युक्रेनलाई ड्रोन दिएको भन्दै बेलायतलाई रुसको चेतावनी

२ भाद्र, २०८३, मगलवार
सारांश
  • बेलायतको रक्षा मन्त्रालयले भने आफू युक्रेनको साथमा दृढतापूर्वक उभिएको जनाएको छ । मन्त्रालयका प्रवक्ताले रुसले युक्रेनमाथिको आक्रमण तथा बेलायत र उसका साझेदारविरुद्धको गतिविधिको सामना गर्न बेलायती सरकार दृढ रहेको बताएका छन् ।

काठमाडौँ: बेलायतमा निर्मित ड्रोन प्रयोग गरेर रुसभित्र सैन्य तथा औद्योगिक क्षेत्रमा पछिल्ला आक्रमण भएको पुष्टि भएपछि रुसले बेलायतमाथि युक्रेन संकटलाई जानाजानी थप चर्काएको आरोप लगाएको छ ।

 

बेलायतस्थित रुसी दूतावासले विज्ञप्ति जारी गर्दै युक्रेनमा बेलायतको संलग्नता जति गहिरिँदै जान्छ, उसले चुकाउनुपर्ने मूल्य पनि त्यति नै बढ्ने चेतावनी दिएको छ । दूतावासले बेलायतका पछिल्ला गतिविधिको परिणाम अनिवार्य रूपमा आउने र त्यसको जवाफ बेलायतले दिनुपर्ने जनाएको छ ।

 

युक्रेनले पछिल्ला दिनमा रुसको राजधानी मस्कोसहित देशका विभिन्न क्षेत्रमा आफ्नो भूमिभित्रैबाट लामो दूरीका ड्रोन तथा क्षेप्यास्त्रमार्फत आक्रमण तीव्र पारेको छ । विशेषगरी रुसी तेल प्रशोधन केन्द्र, ढुवानी तथा भण्डारण संरचना र प्रमुख व्यापारिक कम्पनीका वितरण केन्द्रलाई निशाना बनाइएको छ ।

 

बेलायतको रक्षा मन्त्रालयले भने आफू युक्रेनको साथमा दृढतापूर्वक उभिएको जनाएको छ । मन्त्रालयका प्रवक्ताले रुसले युक्रेनमाथिको आक्रमण तथा बेलायत र उसका साझेदारविरुद्धको गतिविधिको सामना गर्न बेलायती सरकार दृढ रहेको बताएका छन् ।

 

रुसले यसअघि पनि युक्रेनलाई ड्रोन प्रविधि तथा ‘स्टोर्म स्याडो’ क्षेप्यास्त्र उपलब्ध गराएको भन्दै बेलायतलाई चेतावनी दिँदै आएको थियो । पछिल्लो विज्ञप्तिमा भने मस्कोले बेलायतविरुद्ध कस्तो कदम चाल्न सक्ने हो भन्ने स्पष्ट पारेको छैन ।

 

यसैबीच, युक्रेनले रुसभित्र गरेको निरन्तर आक्रमणले रुसी इन्धन आपूर्ति र अर्थतन्त्रमा समेत असर पारिरहेको बताइएको छ । बेलायतले सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेदेखि नै युक्रेनलाई प्रमुख अन्तर्राष्ट्रिय सहयोग प्रदान गर्दै आएको छ ।

 

बेलायतको रक्षा मन्त्रालयले युक्रेनलाई आफ्नो रक्षा गर्न आवश्यक उपकरण उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । गत अप्रिलमा बेलायतले युक्रेनलाई लामो दूरीबाट प्रहार गर्न सक्ने उपकरणसहित हजारौँ ड्रोन उपलब्ध गराउने घोषणा गरेको थियो ।

 

पछिल्लो दुई दिनमा मात्रै युक्रेनी सेनाले मस्को क्षेत्रतर्फ सयौँ ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका छन् । मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार मंगलबार भएको आक्रमणमा १० वर्षीया बालिका घाइते भएकी छन् भने प्रमुख व्यापारिक कम्पनीको वितरण केन्द्रमा क्षति पुगेको छ ।

 

रुसी अधिकारीहरूका अनुसार पछिल्लो रात मस्को आसपासको क्षेत्रमा करिब ६२० ड्रोन उडाइएको थियो । रुसी हवाई सुरक्षा प्रणालीले तीमध्ये १८० भन्दा बढी ड्रोन नष्ट गरेको दाबी गरिएको छ। आक्रमणमा केही मानिस घाइते भएको जनाइएको छ । सम्बन्धित कम्पनीले आफ्नो वितरण केन्द्रमा सामान्य क्षति पुगेको जनाएको छ ।

 

यसअघि शनिबार राति युक्रेनले रुसतर्फ करिब ८२२ ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका थिए । तीमध्ये करिब ६०० ड्रोन मस्कोतर्फ लक्षित रहेको दाबी गरिएको थियो । उक्त आक्रमणलाई मस्को क्षेत्रमा पछिल्लो समयकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक भनिएको छ । रुसका विभिन्न क्षेत्रमा भएको सो आक्रमणमा सात जनाको मृत्यु भएको बताइएको छ ।

 

यता, युक्रेनमाथि रुसले गरेको पछिल्लो क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । सबैभन्दा ठूलो क्षति उत्तरपूर्वी युक्रेनको पेचेनीही गाउँमा भएको छ । त्यहाँ घर, एक भोजनालय र हुलाक कार्यालयमा आक्रमण हुँदा १० गाउँलेको मृत्यु भएको छ । सुमीमा तीन जना, जापोरिजियामा दुई जना र खेर्सनमा दुई जनाको मृत्यु भएको बताइएको छ । पूर्वी क्षेत्रमा अग्रपंक्तिनजिक रहेको इज्युममा पाँच जना घाइते भएका छन् । राजधानी किएभमा पनि रातभर पाँच चरणमा आक्रमण भएको जनाइएको छ।

 

यसअघि शनिबार राति रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको र ३९ जनाभन्दा बढी घाइते भएका थिए ।

 

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेको थियो। हाल रुसले युक्रेनको करिब पाँच भागको एक भाग भूभाग नियन्त्रणमा राखेको बताइन्छ । युक्रेनले आफ्नै उत्पादनका ड्रोन तथा क्षेप्यास्त्रसमेत प्रयोग गर्दै रुसभित्र आक्रमण विस्तार गरिरहेको छ । बेलायतका दुई कम्पनीले किएभलाई उपलब्ध गराइएका ड्रोन निर्माण गरेको बताइएको छ । 

 

रुसी अधिकारीहरूले पछिल्ला युक्रेनी आक्रमणबाट रुसको अर्थतन्त्रमा ३५ अर्ब पाउन्डभन्दा बढीको क्षति भएको दाबी गरेका छन् । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले यसअघि पनि बेलायती उपकरण तथा संरचना प्रयोग भएका ड्रोनबाट रुसी भूमिमा आक्रमण भएको आरोप लगाएकी थिइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार