गणेश नेपालीको स्वास्थ्य अस्थिर बनेपछि भारत लैजाने योजना तत्कालका लागि स्थगित
२०८३ अषाढ़ २६ शुक्रवार
- चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएपछि तत्काल भारत लैजाने योजना स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
काठमाण्डौ, २६ अषाढ़ । सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत लैजाने योजना स्थगित गरिएको छ ।
चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएपछि तत्काल भारत लैजाने योजना स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
हाल उनलाई भारत लैजान मिल्ने अवस्था बन्ना साथ लैजाने गरी तयारी अवस्थामा रहेको बताइएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित 'एम्स' अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो ।
उनलाई तत्कालै विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई परिचालन गरेका थिए । साथै सरकारले उनका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरेको थियो। त्यसअघि सरकारले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने बताएको थियो । भारतको विमानस्थलबाट नेपालीलाई एम्स अस्पतालसम्म लैजाने सबै बन्दोबस्त समेत गरिएको थियो ।
तर, वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि उनलाई भारत लैजाने योजना तत्कालका लागि स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी आफैले आफ्नो शरीरमा आगो लगाएका नेपाली दिउँसो ३ बजे वीर अस्पतालमा ल्याइएको थियो । उनको शरीर ५५ प्रतिशत जलेको चिकित्सकले बताएका छन् ।
हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली उनको उपचारमा खटिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।