पशुपतिनाथ मन्दिर प्रवेश गरेको घटनामा प्रियङ्का र ओसीम पक्राउ, कोषले बनायो छानबिन समिति
२१ असोज, २०८३
- पशुपतिनाथको मुख्य मन्दिरमा गैर हिन्दु प्रवेश गरेको घटनामा जोडिएका इटहरीकी प्रियङ्का परियार र ओसीम अन्सारी पक्राउ परेका छन् ।
काठमाडौँ : पशुपतिनाथको मुख्य मन्दिरमा गैर हिन्दु प्रवेश गरेको घटनामा जोडिएका इटहरीकी प्रियङ्का परियार र ओसीम अन्सारी पक्राउ परेका छन् ।
पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।
केही दिनअघि परियार र अन्सारी पशुपतिनाथ मन्दिर पुगेका थिए। उनीहरूले मन्दिर परिसरमा भिडियोसमेत बनाएका थिए। सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएपछि उनीहरूको विषयमा चर्चा भएको थियो ।
परियार र अन्सारी प्रेम विवाह गरेका दम्पती हुन् । परियारले आफूले श्रीमानलाई आफ्नो धार्मिक आस्थाको केन्द्र पशुपतिनाथ दर्शन गराउन लगेको बताएकी छन् । श्रीमानलाई सँगै मन्दिर लैजानुलाई अन्य उद्देश्यबाट नबुझ्न उनले आग्रह गरेकी छन्। अन्सारी इटहरी–८ का स्थायी बासिन्दा हुन् ।
यस घटनामा पशुपति क्षेत्र विकास कोषले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कोषले पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वारबाट एक जोडी प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि छानबिन समिति गठन गरेको छ । कोषका अनुसार २०८३ असोज १९ गते ‘प्रिन्स केसी’ नामको टिकटक खाताबाट आफूलाई मुस्लिम जनाउने एक जोडी पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वारबाट प्रवेश गरेको भिडियो सार्वजनिक भएको थियो ।
हिन्दु धर्मावलम्बीलाई मात्र प्रवेश अनुमति रहेको व्यवस्थाबारे जानकारी हुँदाहुँदै यस्तो घटना भएको भन्दै कोषले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
घटनामा संलग्न व्यक्ति तथा भिडियो सार्वजनिक गर्ने व्यक्तिमाथि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गर्ने निर्णय गरिएको कोषले जनाएको छ । सुरक्षा व्यवस्थामा कहाँ कमजोरी भयो भन्ने पत्ता लगाउन रामशोभित नायकको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा गंगासागर बानियाँ, संगीता कुमारी राम, केदारमान भण्डारी र रुपा शाही बास्तोला सदस्य रहेका छन्। समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
कोषले पशुपति मन्दिर परिसरको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने निर्णयसमेत गरेको छ । घटनाका क्रममा कोषका कर्मचारी, सुरक्षाकर्मी तथा नेपाल सरकारका विभिन्न सुरक्षा निकायबाट खटिएका सुरक्षाकर्मीबाट कमजोरी भएको भन्दै कोषले क्षमायाचना गर्ने निर्णय गरेको छ ।
कोषले पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गरिमा कायम राख्दै दर्शनार्थी, भक्तजन, तीर्थयात्री, पर्यटक तथा आमनागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाएको छ । साथै धार्मिक आस्था, आपसी सहिष्णुता र सद्भाव कायम राख्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थानले खस्कियो ।
-
कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
-
तुलसीपुरमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु
-
इजरायल पठाउने भन्दै साढे २ करोडभन्दा बढी ठगी, पीडितलाई जाहेरी दिन सीआईबीको आग्रह
-
कांग्रेस महाधिवेशन: उम्मेदवारी फिर्ता लिने र नाम सच्याउने समय दिउसो २ बजेसम्म
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।