बूढानीलकण्ठबाट २१ किलोभन्दा बढी सुन बरामद भएको विषयमा प्रहरीले के भन्यो ?
२३ असोज, २०८३
- काठमाडौंको बूढानीलकण्ठस्थित भंगालमा घर भाडामा लिएर अवैध सुनको कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट २१ किलो ७५०.६११ ग्राम सुन बरामद गरेको छ ।
काठमाडौं : काठमाडौंको बूढानीलकण्ठस्थित भंगालमा घर भाडामा लिएर अवैध सुनको कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट २१ किलो ७५०.६११ ग्राम सुन बरामद गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार भंगालस्थित एक घरमा छापा मारेर हान फेई, झोउ लङछिङ र सु क्यानलाई पक्राउ गरेको हो । बरामद सुनको मूल्य बिहीबारको बजार भाउअनुसार ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी अनुसन्धानका क्रममा चीनको ग्वान्झाउमा बस्ने जेन्जिया ल नामका व्यक्तिले वीच्याटमार्फत नेपालमा सुन कहाँ पुर्याउने र कसलाई दिने भन्ने निर्देशन दिने गरेको खुलाएको छ ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले भंगालस्थित घर भाडामा लिएर सुनको अवैध कारोबारसँगै प्रशोधन र तयारी गर्ने गरेका थिए । उनीहरूले उक्त घरको मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी चार महिनाको १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
विभिन्न बिस्कुट आकारमा रहेको सुनको तौल परीक्षण गर्दा २१ किलो ७५०.६११ ग्राम रहेको पाइएको प्रहरीले जनाएको छ । सुनसँगै प्रहरीले नगद, सुन ओसारपसारमा प्रयोग गरिने गाडी र सुन प्रशोधनमा प्रयोग हुने सामग्रीसमेत बरामद गरेको छ ।
गोप्य सूचनाका आधारमा लामो समयदेखि निगरानी गरिरहेको प्रहरीले बिहीबार घरमा छापा मारेको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।