०७२ विनाशकारी भूकम्प : दशक वित्यो पीडा र सम्झना ताजै, सरकार के गर्दैछ ?

२०८३ वैशाख १२ शनिवार
सारांश
  • अन्तर्राष्ट्रिय समुदायले पनि नेपाललाई ठूलो सहयोग ग¥यो । उद्धार टोली, राहत सामग्री र पुनर्निर्माण सहयोगका प्रतिबद्धता आए।

वि.स.२०७२ साल नेपाली समाजका लागि कहिल्यै नबिर्सिने वर्ष बन्यो । ०७२ वैशाख १२ गते अर्थात आजकै दिन नेपाली जनजीवनलाई तहनहस बनाइदियो । त्यो अतितले आजपनि मानिसहरुलाई झस्काइदिन्छ । त्यसबेलाको भूकम्पको पराकम्पनले लाखौं नेपालीका सपनाहरु आफ्नो घरको छानोसँगै भत्काइदिएको थियो । समय बित्दै जाँदा धेरैका घाउ निको हुन्छन् भन्ने विश्वास भएपनि ०७२ को भूकम्पले छाडेका चोटहरु अझैपनि समाजको स्मृतिमा ताजा छ ।


हरेक वर्ष वैशाख १२ आउँदा देश एकैपटक अतितमा फर्किन्छ,त्रास, आँसु, उद्धार, र पुनर्निर्माणका ती कठिन दिनहरू फेरि जीवन्त हुन्छन् । वैशाख १२ गते शनिबार, बिहान ११ बजेर ५६ मिनेट जाँदा गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पले नेपाललाई गहिरो रूपमा हल्लायो । केन्द्रविन्दु गोरखाको बारपाक थियो । केही सेकेन्डमै हजारौं घरहरू ढले, पुरातात्विक सम्पदाहरू ध्वस्त भए, विद्यालय, अस्पताल, कार्यालय सबै क्षतविक्षत भए । मानिसहरू एकैछिनमा आफ्नो घर, सम्पत्ति मात्र होइन, सुरक्षित जीवनसमेत गुमाउन बाध्य भए ।


सरकारी तथ्यांकअनुसार करिब नौं हजार मानिसले ज्यान गुमाए भने २२ हजारभन्दा बढी घाइते भए । लाखौं नागरिक विस्थापित भए । काठमाडौं उपत्यका, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, गोरखा, धादिङ, नुवाकोट, रसुवा, दोलखा र काभ्रे सबैभन्दा बढी प्रभावित भए । विशेषगरी सिन्धुपाल्चोक र गोरखामा त कतिपय बस्ती नै उजाडिए ।


त्यो दिन केवल संरचना ढलेनन्, मानिसहरूको मनोबल पनि भत्कियो । आफ्नै परिवारका सदस्यलाई भग्नावशेषबाट निकाल्न नसक्ने पीडा, घाइतेलाई अस्पताल पु¥याउन नसक्ने असहाय अवस्था र निरन्तर परकम्पको डरले समाजलाई मानसिक रूपमा थिलथिलो बनायो। धेरै बालबालिकाले अभिभावक गुमाए, धेरै वृद्धहरू सहाराविहीन भए र हजारौं मानिस अझै पनि त्यो दिन सम्झँदा भावनात्मक रूपमा विचलित हुन्छन्।


काठमाडौंको धरहरा ढलेको दृश्य आजपनि धेरै नेपालीको आँखामा ताजै छ । सयौं वर्ष पुराना मठ–मन्दिर, दरबार क्षेत्र र सांस्कृतिक सम्पदाहरू एकैछिनमा भग्नावशेषमा परिणत भए । बसन्तपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, स्वयंम्भू र चाँगुनारायणजस्ता ऐतिहासिक स्थलहरूको क्षति केवल भौतिक मात्र थिएन—यो नेपालको पहिचान, इतिहास र सांस्कृतिक आत्माको ठूलो चोट थियो ।


भूकम्पपछि सुरु भएका दिनहरू अझै कठिन थिए । मानिसहरू खुला चौर, सडक किनार र टेन्टमा रात काट्न बाध्य भए । खानेपानी, औषधि र आधारभूत सेवाको अभावले जीवन झन् कठिन बनायो । राहत वितरणका लागि लामो लाइन, अनिश्चित भविष्य र निरन्तर त्रासले समाजलाई अस्थिर बनाएको थियो ।


तर यही विपत्तिको बीचमा मानवता पनि देखियो । छिमेकीले छिमेकीलाई बचाए, युवाहरू स्वयंसेवक बने, सेना, प्रहरी र सशस्त्र प्रहरी उद्धारमा रातदिन खटिए ।


अन्तर्राष्ट्रिय समुदायले पनि नेपाललाई ठूलो सहयोग ग¥यो । उद्धार टोली, राहत सामग्री र पुनर्निर्माण सहयोगका प्रतिबद्धता आए। यसैपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरियो र पुनर्निर्माण अभियान सुरु भयो।


आज, ०७२ को भूकम्पको एक दशकभन्दा बढी समय बितिसकेको छ । धेरै संरचना पुनर्निर्माण भएका छन् धरहरा पुनः बनेको छ, धेरै मन्दिर र सम्पदा पुनःस्थापित भएका छन्, हजारौं निजी घर पुनर्निर्माण भएका छन् । तर सबै कुरा पूर्ण भएको छैन ।


अहिलेसम्म पनि केही ग्रामीण क्षेत्रका विद्यालयहरू पूर्ण रूपमा सुरक्षित संरचनामा रुपान्तरण हुन सकेका छैनन् । केही स्वास्थ्य चौकी र सार्वजनिक भवन अझै अस्थायी संरचनामै सञ्चालन भइरहेका छन् । दुर्गम क्षेत्रमा पुनर्निर्माण ढिला भएको गुनासो अझै सुन्न पाइन्छ । कतिपय परिवार अझैपनि अस्थायी वा जोखिमयुक्त घरमा बसिरहेका छन्। यसका साथै, भूकम्पले उठाएको ठूलो प्रश्न अझै पनि जिवित छ—के नेपाल साँच्चै अर्को ठूलो विपत्तिका लागि तयार छ ?


विज्ञहरुका अनुसार नेपाल अझै उच्च भूकम्पीय जोखिममा छ । काठमाडौं उपत्यकाको घना र अव्यवस्थित शहरीकरण, कमजोर भवन निर्माण अभ्यास र विपद् पूर्वतयारीको कमीले भविष्यमा अझ ठूलो जोखिम निम्त्याउन सक्छ । विद्यालयहरूमा भूकम्प अभ्यास भएपनि त्यसको निरन्तरता र गहिराइ अझै पर्याप्त छैन ।


०७२ को भूकम्पले हामीलाई एउटा ठूलो पाठ दिएको छ । प्रकृतिसँग लड्न सकिँदैन, तर तयारीले क्षति कम गर्न सकिन्छ । संरचना मात्र होइन, सोच, नीति र व्यवहार पनि बलियो हुन आवश्यक छ । लाग्छ, सरकार अझैपनि भूकम्पको पूर्व तयारीमा स्पष्ट छैन्, भुइँ हल्लाएपछि मात्र झस्किन्छ र योजना बनाउन अग्रसर हुन्छ तर योजनाले कहिल्यै पूर्णता पाउँदैन् । भूकम्प प्रतिरोधी संरचना निर्माण र सचेतनामा सरकारले धेरै काम गर्न बाँकी नै छ ।


आज पनि वैशाख १२ आउँदा देश मौन हुन्छ । कतै आँसु झर्छ, कतै सम्झना बन्छ, कतै अधुरा सपनाहरू फेरि ताजा हुन्छन्। त्यो दिन केवल इतिहास होइन, आज पनि बाँचिरहेको अनुभव हो ।


०७२ सालको भूकम्प केवल एउटा प्राकृतिक विपत्ति होइन, यो नेपाली समाजको साझा पीडा, पुनर्जागरणको कथा र चेतावनी पनि हो । समय बितेपनि त्यो ११ बजेर ५६ मिनेट कहिल्यै बित्दैन । किनकि त्यो क्षणले नेपाललाई सधैंका लागि बदलिदिएको छ । ०७२ बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन। त्यो एउटा वर्ष होइन, एउटा अनुभूति हो, एउटा घाउ हो, र अझै पनि ताजा घाउको कथा हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार