फ्लाई दुबईको सहपाईलट बारे गम्भीर खुलासा, आतंककारी विचारबाट प्रभावित
१७ असोज, २०८३, शनिवार
- सहपाइलटको पुरानो उड्डयन अभिलेखले पनि अनुसन्धानलाई थप गम्भीर बनाएको छ । रिपोर्टहरूमा ओमानमा उनको कथित अतिवादी विचारलाई लिएर पहिले नै चिन्ता व्यक्त गरिएको र उनलाई उडानबाट रोकिएको दाबी गरिएको छ ।
काठमाडौँ: दुबईबाट तेलअविवतर्फ जाँदै गरेको फ्लाईदुबईको विमानमा कप्तान स्मित मच्छारमाथि भएको आक्रमणको अनुसन्धान अघि बढ्दै गर्दा सहपाइलटको विगतबारे नयाँ विवरण सार्वजनिक भएका छन् ।
अनुसन्धानपछि सार्वजनिक भएका विवरणअनुसार ओमानी सहपाइलटको पहिचान हमाम अलहमामीका रूपमा गरिएको छ । उनी केही समय सिरियामा बसेको र त्यहाँ रहँदा कथित रूपमा अतिवादी विचारबाट प्रभावित भएको दाबी गरिएको छ । अनुसन्धानसँग सम्बन्धित दाबीमा उनी अलकायदाको विचारधाराबाट प्रभावित भएको उल्लेख भए पनि यसबारे अनुसन्धान अझै जारी रहेको बताइएको छ ।
रिपोर्टअनुसार अलहमामीले ओमानबाहिर लामो समय बिताएका थिए । सिरियामा रहँदा केही धार्मिक व्यक्तिसँग उनको सम्पर्क भएको र त्यही क्रममा उनका कट्टरपन्थी विचार थप बलियो भएको दाबी गरिएको छ । अनुसन्धान निकायले सिरियामा उनको बसाइ र त्यहाँ बनेका सम्पर्कबारे समेत छानबिन गरिरहेको बताइएको छ ।
सहपाइलटको पुरानो उड्डयन अभिलेखले पनि अनुसन्धानलाई थप गम्भीर बनाएको छ । रिपोर्टहरूमा ओमानमा उनको कथित अतिवादी विचारलाई लिएर पहिले नै चिन्ता व्यक्त गरिएको र उनलाई उडानबाट रोकिएको दाबी गरिएको छ ।
एक विवरणअनुसार सन् २०२४ मा ओमान एयरले उनलाई उडानबाट हटाएको थियो । उनले कथित रूपमा कट्टरपन्थी इस्लामसँग सम्बन्धित वेबसाइट हेरेको दाबी पनि गरिएको छ । अन्य रिपोर्टमा उनलाई तालिमबाट समेत हटाइएको उल्लेख छ । त्यसपछि उनी दुबई गएको र पछि फ्लाईदुबईमा आबद्ध भएको बताइएको छ । यससँगै पुरानो अभिलेखमा सुरक्षा चासो देखिएपछि पनि उनी यात्रुवाहक विमानको सहपाइलट कसरी बने भन्ने प्रश्न अनुसन्धानको प्रमुख विषय बनेको छ ।
३० सेप्टेम्बरमा फ्लाइट एफजेड१०७३ दुबईबाट तेलअविवतर्फ उडिरहेको थियो। सोही क्रममा सहपाइलटले ककपिटभित्र कप्तान स्मित मच्छारमाथि आक्रमण गरेका थिए । आक्रमणपछि विमान तीव्र गतिमा तल झर्न थालेको थियो र केही समयमै करिब १४ हजार फिट तल पुगेको थियो । गम्भीर रूपमा घाइते भएका मच्छारले त्यस अवस्थामा पनि ककपिटको ढोका खोलिदिएका थिए । त्यसपछि यात्रु र चालक दलका सदस्य ककपिटमा प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएका थिए । विमानमा रहेका अन्य दुई पाइलटले पनि विमानको नियन्त्रण सम्हाल्न सहयोग गरेका थिए । त्यसपछि विमानलाई साउदी अरबको तबुकमा आकस्मिक अवतरण गराइएको थियो । विमानमा १७४ यात्रु सवार रहेको र सबै यात्रु सुरक्षित रहेका थिए ।
अनुसन्धानसँग सम्बन्धित दाबीमा सहपाइलटले सोधपुछका क्रममा विमानलाई इस्राइलमा खसाल्ने योजना रहेको कथित रूपमा बताएको विभिन्न रिपोर्टमा उल्लेख छ । विमान तेलअविवतर्फ गइरहेको अवस्थामा यो दाबीलाई अनुसन्धानमा गम्भीर रूपमा हेरिएको छ । यद्यपि विमान कब्जामा लिएर जानाजान खसाल्ने उद्देश्य थियो वा थिएन भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुन बाँकी छ । अनुसन्धानमा सहपाइलटको सिरिया बसाइ, त्यहाँका सम्पर्क, कथित अतिवादी विचार, पुरानो उड्डयन अभिलेख र फ्लाईदुबईमा भएको नियुक्तिलाई जोडेर हेरिएको छ।
ओमानमा उनीमाथि उठेको कथित सुरक्षा चासो अन्य विमानन निकायसम्म पुगेको थियो कि थिएन, फ्लाईदुबईमा नियुक्ति हुँदा कस्तो सुरक्षा जाँच गरिएको थियो र सिरियामा उनको बसाइ तथा सम्पर्कबारे सम्बन्धित निकायलाई पहिले नै जानकारी थियो कि थिएन भन्ने विषय पनि अनुसन्धानमा रहेको बताइएको छ ।
सहपाइलटलाई साउदी अरबबाट संयुक्त अरब इमिरेट्स पठाइएको र संयुक्त अरब इमिरेट्समा उनीविरुद्ध आतंकवादसम्बन्धी अनुसन्धान भइरहेको जानकारीसमेत सार्वजनिक भएको छ र अनुसन्धानमा इजरायल पनि जोडिएको बताइएको छ ।
आक्रमणका क्रममा गम्भीर घाइते भए पनि कप्तान स्मित मच्छारले देखाएको साहस र तत्काल लिएको निर्णयलाई यात्रुहरूको सुरक्षाका लागि महत्वपूर्ण मानिएको छ । उनले ककपिटको ढोका खोलेपछि यात्रु र चालक दलका सदस्यले आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालबाट मच्छारसँग कुराकानी गर्दै उनको साहस र सूझबुझको प्रशंसा गरेका थिए। इस्राइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि मच्छारको बहादुरीको प्रशंसा गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।