महानगरको स्वास्थ्य सर्वेक्षण: २ हजार ७५ ज्येष्ठ नागरिकको विवरण संकलन, १०८ लाई अस्पताल पठाइयो
२०८३ वैशाख २६ शनिवार
- काठमाण्डौ महानगरपालिकाले गरिरहेको ज्येष्ठ नागरिक स्वास्थ्य सर्वेक्षणमा २ हजार ७५ जनाको विवरण संकलन गर्दा १०८ जनालाई तत्काल अस्पताल लगेर उपचार गर्नु पर्ने अवस्थाको भेटिएका छन् ।
काठमाण्डौ, २६ वैशाख । काठमाण्डौ महानगरपालिकाले गरिरहेको ज्येष्ठ नागरिक स्वास्थ्य सर्वेक्षणमा २ हजार ७५ जनाको विवरण संकलन गर्दा १०८ जनालाई तत्काल अस्पताल लगेर उपचार गर्नु पर्ने अवस्थाको भेटिएका छन् । उनीहरुको अवस्था जाँच गरेपछि सर्वेक्षण टोलीले उपचार गर्न तत्काल अस्पताल पठाउन सहजीकरण गर्ने गरेको छ । उमेरका हिसाबले सबैभन्दा पाको १०४ वर्षको रहेका छन् ।
वैशाख २३ गतेसम्ममा संकलित विवरण हेर्दा १ हजार ३७० जना महिला र ७०५ जना पुरुष गरी २ हजार ७५ जनाको विवरण संकलन भएको छ । उनीहरुमध्ये १ हजार ९४६ जना परिवारसँगै छन् । १०८ जना सहयोगीबाट साथ लिएर एक्लो जीवन विताइ रहेका छन् । आफन्त र नातेदारको आश्रयमा २१ जना रहेकाछन् ।
७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य सर्वेक्षणका लागि महानगरपालिकाले २०८२ माघ १८ गतेदेखि सबै वडामा स्वास्थ्यकर्मीको टोली खटाएको छ । टोलीले ८४ वटा प्रश्नावलीको जवाफ, ज्येष्ठ नागरिकहरुले विताइरहेको जीवन स्तरको भौतिक र शारीरिक अवस्थाका आधारमा स्वास्थ्य सर्वेक्षण भइरहेको स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले जानकारी दिए । नागरिकलाई आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहूँच वृद्धि गर्ने कार्यक्रम अन्तर्गत आगामी वर्षको स्वास्थ्य नीति, बजेट तथा कार्यक्रममा पृष्ठपोषण प्रदान गर्ने उद्देश्यले सर्वेक्षण गरिएको के. सी. को भनाइ छ ।
सर्वेक्षणमा समेटिएका ज्येष्ठ नागरिकलाई ग्रीन, एल्लो र रेड जोनमा वर्गीकरण गरिएको छ । ग्रीन जोन भनेको सुरक्षित अवस्था हो । यो जोनमा भएका ज्येष्ठ नागरिकहरुलाई धेरै निगरानी र हेरचाह आवश्यक पर्दैन । यो जोनमा ९९५ जना छन् । यल्लो जोनमा रहेका विरामीहरुलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी तथा हेरचाह आवश्यक पर्छ । यो जोनमा ९७२ जना ज्येष्ठ नागरिक रहेका छन् ।
उपचारका लागि तत्काल अस्पताल पठाउनु पर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई रेड जोनमा राखिएको छ । यस्ता ज्येष्ठ नागरिकलाई तत्काल नजिकको स्वास्थ्य संस्थामा रेफर गर्ने गरिएको छ । कार्यक्रमका फोकल पर्सन अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठका अनुसार रेड जोनमा १०८ जना ज्येष्ठ नागरिक रहेका छन् । श्रेष्ठका अनुसार विवरण संकलन गरिएकामध्ये १ हजार ५३२ जनामा उच्च रक्तचाप छ । ८१७ जनामा मधुमेह छ । २०४ जनालाई स्ट्रोक भएर उपचार गराइसक्नु भएको छ । ६२३ जनामा दमको समस्या छ । ६७४ जनामा मुटु रोग छ । ३५४ जनामा थाइराइड छ । ६७७ जनामा डिमेन्सिया, ११८ जनामा पारकिङसनिजम छ । १ हजार ६३६ जनामा हाडजोर्नीको समस्या छ ।
६९९ जना पूर्ण रुपमा ओछ्यानमा आश्रित छन् । नियमित ओछ्यानमा परेका कारण ४७ जनाको सरीरका विभिन्न ठाउँमा ओछ्याने घाउ भएको छ । ओछ्याने घाउलाई अवस्थाका आधारमा १ देखि ४ ग्रेडसम्म वर्गीकरण गरिएको छ । यो वर्गीकरण अनुसार ३९ जनाको घाउ पहिलो ग्रेडको छ । दोस्रो ग्रेडमा ५ जना र तेस्रो ग्रेडमा ३ जना छन् । सर्वेक्षणमा रहनुभएका स्वास्थ्यकर्मीहरुले ओछ्याने घाउ भएका ज्येष्ठ नागरिकको घाउको ड्रेसिङ् गरिदिनुहुन्छ । घाउ हुनबाट कसरी बच्ने, भन्ने सिप सिकाउने र आवश्यक भए अस्पतालमा उपचारका लागि रेफर गर्ने बताइएको छ ।
२३ जना ज्येष्ठ नागरिकलाई नाकबाट पेटसम्म (न्याजोग्याष्ट्रिक ट्युब एनजी) पाइप राखेर खाना दिने गरिएको अवस्थाको भेटिका छन् । ५३ जनामा क्याथेटर (पिसाब फेर्न पाइप) राखिएको छ । यसरी न्याजोग्याष्ट्रिक ट्युव र क्याथेटरको राख्नु भएकालाई यी सामानको हेरचाह र सुरक्षा कसरी गर्ने भन्ने सिकाउने गरिएको छ । १ हजार ५ जनाको बिमा गरिएको छैन । सर्वेक्षण टोलीले उहाँहरुलाई विमामा आवद्ध गराउन सहजीकरण गर्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण ३५८ जनालाई औषधोपचार गर्न कठिन छ ।
सर्वेक्षणमा शारीरिक र मानसिक स्वास्थ्य, पारिवारिक तथा सामाजिक अवस्था हेरिन्छ । उहाँहरुले नियमित प्रयोग गर्ने औषधि, औषधि प्रयोग गर्ने समय तालिका, तौलमा अनायास आएको परिवर्तन, गएको १५ दिनभित्र मन तथा सोचमा आएको परिवर्तन, खानामा रुचि, आफू बस्ने, हिँड्ने तथा अन्य सुरक्षा सम्बन्धी अवस्था, लडेको भए एक वर्षमा कति पटक लड्नु भएको छ? कसरी लडेको र यसरी लड्दा भएको चोटपटकका बारेमा विवरण संकलन गरेर लड्नबाट बच्ने उपाय सिकाउने गरिएको छ । त्यस्ता ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित उपचार र सर्वेक्षण थालिएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेसले १५औँ महाधिवेशनका लागि देशभर सदस्यता डिजिटल अद्यावधिक सुरु, देउवा–कोइराला समूह असन्तुष्ट
-
अमेरिकाले क्युबामाथि आर्थिक दबाब बढाउँदै, लगायो नयाँ प्रतिबन्ध
-
एक महिनामै ओलीको बाटोमा लागे बालेन- दुर्गा प्रसाई
-
सबै क्षेत्र समेटिने समावेशी बजेट ल्याइने : अर्थमन्त्री वाग्ले
-
कांग्रेस कार्यक्रममा आसन ग्रहण डेढ मिनेटमै सकिने नयाँ नियम लागू
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।