नेपाल संवत् हाम्रो मौलिक समयचक्र र पहिचान हो- प्रधानमन्त्री शाह

२४ कार्तिक, २०८३
सारांश
  • प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

काठमाण्डौ, २४ कार्त्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

 

शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त बनाएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र राष्ट्रिय पहिचान भएको बताएका छन् ।

 

उनले नेवार समुदायले मनाउने म्हः पूजाले आत्मशुद्धि र चेतनाको बोध गराउनुका साथै आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई बलियो बनाउने उल्लेख गरेका छन् ।

 

त्यस्तै, गोवर्धन पूजा तथा हली तिहारको सांस्कृतिक र धार्मिक महत्त्व स्मरण गर्दै उनले कृषि कर्मका सहयात्री गोरु तथा कृषि औजारको पूजा गर्ने परम्पराले कृषि संस्कृतिको महत्त्व झल्काउने बताएका छन् ।

 

प्रधानमन्त्री शाहले देउसी–भैलोले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने उल्लेख गर्दै मौलिक चाडपर्वले रिसराग बिर्सेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?

तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।

थप समाचार