दुई महिनामै साढे ११ अर्ब विदेशी लगानी प्रतिबद्धता, पर्यटन र सेवा क्षेत्रमा आकर्षण

४ असोज, २०८३, आइतवार
सारांश
  • ऊर्जामूलक क्षेत्रमा एउटा परियोजनामार्फत २ अर्ब रुपैयाँ, उत्पादनमूलक १८ उद्योगमा १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ र कृषिमूलक एक उद्योगमा २ करोड रुपैयाँ लगानी प्रस्ताव भएको छ।

काठमाडौं: चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा नेपालमा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँभन्दा बढीको विदेशी प्रत्यक्ष लगानी (एफडीआई) प्रतिबद्धता आएको छ।

 

उद्योग विभागको भदौ महिनाको प्रतिवेदनअनुसार यस अवधिमा ३२८ वटा उद्योगमार्फत उक्त लगानी प्रतिबद्धता आएको हो। प्रस्तावित उद्योग सञ्चालनमा आए ३ हजार ४४७ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्।

 

कुल ३२८ उद्योगमध्ये ३२२ वटा स्वचालित मार्ग (Automatic Route) बाट स्वीकृत भएका छन्। ती उद्योगबाट ९ अर्ब ७४ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। बाँकी ६ उद्योग परम्परागत स्वीकृति मार्गबाट आएका हुन्, जसको प्रतिबद्धता १ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ छ।

 

पर्यटनमा रकम, आईसीटीमा उद्योग संख्या बढी

लगानी रकमका आधारमा पर्यटन क्षेत्र विदेशी लगानीकर्ताको पहिलो रोजाइमा परेको छ। दुई महिनामा पर्यटनका ७० उद्योगमा ३ अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँ, अर्थात् कुल प्रतिबद्धताको ३४ प्रतिशत लगानी प्रस्ताव भएको छ।

 

सेवा क्षेत्रमा २६ उद्योगमार्फत ३ अर्ब ३० करोड ५४ लाख रुपैयाँ अर्थात् ३० प्रतिशत लगानी प्रतिबद्धता आएको छ।

 

ऊर्जामूलक क्षेत्रमा एउटा परियोजनामार्फत २ अर्ब रुपैयाँ, उत्पादनमूलक १८ उद्योगमा १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ र कृषिमूलक एक उद्योगमा २ करोड रुपैयाँ लगानी प्रस्ताव भएको छ।

 

उद्योग संख्याका आधारमा भने सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्र अगाडि छ। कुल स्वीकृत उद्योगमध्ये २१२ अर्थात् ६५ प्रतिशत आईसीटी क्षेत्रका छन्। ती उद्योगमा ८१ करोड ६९ लाख १७ हजार रुपैयाँ लगानी प्रस्ताव भएको छ। खनिज र पूर्वाधार क्षेत्रमा भने यस अवधिमा विदेशी लगानी प्रतिबद्धता आएको छैन।

 

भदौमा मात्रै ६ अर्ब ३५ करोड

भदौ महिनामा मात्रै १३६ उद्योगमा ६ अर्ब ३५ करोड १५ लाख २१ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। ती उद्योगबाट ९८३ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ।

 

भदौमा स्वीकृत १३६ उद्योगमध्ये १३५ वटा स्वचालित मार्ग र एउटा उद्योग नियमित स्वीकृति प्रक्रियाबाट आएका हुन्।

 

यस्तै, दुई महिनामा सेयर खरिद तथा सेयर सदस्यता सम्झौता (SPA/SSA) मार्फत १२ परियोजनामा थप ८२ करोड ३२ लाख रुपैयाँ लगानी स्वीकृत भएको छ। भदौमा मात्रै ९ वटा सम्झौतामार्फत ५६ करोड ९२ लाख रुपैयाँ स्वीकृत भएको विभागले जनाएको छ। प्रविधि हस्तान्तरण सम्झौता (TTA) अन्तर्गत पनि भदौसम्म ८ वटा सम्झौता स्वीकृत भएका छन्।

 

साना उद्योगमा बढी आकर्षण

आकारका आधारमा हेर्दा विदेशी लगानीकर्ताको आकर्षण साना उद्योगमा बढी देखिएको छ। दुई महिनामा स्वीकृत ३२८ उद्योगमध्ये ३२३ वटा साना, २ वटा मझौला र ३ वटा ठूला उद्योग छन्।

भदौमा दर्ता भएका १३६ उद्योगमध्ये १३४ वटा साना र २ वटा ठूला उद्योग छन्। मझौला उद्योग भने दर्ता भएका छैनन्।

 

रोयल्टी र सेवा शुल्कबापत रकम बाहिरियो

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशी कम्पनीहरूले लाभांश, रोयल्टी तथा सेवा शुल्कबापत उल्लेख्य रकम नेपालबाट बाहिर लगेका छन्।

 

रोयल्टीबापत ६२ करोड २० लाख १४ हजार रुपैयाँ, ७ लाख ९१ हजार ७१७ अमेरिकी डलर र ३९ लाख ७३ हजार ७६६ भारतीय रुपैयाँ बाहिरिएको छ।

 

त्यस्तै, सेवा शुल्कबापत २ करोड ३१ लाख रुपैयाँ, २१ हजार ८३८ अमेरिकी डलर, १ करोड ९९ लाख भारतीय रुपैयाँ र ५७ लाख ३९ हजार अस्ट्रेलियन डलर फिर्ता लगिएको विभागको तथ्याङ्कमा उल्लेख छ।

व्यवसाय प्रवर्धनका लागि विभागले साउन–भदौमा ८५ विदेशी लगानीकर्ता, ६२ आधिकारिक प्रतिनिधि र ८६ आश्रित परिवारका सदस्य गरी २३३ जनालाई व्यावसायिक भिसाका लागि सिफारिस गरेको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार