इमरानलाई ४८ घण्टाभित्र अस्पताल भर्ना गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश

२ भाद्र, २०८३, मगलवार
सारांश
  • अदालतले इमरानको स्वास्थ्यको विस्तृत परीक्षण गर्न स्वास्थ्य परीक्षण समिति गठन गर्न आदेश दिएको छ । समितिमा उनकी बहिनी डा. उज्मा खान र निजी चिकित्सकलाई पनि सहभागी गराउन भनिएको छ ।

काठमाडौँ: पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४८ घण्टाभित्र अस्पताल भर्ना गर्न आदेश दिएको छ । अदालतले उनको स्वास्थ्य परीक्षण तथा उपचारका लागि विशेषज्ञ चिकित्सक सम्मिलित स्वास्थ्य परीक्षण समिति गठन गर्नसमेत निर्देशन दिएको छ ।

 

तीन सदस्यीय इजलासले इमरानको उपचार र परिवारसँग भेटघाटसम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै उनलाई शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गर्न आदेश दिएको हो । इजलासको नेतृत्व न्यायाधीश शाहिद वहीदले गरेका थिए । इजलासमा न्यायाधीश नईम अख्तर अफगान र न्यायाधीश इश्तियाक इब्राहिम पनि थिए ।

 

अदालतमा प्रस्तुत गरिएको स्वास्थ्य प्रतिवेदनमा इमरानको रक्तचापमा उतारचढाव, मुटुको धड्कनमा परिवर्तन र मानसिक तनाव देखिएको उल्लेख छ । पछिल्लो परीक्षणमा उनको रक्तचाप १४०/८० र नाडीको गति प्रतिमिनेट ५४ पटक रहेको बताइएको छ । यसअघि फेब्रुअरीमा उनको रक्तचाप १२०/८० रहेको थियो ।

 

अदालतले इमरानको स्वास्थ्यको विस्तृत परीक्षण गर्न स्वास्थ्य परीक्षण समिति गठन गर्न आदेश दिएको छ । समितिमा उनकी बहिनी डा. उज्मा खान र निजी चिकित्सकलाई पनि सहभागी गराउन भनिएको छ ।

 

समितिले इमरानको सम्पूर्ण स्वास्थ्य परीक्षण गर्नुका साथै पुराना स्वास्थ्य प्रतिवेदन अध्ययन गर्नेछ । उनको शरीरमा रगत जम्नुको कारण, सम्भावित जोखिम तथा आवश्यक उपचारबारे समितिले सुझाव दिनेछ । साथै उपचार जेलमै सम्भव छ वा अस्पतालमै राख्नुपर्ने हो भन्ने विषयमा पनि समितिले सुझाव दिनेछ ।

 

अडियाला जेल प्रशासनले यसअघि अदालतमा दुई पृष्ठको स्वास्थ्य प्रतिवेदन बुझाएको थियो । त्यसमा आँखासम्बन्धी समस्या केन्द्रीय दृष्टिपटल शिरा अवरोधको पनि उल्लेख छ । उक्त समस्याको उपचार भइरहेको र प्रभावित आँखाको दृष्टि लगभग सामान्य अवस्थामा फर्किएको प्रतिवेदनमा जनाइएको छ ।

 

सर्वोच्च अदालतले इमरान खानलाई उनकी बहिनीहरूसँग भेटघाट गर्न नदिएको विषयमा पनि प्रश्न उठाएको छ । न्यायाधीश शाहिद वहीदले परिवारका सदस्यसँग भेटघाट गराउनु कुनै उपकार नभई इमरानको मौलिक अधिकार भएको टिप्पणी गरे । अदालतले पछिल्ला तीन वर्षमा इमरान र उनका बहिनीबीच भएका सबै भेटघाटको विवरण मागेको छ । यस्तै, उनका छोराहरूसँग भएको कुराकानी र फोन सम्पर्कको विवरणसमेत अदालतमा पेस गर्न आदेश दिइएको छ । अदालतले अडियाला जेल प्रशासनसँग इमरानको पूर्ण स्वास्थ्य प्रतिवेदन माग्दै प्रतिवेदनको विस्तृत विवरण नदिई सारांश मात्र पेस गरिएकोमा असन्तुष्टि जनाएको छ ।

 

७३ वर्षीय इमरान खान सन् २०२३ अगस्टदेखि जेलमा छन् । उनलाई सुरुमा तोसाखाना मुद्दामा तीन वर्षको सजाय सुनाइएपछि पक्राउ गरिएको थियो । त्यसपछि साइफर, अल-कादिर ट्रस्ट र इद्दत निकाहलगायत विभिन्न मुद्दा चलाइएको थियो । साइफर र इद्दत निकाहसम्बन्धी मुद्दामा उनले अदालतबाट राहत पाइसकेका छन् । तोसाखाना मुद्दामा पनि उनको एक सजाय रोकिएको थियो । तर अन्य मुद्दाका कारण उनी अझै जेलमै छन् ।

 

इमरान खान र उनको दल पाकिस्तान तहरीक ए इन्साफले भने सन् २०२२ मा  प्रधानमन्त्री पदबाट हटेपछि आफूविरुद्ध राजनीतिक उद्देश्यले मुद्दा लगाइएको दाबी गर्दै आएका छन् । उनीहरूले इमरानलाई राजनीति तथा निर्वाचनबाट टाढा राख्न मुद्दा चलाइएको आरोप लगाउँदै आएका छन् । पाकिस्तानी सरकार र अनुसन्धान निकायले भने यी आरोप अस्वीकार गर्दै मुद्दाहरू कानुनी प्रक्रियाअनुसार अघि बढिरहेको बताउँदै आएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार