सिन्धु जल सन्धिको विषयमा पाकिस्तानको भारतलाई चेतावनी

८ आषाढ़, २०८३, सोमवार
सारांश
  • पछि विश्व बैंकको मध्यस्थतामा दुवै देशबीच लामो वार्ता भयो र सन् १९६० सेप्टेम्बर १९ मा कराँचीमा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू र पाकिस्तानका राष्ट्रपति अयुब खानले सम्झौतामा हस्ताक्षर गरेका थिए । यही सम्झौता सिन्धु जल सन्धिका नामले परिचित छ ।

काठमाडौँ: पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सिन्धु जल सन्धि स्थगित रहेको विषयलाई लिएर भारतलाई युद्धको चेतावनी दिएका छन् ।

 

पाकिस्तानी टेलिभिजन एआरवाई न्युजसँगको कुराकानीमा उनले पाकिस्तानको जल सुरक्षामा खतरा उत्पन्न भएको महसुस भए भारतविरुद्ध युद्ध सुरु गर्न सकिने बताएका हुन् ।

 

उनले भारतले पाकिस्तानको हिस्सामा पर्ने पानीको बहावमा हस्तक्षेप गरिरहेको र त्यसलाई रणनीतिक हतियारका रूपमा प्रयोग गरिरहेको आरोप लगाए । सन् २०२५ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएपछि भारतले सन् १९६० को सिन्धु जल सन्धि स्थगित गरेको थियो । भारतले पाकिस्तानले सीमापार आतंकवादविरुद्ध ठोस कदम नचालेसम्म सन्धि पुनः लागू नगर्ने अडान राख्दै आएको छ ।

 

अहिले पाकिस्तान गम्भीर जल संकटको सामना गरिरहेको छ । विशेषगरी सिन्ध र बलुचिस्तान क्षेत्रमा पानीको अभाव निरन्तर बढिरहेको बताइएको छ ।

 

सिन्धको सिंचाइ विभागका अनुसार उत्तर–पश्चिम नहरमा ६४.१ प्रतिशत पानीको कमी देखिएको छ । राइस नहरमा ३८ प्रतिशत तथा दादु नहरमा ८२ प्रतिशतसम्म पानीको अभाव रहेको छ । पाकिस्तानको सिंचाइ प्रणालीको प्रमुख संरचना सुक्कुर ब्यारेजमा पनि पानीको सतह लगातार घट्दै गएको छ । यसले कृषि उत्पादन र समग्र अर्थतन्त्रमा गम्भीर असर पार्ने चिन्ता व्यक्त गरिएको छ ।

 

सिन्धु नदी प्रणाली अन्तर्गत सिन्धु, झेलम, चिनाब, रावी, व्यास र सतलुज गरी छ वटा नदी पर्छन् । यी नदी आसपासको क्षेत्रफल करिब ११ लाख २० हजार वर्ग किलोमिटरमा फैलिएको छ । यस क्षेत्रको ४७ प्रतिशत भूभाग पाकिस्तान, ३९ प्रतिशत भारत, ८ प्रतिशत चीन र ६ प्रतिशत अफगानिस्तानमा पर्छ । करिब ३० करोड मानिसको जीवनयापन यी नदी प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

 

सन् १९४७ मा भारत–पाकिस्तान विभाजन हुनुअघि नै पानी बाँडफाँटको विवाद सुरु भएको थियो । सन् १९४८ मा भारतले दुई प्रमुख नहरको पानी रोकेपछि पाकिस्तानको पञ्जाब क्षेत्रमा करिब १७ लाख एकड खेतीयोग्य जमिन प्रभावित भएको थियो ।

 

पछि विश्व बैंकको मध्यस्थतामा दुवै देशबीच लामो वार्ता भयो र सन् १९६० सेप्टेम्बर १९ मा कराँचीमा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू र पाकिस्तानका राष्ट्रपति अयुब खानले सम्झौतामा हस्ताक्षर गरेका थिए । यही सम्झौता सिन्धु जल सन्धिका नामले परिचित छ ।

 

पाकिस्तानको करिब ९० प्रतिशत अर्थात् ४ करोड ७० लाख एकड खेतीयोग्य जमिनको सिंचाइ सिन्धु नदी प्रणालीमा निर्भर छ । पाकिस्तानको राष्ट्रिय आम्दानीमा कृषि क्षेत्रको योगदान २३ प्रतिशत रहेको छ भने ग्रामीण जनसंख्याको ठूलो हिस्सा यसै क्षेत्रमा निर्भर छ ।

 

सन्धि स्थगित भएपछि पाकिस्तानको कृषि, अर्थतन्त्र र जनजीवनमा थप दबाब बढ्न थालेको बताइएको छ । त्यस्तै मङ्गला र तारबेला जलविद्युत् बाँधमा पर्याप्त पानी नपुग्दा विद्युत् उत्पादन ३० देखि ५० प्रतिशतसम्म घट्न सक्ने अनुमान गरिएको छ । यसले औद्योगिक उत्पादन र रोजगारीमा समेत नकारात्मक प्रभाव पार्ने सम्भावना रहेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार