इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति
२०८१ माघ १० विहिबार
- नेपाली सेनाले ‘गौरवशाली नेपाल’ नामक पुस्तकसमेत तयार पाएको सो अवसरमा जानकारी दिइयो ।
काठमाडौँ, १० माघः प्रधानसेनापति अशोकराज सिग्देलले इतिहासको पठनपाठन कम हुँदै जाँदा शिक्षित नागरिकमा नेपालको गौरवपूर्ण इतिहास, संस्कृति, परम्परा तथा मूल्यमान्यताबारे यथेष्ट जानकारी हुन छाडेको बताएका छन् ।
नेपाली सेनाद्वारा जङ्गीअड्डामा आयोजित अवकाश प्राप्त रथीवृन्दसँगको अन्तरक्रिया समापनका अवसरमा उनले इतिहासको अध्ययन र अध्यापन नभए कालान्तरमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानमा नै असर पर्दै जानेमा चिन्ता व्यक्त गरे ।
महारथी सिग्देलले इतिहासको महत्व जगाउन सेनामा सञ्चालन हुने सबै तालिममा इतिहासको अध्ययन अध्यापन सुरु गर्न लागिएको जानकारी दिए । नेपाली सेनाले ‘गौरवशाली नेपाल’ नामक पुस्तकसमेत तयार पाएको सो अवसरमा जानकारी दिइयो ।
प्रधानसेनापति सिग्देलले कल्याणकारी योजनाअन्तर्गत आयमूलक सँगसँगै राष्ट्र र नागरिकको जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान दिने खालको कार्यक्रम लागू गर्नसमेत अध्ययन भइरहेको बताए ।
बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले अग्रजको अनुभव र विज्ञताका आधारमा सेनाले राष्ट्रिय सुरक्षा र राष्ट्रियहित तथा कल्याणकारी योजना तय गर्ने योजना रहेको बताए । अवकाश प्राप्त ज्येष्ठ रथी कृष्णनारायणसिंह थापाले सेनाको योग्य र विज्ञ समूहले हालको विश्वसुरक्षा वातावरणमा नेपालको सुरक्षा अवस्थालाई मजबुत बनाउन राष्ट्रिय सुरक्षा परिषद्लाई सल्लाह सुझाव दिइ सक्षम बनाउनुपर्ने धारणा राखे ।
उनले भूतपूर्व सैनिकलाई कृषिलगायत उत्पादनमूलक कार्यमा लाग्न प्रेरित गरी देशलाई आत्मनिर्भर बनाउनेतर्फ योगदान दिनुपर्नेमा जोड दिए । अन्तरक्रियामा सहभागी रथीवृन्दले नेपाली सेना र सरकारले राष्ट्रिय सुरक्षा र राष्ट्रियहितको जगेर्नाका विषयमा अनुभव र अध्ययनबाट खारिएका विज्ञ व्यक्तिको राय सुझावका आधारमा कार्य गर्नुपर्नेमा जोड दिए ।
नेपाली सेनामा रथी र उपरथीबाट अवकाशप्राप्त करिब एक सय जना दिग्गजको सहभागिता रहेको कार्यक्रममा उनले नेपालको सरकारी सेवामा सबैभन्दा लामो सेवा र विदेशबाट उच्चस्तरको तालिम र ज्ञानप्राप्त पेशेवर जनशक्तिलाई राष्ट्रले उपयोग गर्नुपर्ने सुझाव दिए ।
राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रिय विपद् प्राधिकरण तथा कूटनीतिकलगायत राष्ट्र निर्माणका विविध क्षेत्रमा अवकाश प्राप्त रथीवृन्दले हासिल गरेको लामो अनुभव एवं विज्ञतालाई उपयोग गर्नेतर्फ पहल हुनसकेमा राष्ट्रलाई लाभ पुग्ने उहाँहरूको भनाइ रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सहभागी रथीवृन्दले कल्याणकारी कोषको दिगोपनाका लागि राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्नेगरी लगानीको क्षेत्र विविधिकरण गर्नुपर्नेमा अवकाश प्राप्त रथीवृन्दले जोड दिए ।
राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित, कल्याणकारी कोषको दिगोपना तथा सैनिक कल्याणकारी कोषमार्फत प्रदान गरिने सेवा सुविधालाई थप परिष्कृत, मितव्ययी र परिणाममुखी बनाउन उनीहरूसँग सुझाव प्राप्त गर्न कार्यक्रम गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विदेशी मुद्राको सटहीदर: २०८३ मङ्सिर १३ आइतबार
-
आजको राशिफल: वि.सं. २०८३ मङ्सिर १३ गते आइतबार
-
एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने
-
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने
-
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।