एल निनोको प्रभाव अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण
१४ असोज, २०८३, बुधवार
- चीनको राष्ट्रिय जलवायु केन्द्रले हाल विकसित भइरहेको एल निनो घटना अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण गरेको छ ।
काठमाडौँ । चीनको राष्ट्रिय जलवायु केन्द्रले हाल विकसित भइरहेको एल निनो घटना अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण गरेको छ ।
केन्द्रका अनुसार भूमध्यरेखीय प्रशान्त महासागरको मध्य तथा पूर्वी भागको समुद्री सतहको तापक्रम सूचकांक नोभेम्बर आसपास ३.२ देखि ३.५ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ ।
राष्ट्रिय जलवायु केन्द्रका अनुसार भूमध्यरेखीय प्रशान्तको मध्य तथा पूर्वी क्षेत्रमा यस वर्षको मेदेखि एल निनोको अवस्था विकास भएको थियो । जुनदेखि अगस्टसम्म समुद्री सतहको तापक्रम सूचकांक औसत २.०९ डिग्री सेल्सियस पुगेको थियो भने अगस्टमा यो २.५९ डिग्री सेल्सियस पुगेको थियो ।
सेप्टेम्बरदेखि समुद्री सतहको तापक्रम निरन्तर बढिरहेको छ । पाँच दिन र १० दिनको अवधिमा पहिलोपटक सूचकांक ३ डिग्री सेल्सियसभन्दा माथि पुगेको केन्द्रले जनाएको छ ।
यसअघि सन् १९८२–८३, १९९७–९८ र २०१५–१६ मा तीनवटा अत्यन्त शक्तिशाली एल निनो घटना रेकर्ड भएका थिए । राष्ट्रिय जलवायु केन्द्रका निर्देशक चाओ छिङछेनका अनुसार हालको समुद्री तापक्रम सूचकांक र तापक्रम बढ्ने गति ती तीनवटै घटनाको सोही चरणको तुलनामा उल्लेखनीय रूपमा बढी छ ।
चीनको राष्ट्रिय मापदण्डअनुसार एल निनोको उच्चतम सूचकांक २.५ डिग्री सेल्सियस वा त्यसभन्दा माथि पुगेमा त्यसलाई अत्यन्त शक्तिशाली एल निनो मानिन्छ । राष्ट्रिय जलवायु केन्द्रका अनुसार विकसित भइरहेको एल निनोले शरद् र हिउँदभर चीनको मौसममा प्रभाव पार्नेछ । अक्टोबर र नोभेम्बरमा मध्य तथा पूर्वी चीनका अधिकांश क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।
याङ्त्से नदीको दक्षिणमा पर्ने तटीय क्षेत्रका अधिकांश भाग तथा दक्षिणपश्चिम चीनका पूर्वी क्षेत्रका केही स्थानमा सामान्यभन्दा ५० देखि ८० प्रतिशतसम्म बढी वर्षा हुन सक्ने केन्द्रले जनाएको छ । यसले अत्यधिक वर्षा र त्यसबाट हुने प्राकृतिक विपद्को जोखिम बढाउने अनुमान गरिएको छ ।
सन् २०२६ को डिसेम्बरदेखि २०२७ को फेब्रुअरीसम्म चीनभर तापक्रम सामान्यभन्दा बढी रहने अनुमान गरिएको छ । यद्यपि यस अवधिमा चिसो हावाको लहर केही बढी आउन सक्ने र तापक्रममा तीव्र उतारचढाव हुन सक्ने केन्द्रले जनाएको छ ।
एल निनो सन् २०२७ को वसन्त र गर्मीयाममा तीव्र रूपमा कमजोर हुँदै अन्त्य हुने अनुमान गरिएको छ । तर त्यसको जलवायु प्रभाव त्यसपछि पनि कायम रहन सक्ने बताइएको छ। विशेषगरी चरम मौसमका घटना तथा गर्मीयाममा बढी शक्तिशाली र व्यापक तातो हावा चल्ने सम्भावना रहेको छ ।
विश्व मौसम विज्ञान संगठनले पनि सेप्टेम्बर ३ मा सार्वजनिक गरेको पछिल्लो एल निनो विवरणमा यो घटना स्पष्ट रूपमा विकसित भइसकेको र वर्षको अन्त्यतिर उच्चतम अवस्थामा पुग्नुअघि अझ शक्तिशाली बन्न सक्ने जनाएको थियो । विश्व मौसम विज्ञान संगठनका अनुसार सन् २०२७ को फेब्रुअरीसम्म एल निनो कायम रहने सम्भावना करिब १०० प्रतिशत रहेको छ ।
प्रशान्त महासागरको सतहको पानी सामान्य अवस्थाभन्दा धेरै तात्ने प्राकृतिक जलवायु प्रक्रियालाई एल निनो भनिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।