- प्रधानमन्त्री एन्डी बर्नहमको नेतृत्वमा रहेको बेलायती सरकारले गरेको यो घोषणा उनको कार्यकालको पहिलो प्रमुख सैन्य परिचालन हो ।
काठमाडौं : बेलायतले यमनका हुथी विद्रोहीविरुद्धको युद्धमा साउदी अरबलाई सहयोग गर्न शाही वायुसेनाका टाइफुन लडाकु विमान पठाउने घोषणा गरेको छ ।
प्रधानमन्त्री एन्डी बर्नहमको नेतृत्वमा रहेको बेलायती सरकारले गरेको यो घोषणा उनको कार्यकालको पहिलो प्रमुख सैन्य परिचालन हो ।
बेलायतको रक्षा मन्त्रालयका अनुसार साउदी अरबको हवाई क्षेत्र र महत्त्वपूर्ण पूर्वाधारलाई हुथी विद्रोहीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट जोगाउन विमान परिचालन गरिनेछ । यसका अतिरिक्त रक्षा सामग्री ढुवानीका लागि ए–४०० एम विमान पठाउने, साउदी सैन्य अधिकारीलाई सहयोग गर्न बेलायती सैन्य सल्लाहकार खटाउने र हवाई इन्धन भर्ने सहयोग थप ९० दिन जारी राख्ने निर्णय गरिएको छ ।
बेलायती रक्षा मन्त्री वेस स्ट्रिटिङले सर्वसाधारणको सुरक्षाका लागि सैन्य सहयोग आवश्यक भएको बताएका छन् । उनका अनुसार साउदी अरबका ऊर्जा केन्द्र, विमानस्थल र सैन्य पूर्वाधारलाई लक्षित गरी हुथी विद्रोहीले आक्रमण गर्दै आएका छन्। बेलायतले आफ्नो सैन्य परिचालनलाई रक्षात्मक अभियानका रूपमा व्याख्या गरेको छ ।
बेलायतको सैन्य सहयोगले साउदी अरबको यमनमाथिको हवाई आक्रमण क्षमता पनि बढाउन सक्ने रक्षा मामिलाका जानकारहरूले बताएका छन् । बेलायती हवाई इन्धन भर्ने विमानको सहयोगले साउदी लडाकु विमानलाई लामो समयसम्म हवाई क्षेत्रमा रहन र थप आक्रमण गर्न सहज हुने उनीहरूको विश्लेषण छ ।
बेलायती सरकारले लालसागर र बाब अल-मन्देब जलडमरूमध्य विश्व व्यापारका महत्त्वपूर्ण समुद्री मार्ग भएकाले तिनको सुरक्षा आफ्नो आर्थिक तथा राष्ट्रिय सुरक्षासँग जोडिएको जनाएको छ । यी मार्गमा अस्थिरता बढे विश्व व्यापार र ऊर्जा आपूर्तिमा असर पर्न सक्ने बेलायतको भनाइ छ ।
बेलायतको साउदी अरबसँग लामो समयदेखि सैन्य तथा राजनीतिक सम्बन्ध छ । सन् २०१५ देखि २०२२ सम्म बेलायतले यमन युद्धमा साउदी नेतृत्वको गठबन्धनलाई हतियार, सैन्य जनशक्ति र प्राविधिक सहयोग उपलब्ध गराएको थियो । संयुक्त राष्ट्रसंघले उक्त युद्धलाई गम्भीर मानवीय सङ्कटका रूपमा वर्णन गरेको थियो । युद्धका कारण ठूलो मानवीय क्षति भएको विभिन्न प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच, यमन द्वन्द्वमा साउदी अरबलाई सहयोग गर्न फ्रान्स, इटाली, ग्रिस, इजिप्ट, पाकिस्तान र टर्किएले पनि विभिन्न प्रकारका सैन्य सहयोग तथा सुरक्षा परिचालन अघि बढाएका छन् । साउदी अरबमाथि हुने आक्रमणमा सहयोगी राष्ट्रसमेत संलग्न हुनुपर्ने अवस्था आए क्षेत्रीय द्वन्द्व अझ फैलिन सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’