"हामी समाजवादको भ्रमबाट मुक्त हुनुपर्छ" - अन्तर्वार्ता
२०८१ असोज १३, आईतबार
- त्रिभुवन विश्वबिद्यालय समाजशास्त्र अध्यापन गराउदै आउनु भएका विष्णु बसेल संग मार्क्सवादी विचार र समाजवादका सन्दर्भमा केन्द्रित रहेर बिन्दु पोष्टले गरेको कुराकानी।
त्रिभुवन विश्वबिद्यालय समाजशास्त्र अध्यापन गराउदै आउनु भएका अध्यापक विष्णु बसेलसंग मार्क्सवादी विचार र समाजवादका सन्दर्भमा केन्द्रित रहेर बिन्दु पोष्टले गरेको कुराकानी।
नेपालमा धेरैजसो समाजशास्त्रीहरू आफुलाई मार्क्सवादी भन्न रुचाउछन, तर तपाई भने आफुलाई "मार्क्सवाद बिरोधि" भन्न रुचाउनु हुन्छ, किन ?
यस्तो छ नेपालको हकमा चाहिं धेरै जसो समाजशास्त्रीहरू मार्क्सवादी छन् भन्ने सन्दर्भमा समाजशास्त्रीहरू मात्रै होइन, मेरो भाषामा भन्नुपर्दा दुर्भाग्यवश अधिकांश बौद्धिक व्यक्तिहरू मार्क्सवादी विचारधाराबाट प्रभावित छन्। जुन सामाजशास्त्रीहरू मार्क्सवादी ज्यादा छन् भन्ने तर्क छ, मेरो विचारमा चाहिं त्यसको यौटा खास कारण छ, त्यो के भने जव नेपालमा समाजशास्त्र विषयलाई अध्यापन गराउन शुरुवात भयो, त्यतिबेला समाजशास्त्रको पाठ्यक्रम निर्माण गर्ने अगुवा विद्वानहरू मुलत: मार्क्सवादी विचारधाराबाट प्रभावित हुनुहुन्थ्यो। उहाँहरूले जुन पाठ्यक्रम निर्माण गर्नुभयो, वा बनाउनुभयो, त्यो पाठ्यक्रम मार्क्सवादी विचारधाराबाट अभिप्रेरित थियो। र त्यसपछि पढने बिध्यार्थिहरू स्वत: त्यहि ज्ञानबाट प्रभावित हुने भईहाले, तसर्थ मेरो बुझाईमा नेपालमा अधिकांश समाजशास्त्री भन्नुहोस वा समाजको व्याख्या गर्ने व्यक्तित्वहरू भन्नुहोस तिनीहरू मार्क्सवादी भन्नु भन्दा पनि मार्क्सवादी पाठ्यक्रम लादिएर उत्पादन भएका विद्वानहरू हुन्।
जहाँसम्म मेरो कुरा छ, मैले पनि अधिकांश कोर्ष त त्यहि नै पढेको हो तर त्यसलाई केहि आलोचनात्मक दृष्टिकोणबाट पढने कोशिस गरे र अति मार्क्सवाद प्रभावित बौधिकताबाट आफुलाई जोगाउने प्रयास गरे।
मार्क्सवादी विचारको बिरोध गर्नुपर्ने कारण चाहिं किन रहेछ ?
यसको मुल कारण चाहिं जव मैले मार्क्सवादी दृष्टिकोणबाट हाम्रो नेपालको सामाजिक-सांस्कृतिक, धार्मिक र आर्थिक संगसंगै जातिय विविधतालाई बुझ्ने प्रयत्न गरे ति कुनै पनि सामाजिक विशेषताहरू मार्क्सवादी दृष्टिकोणबाट बुझ्न र व्याख्या गर्न सकिने विषय नै होइन रहेछन। किनकि नेपालको सामाजिक बनोट नै विविधतामा आधारित छ जसको इतिहास निक्कै लामो छ र धार्मिक सांस्कृतिक परिवेशसंग गाँसिएको छ। तर मार्क्सवादले भने यी विषयलाई केवल आर्थिक असमानताको दृष्टिकोणबाट मात्रै हेर्छ। साथसाथै मार्क्सवादी दृष्टिकोणबाट समाजको सांस्कृतिक विशेषताहरू केवल बुर्जुवाहरूको आफु अनुकुलको उत्पादन हो भनेर यसलाई व्याख्या गर्ने प्रयास गर्छ। तर हरेक समाजको सामाजिक-सांस्कृतिक परिवेश भनेको त्यो समाजको त्यतिबेलाको आवश्यकताको आधारमा निर्माण हुन्छ। जसलाई तपाईले अस्विकार गर्न सक्नुहुन्न।
संगसंगै मार्क्सवादी समाजशास्त्री प्रति मेरो अरुचिको खास कारण के पनि हो भने मार्क्सवादले खासगरी हाम्रो मुलुकमा हरेक सामाजिक सांस्कृतिक अस्तित्वहरूलई केवल नकारात्मकताको दृष्टिकोणबाटबट व्याख्या गर्र्यो। जुन कुरा सर्वस्वीकार्य होइन। तसर्थ मार्क्सवाद भन्दा फरक दृष्टिकोणबाट मात्रै नेपालको खाश सामाजिक संस्कृतिक यथार्थतालाई बुझ्न सकिन्छ भन्ने मेरो स्वीकारोक्ति हो। सारमा भन्नु पर्दा हाम्रो परिवेशमा मार्क्सवाद यौटा नकारात्मकताको खेति गर्ने ग्याङ्गको रूपमा निर्माण भयो।
नेपालमा सामाजिक आर्थिक असमानता मार्क्सवादी विचारले मात्रै हटाउन सक्छ भन्ने भाष्य छ, यसलाई कसरी हेर्नुहुन्छ? यस तर्कमा कत्तिको सत्यता र यथार्थता पाउनुहुन्छ ?
खासमा कुनै सिधान्त वा दर्शन समाजमा पटक-पटक परिक्षित हुँदै अगाडि बढेको हुन्छ। तपाईले भनेको नेपालको सामाजिक आर्थिक असमानतालाई केवल मार्क्सवादी कार्यक्रमले मात्रै सम्बोधन गर्न सक्छ भन्ने जुन भाष्य छ यो गलत हो र जबर्जस्ति स्थापित भाष्य हो । नेपालको परिवेशमा मात्रै होइन नकि वैशिक परिवेशमा समेत पुर्ण रुपमा असफल, अव्यावहारिक र मानवीय सभ्यताको बिनाशकको रुपमा मार्क्सवाद प्रमाणित छ। म तपाईलाई नेपालको परिवेशमा भन्दा पहिले यसले वैशिक परिवेशमा आर्थिक-सामाजिक असमानताहरू हटाउन मद्दत गर्र्यो त भन्ने कुरा बुझाउन चाहन्छु।
संसारमा मार्क्सवादी विचारधाराको उत्पति र यसको राजनैतिक प्रयोग हुन थालेकै झण्डै एक सय वर्ष भन्दा धेरै भयो। मलाई एउटा मात्रै उदाहरण भनिदिनुहोस कि कुनैवेला संसारमा अत्यन्त प्रभाव छोडन सफल भन्ने मानिएको वाद वा विचार किन ति समाजमा सामाजिक-आर्थिक असमानतालाई समाधान गर्न असफल रह्यो त ? अब भन्नुहोस जुन सिधान्त र राजनैतिक कार्यक्रम समग्र संसारमा असफल भैसकेको छ भने त्यसले नेपालको आर्थिक सामाजिक असमानतालाई कसरी सम्बोधन गर्न सक्ला र ?
हाम्रोमा राजनैतिक सिधान्तको रुपमा मार्क्सवादलाई र आर्थिक कार्यक्रमको रुपमा समाजवादलाई एउटा आदर्शको रुपमा ग्रहण गर्ने गलत चेतना निर्माण भयो । त्यसको फलस्वरूप अझै पनि समाजवाद वकालत गर्ने बौद्धिक परम्परा आजपर्यन्त जारी छ। एउटा कुरा के सत्य हो भने मार्क्सवादी सिधान्तले उदारवादलई जुन रुपले गालि गर्र्यो त्यसले गर्दा उदारवादी राजनीतिक र आर्थिक दर्शनलाई अझै बढि उदार र अझै बढि लोकतान्त्रिक हुन सहयोग पुर्र्यायो । तर मार्क्सवादी दर्शनले संसारकै प्रयोगले आफुलाई असफल सिद्ध गर्दा समेत आफुले आफैलाई पुनर्परिभाषित र पुनर्व्याख्या गर्ने गुञ्जायस समेत गरेन । केवल एक रेखीय रुपमा समाजको गति अगाडि बढछ भन्ने अव्यावहारिकता मार्क्सवादले बोकेको छ। तसर्थ साधारण भाषामा भन्नुपर्दा प्रथम दृष्टिमै यो भ्रमपूर्ण छ। किनकि समाज विकासको संसारको इतिहासले यस्तो भन्दैन, यो बहुरेखिय छ ।
नेपालमा काङ्ग्रेस कम्युनिष्ट सबैले कार्ल मार्क्सलाई महान दार्शनिकका रुपमा मान्छन साथै समाजवादलाई आफ्नो आदर्श र लक्ष्यका रुपमा पनि राखेका छन् ? यसलाई तपाईले के भन्नुहुन्छ ?
कोहि पनि दार्शनिक जसले समाजको बारेमा चिन्ता गर्छ ति आफैमा महान हुन्। यस सन्दर्भमा संसारको बौद्धिक चेतनालाई प्रभावित गर्न सफल हुनुको नाताले कार्ल मार्क्स समाज विज्ञानको दृष्टिको एक अति प्रभावशालि व्यक्ति चाहि हुन्। तर उनि दार्शनिक हुनु र उनकै दर्शन अनुसार समाज प्रभावित हुनु यो नितान्त फरक कुरा हो। उनका कतिपय व्याख्याले सामाजिक न्याय र समानताको लागि वकालत त गर्छ तर यसको अर्थ यो होइन कि उनले निर्माण गर्न खोजेको राजनीतिक कार्यक्रमले कहीं न्याय दिएको छ।
कार्ल मार्क्सले समाजवादको वकालत त गरे तर यसका साधारण कार्यक्रम बाहेक अरु थप व्याख्या गरेको पाईंदैन। तसर्थ जानेर वा नजानेर संसारका कम्युनिष्टहरूले यसलाई (मार्क्सवादी दर्शनलाई) प्रयोग गर्ने असफल चेष्टा त गरे, जसको परिणामस्वरुप मानव समुदायको नरसंहार, मानव सभ्यता र संस्कृतिको विनासमा गएर टुङ्गिएको विश्व इतिहास हाम्रो सामु छ।
नेपालकै हकमा पनि तपाईले भनेजस्तै आफुलाई उदार लोकतान्त्रवादी भन्ने साथै आफुलाई कम्युनिष्ट भन्ने राजनैतिक दलहरूले समाजवादलाई आफ्नो आदर्श कार्यक्रमको रुपमा अङ्गीकार गरेको देखिन्छ। जुन कुरा व्यवहारिक पाटोको रुपमा भन्दा पनि तथाकथित आदर्शको रुपमा यस सिधान्तलाई अङ्गीकार गरेको देखिन्छ । सानो उदाहरणबाट तपाईलाई यो कुरा सम्झाउन चाहन्छु कि बर्तमान समयमा संसारको कुन चाहिं विकसित राष्ट्र समाजवादी कार्यक्रमको आधारमा विकसित भैरहेको छ त ? तपाई पश्चिमी समाज भन्नुहोस अथवा हाम्रो उत्तरी र दक्षिणी छिमेकी मुलुक भनुहोस जुन दिन समाजवादी आदर्शलाई छोडेर व्यवहारवादी उदारवाद जसलाई हामी पुँजीवाद पनि भन्छौं त्यसलाई अङ्गीकार गरे त्यसै दिन देखि आर्थिक सम्पन्नताको प्रक्रियामा अगाडि बढिरहेछ।
अब भन्नुहोस संसारका विकसित देशहरू पुँजीवादी कार्यक्रम अनुसार अगाडि बढिरहेका छन् हाम्रा राजनीतिक दलहरू भने आफ्नो राजनीतिक दस्तावेजमा र हुँदा हुँदा त संविधानमै समेत "समाजवादउन्मुख" भनेर लेख्छौं भने अब भन्नुहोस तपाईले नाम लिएका दलहरूले मानिआएको समाजवादले मुलुकलाई कता लैजाला ?
मेरो केवल यत्ति भन्नुछ कि समाजवादले केवल गरिबीको समान वितरण गर्छ तर उदारवादले सम्पन्नताको असमान वितरण गर्छ। त्यसैले तपाईले उदारवादी विकासद्वारा अझै बढि न्यायपूर्ण वितरणको प्रक्रिया अवलम्वन गर्नु नै मुलुक र मानवताको हितमा छ । नकि समाजवादको अवलम्वन गरेर ।
त्यसोभए नेपालले अवलम्बन गर्नुपर्ने राजनैतिक आर्थिक बाटो कस्तो हो ? तपाईको सुझाव के छ ?
नेपालले अवलम्वन गरेको राजनैतिक कार्यक्रम चाही लोकतान्त्रिक हो । तर संविधानमा लेखिएको समाजवादउन्मुख भन्ने शब्दले आर्थिक अधिनायकवाद तर्फ संकेत गर्छ। तसर्थ हाम्रो संविधननै आफैमा द्वैध चरित्रको देखिन्छ। राजनीतिक रुपमा उदार संविधानले आर्थिक रुपमा अधिनायकवादी चरित्रलाई स्वीकार गर्न सक्दैन।
तसर्थ राजनैतिक दलहरूले जतिसक्दो छिटो समाजवादको भ्रमबाट मुक्त हुन्छ, त्यति नै छिटो नेपालले आर्थिक प्रगति हाशिल गर्न शुरु गर्छ। र खासगरी पछिल्लो समयका युवाहरू जसले विश्वको इतिहास र राजनीतिक दर्शन अध्यायन गर्नुभएको छ र संसारको विकासको चरणहरू देख्नुभएको छ, उहाँहरूले सकिन्छ पुराना दलहरूको आर्थिक नीति परिवर्तन गर्न दवाव सिर्जना गर्नुहोस यदि सकिदैन भने तपाई नेपालको आर्थिक प्रगति होस् भन्ने कामना नगर्नुहोस। किनभने आर्थिक, वैचारिक, सामाजिक आन्दोलन अब नयाँ चेतना सहितको अभियान शुरुवात गर्न ढिला भैसकेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।