउँदै आएको हरिण जात्रालाई अब स्थानीय सीमाभित्र मात्र सीमित राख्नु हुँदैन। स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, नेपाल पर्यटन बोर्ड, पुरातत्त्व विभाग तथा सांस्कृतिक अनुसन्धानमा संलग्न संस्थाले यसको अध्ययन, दस्तावेजीकरण, प्रचारप्रसार र संरक्षणमा सहकार्य गर्न आवश्यक छ।

 

जात्राको मौलिकता नबिगारी यसको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षको अनुसन्धान गर्न सकियो भने यो दार्चुलाको मात्र होइन, समग्र नेपालको सांस्कृतिक पहिचान बन्न सक्छ। व्यवस्थित प्रचारप्रसार, सुरक्षित पर्यटन पूर्वाधार र स्थानीय समुदायको नेतृत्वमा गरिने प्रवर्द्धनले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्‍याउन सक्छ। स्थानीय समुदायले आजसम्म जोगाएको यो सांस्कृतिक धरोहरलाई राज्यले पनि आफ्नो साझा सम्पदा ठानेर संरक्षण र प्रवर्द्धन गर्न सके साँच्चै सुनमा सुगन्ध थपिनेछ। किनकि संस्कृत 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार