नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

२ असोज, २०८३, शुक्रवार
सारांश
  • नोटको अग्रभागमा हिमालको चित्र तथा लालीगुराँसको पानी छाप राखिएको छ । साथै, सूर्यको मुनि ‘५०’ अंकित पानी छापसमेत रहनेछ। नोटको तल्लो भागमा विक्रम संवत् २०८२ लेखिएको छ ।

काठमाडौं: नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै नयाँ नोटबारे जानकारी दिएको हो ।

 

राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोट साविककै आकार तथा रङमा हुनेछ । नोटको अग्रभागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञात्मक वाक्यांश रहनेछ ।

 

नोटको अग्रभागमा हिमालको चित्र तथा लालीगुराँसको पानी छाप राखिएको छ । साथै, सूर्यको मुनि ‘५०’ अंकित पानी छापसमेत रहनेछ। नोटको तल्लो भागमा विक्रम संवत् २०८२ लेखिएको छ ।

 

नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको दस्तखत रहनेछ । १.२ मिलिमिटर चौडा कागजमा बनाइएको सुरक्षण धागो प्रकाशतर्फ हेर्दा पूर्ण रूपमा देखिने र उक्त धागोमा ‘एनआरबी’ लेखिएको राष्ट्र बैंकले जनाएको छ । नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र तथा त्यसको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ । नोटको तल्लो भागमा अंग्रेजी भाषामा ५० रुपैयाँ जनाउने शब्द तथा सन् २०२५ को श्रृंखला उल्लेख गरिएको छ ।

 

राष्ट्र बैंकले नयाँ नोटलाई साविककै ५० रुपैयाँको नोटसरह कानुनी मान्यता रहने जनाएको छ । यसअघि २०७७ असार २२ गते जारी सूचनाअनुसार चलनचल्तीमा रहेका ५० रुपैयाँका नोट पनि यथावत् रूपमा प्रयोग गर्न सकिनेछन् ।

 

राष्ट्र बैंकले नयाँ नोट सार्वजनिक गर्नुको उद्देश्य सर्वसाधारणलाई नोटका विशेषताबारे जानकारी गराउनु रहेको जनाएको छ । नोटमा विभिन्न सुरक्षण विशेषता समावेश गरिएकाले नक्कली नोट नियन्त्रण तथा वास्तविक नोट पहिचानमा समेत सहयोग पुग्ने अपेक्षा गरेको राष्ट्र बैंकले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार