बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन- मन्त्री पोखरेल

५ असोज, २०८३, सोमवार
सारांश
  • शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको पढाइ रोक्न नदिने बताएका छन् ।

काठमाडौं; शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको पढाइ रोक्न नदिने बताएका छन् ।

 

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले विद्यालय पुनर्निर्माण नहुँदासम्म अस्थायी सिकाइ केन्द्र, टोल शिक्षा तथा आवश्यकताअनुसार आवासीय व्यवस्थामार्फत पठनपाठन सञ्चालन गरिने जानकारी दिएका छन् ।

 

बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन मन्त्रालयले निजी क्षेत्रको साझेदारीमा ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ अघि बढाएको उनले बताएका छन्। विपद्पछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदनका आधारमा क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण योजना तयार गरी कार्यान्वयन गरिने र तत्काल स्थानीय तहसँगको समन्वयमा अस्थायी सिकाइ केन्द्र तथा आवश्यक आवासीय सुविधा सञ्चालन गरिने उनले बताए ।

 

मन्त्री पोखरेलले होल्डिङ केन्द्रमा रहेका बालबालिकालाई स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श दिइरहेको र उनीहरूको सिकाइ निरन्तरताका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिएका छन् । उनले भने- 'कुनै पनि बालबालिका सिकाइबाट वञ्चित हुने अवस्था आउन दिइने छैन ।'

 

उनले प्राविधिक शिक्षामा देखिएका समस्या समाधानका लागि नीतिगत तथा कानुनी सुधार अघि बढाइने बताएका छन् । विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि कक्षा ५ सम्म निरन्तर मूल्याङ्कन प्रणाली लागू गरिएको, विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलानको तयारी भइरहेको र शिक्षा ऐन निर्माणका लागि सातै प्रदेशबाट सुझाव संकलन गरिएको उनले जानकारी दिए ।

 

मन्त्री पोखरेलले प्रारम्भिक बालविकास शिक्षक, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगी कर्मचारीको पारिश्रमिकमा थप ५ हजार रुपैयाँ वृद्धि गरिएको पनि बताए । साथै, अखिल नेपाल फुटबल संघमाथिको निलम्बन फुकुवाका लागि सरकारबाट उच्चस्तरीय पहल भइरहेको र नेपाल–चीन मैत्रीपूर्ण खेलका क्रममा घाइते भएका आशिष राईको उपचारका लागि राष्ट्रिय खेलकुद परिषद्को स्वीकृत बजेटको सीमाभित्र रहेर सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार