अर्थमन्त्री डा. वाग्लेद्वारा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्नेमा जोड

६ कार्तिक, २०८३
सारांश
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित एनडीटिभी विश्व शिखर सम्मेलन २०२६ मा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्ने विषयमा सम्बोधन गरेका छन् ।

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित एनडीटिभी विश्व शिखर सम्मेलन २०२६ मा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्ने विषयमा सम्बोधन गरेका छन् ।

 

नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित सम्मेलनमा अर्थमन्त्री वाग्लेले ‘निकटतामार्फत समृद्धि : भारत–नेपाल अवसर’ विषयक विशेष सत्रमा अतिथि वक्ताका रूपमा सम्बोधन गरेका हुन् ।

 

वाग्लेले नेपालमा विपद्का बेला भारतले गरेको सहयोगको प्रशंसा गर्दै विपद् व्यवस्थापन, पोषण र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय तथा क्षेत्रीय सहकार्यलाई संस्थागत गर्नुपर्ने बताएका छन् । वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग प्रत्यक्ष संवाद गर्दै नेपाल–भारत सम्बन्ध र दक्षिण एसियाका साझा हितबारे छलफल गरेका थिए ।

 

संवादका क्रममा वाग्लेले नेपालमा हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको जलवायु परिवर्तनबाट प्रभावित विपद् तथा सन् २०१५ को भूकम्पका बेला भारतले गरेको सहयोगको स्मरण गरे । उनले दुवै घटनामा विपद् आएको केही घण्टाभित्रै भारतले सहयोग उपलब्ध गराएको उल्लेख गर्दै नेपाल भारतप्रति आभारी रहेको बताए ।

 

‘नेपालको मन्त्रीका रूपमा म भन्न सक्छु, रसुवा भोटेकोशीको हालैको विपद् र सन् २०१५ को भूकम्पमा भारतबाट असाधारण सहयोग प्राप्त भएको थियो। दुवै घटनामा विपद् आएको केही घण्टाभित्रै भारत सहयोगका लागि उपस्थित भएको थियो,’ वाग्लेले भने ।

उनले विपद् प्रतिकार्य, पोषण र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा भारत र नेपालबीच मात्र नभई त्रिपक्षीय तथा उपक्षेत्रीय तहमा समेत सहकार्यलाई संस्थागत गर्न सकिने सम्भावनाबारे प्रश्न उठाएका थिए ।

 

जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले सम्भव भएका क्षेत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनजस्ता औपचारिक संस्थागत संयन्त्रको महत्त्व रहेको बताए । तर, पछिल्लो समय समान सोच भएका देशबीच आवश्यकताअनुसार सहकार्य गर्ने र ठोस नतिजामा केन्द्रित हुने अभ्यास बढिरहेको उनको भनाइ थियो ।

 

यसअघि बिहीबार साँझ अर्थमन्त्री वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको सत्रमा सहभागिता जनाएका थिए । त्यसक्रममा उनले प्रधानमन्त्री मोदीसँग संक्षिप्त भेटघाट तथा कुराकानीसमेत गरेका थिए ।

 

उनी सम्मेलनमा सहभागी हुन बिहीबार नयाँदिल्ली पुगेका थिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार