रोल्पामा पहिरो : १० जनाको शव भेटियो, ५ जना अझै बेपत्ता

२८ श्रावण, २०८३, बिहिवार
सारांश
  • पहिरोमा परी गम्भीर घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ।

रुपन्देही । रोल्पाको थबाङ गाउँपालिका–५ उवाअन्तर्गत कोटलबारामा बुधबार राति गएको पहिरोमा परी हालसम्म १० जनाको शव फेला परेको छ। तीमध्ये ८ जनाको सनाखत भएको छ भने ५ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

 

पहिरोमा परी गम्भीर घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ।

 

बुधबार राति परेको अविरल वर्षासँगै लेदो, ठूला ढुंगा र मुढासहितको पहिरो खस्दा कोटलबाराको बस्तीका ९ वटा घर, एउटा घुम्ती किराना पसल, २ वटा गोठ र एउटा चर्च पुरिएका तथा बगाएका थिए। घटनामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।

 

घटनास्थलमा खटिएका रोल्पा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पंचकुमार बाखुका अनुसार मृत्यु हुनेमा थबाङ–५ उवाको कोटलबारा निवासी १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर, ३८ वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर र ५ वर्षीय अशोक पुन मगर रहेका छन्।

 

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठका अनुसार अझै बेपत्ता हुनेमा ८० वर्षीय अजम्बर पुन मगर, ८० वर्षीय बल बहादुर पुन मगर, ६१ वर्षीय लिल बहादुर पुन मगर, ६६ वर्षीया मनि पुन मगर र ३४ वर्षीय महेन्द्र घर्ती रहेका छन्।

 

घटनापछि प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको टोली खोज तथा उद्धारमा परिचालन भएको छ। लगातार पानी परिरहनुका साथै दुई स्थानमा पुनः पहिरो गएर बाटो अवरुद्ध हुँदा खोज तथा उद्धारमा कठिनाइ भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।

 

पहिरो गएको समयदेखि नै घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेकै बेला प्युठानको माडीखोलाका विभिन्न स्थानमा ५ जनाको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ। तीमध्ये ३८ वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर र ५ वर्षीय अशोक पुन मगरको पहिचान खुलेको छ भने अन्य दुई शवको सनाखत हुन सकेको छैन।

 

उक्त शवहरू उवाको कोटलबारा गाउँमा गएको पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरूको हुनसक्ने आशंका गरिए पनि यसको पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

 

घटनाप्रति लुम्बिनी प्रदेश सरकार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एमाले लगायतका राजनीतिक दल तथा विभिन्न पक्षले दुःख व्यक्त गर्दै तत्काल खोज तथा उद्धारलाई तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार