लालकिल्लाबाट मोदीको १३औं सम्बोधन, के के भने ?

३० श्रावण, २०८३, शनिवार
सारांश
  • प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिल्लामा राष्ट्रिय झण्डा फहराउँदै परेडको सलामी लिएका थिए । उनले लगातार १३औँ पटक लालकिल्लाको प्राचीरबाट देशवासीलाई सम्बोधन गरेका छन् ।

काठमाडौँ: भारतले ८०औँ स्वतन्त्रता दिवस मनाएको छ । मुख्य समारोह नयाँदिल्लीस्थित लालकिल्लामा आयोजना गरिएको थियो ।

 

प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिल्लामा राष्ट्रिय झण्डा फहराउँदै परेडको सलामी लिएका थिए । उनले लगातार १३औँ पटक लालकिल्लाको प्राचीरबाट देशवासीलाई सम्बोधन गरेका छन् । करिब ७६ मिनेट लामो सम्बोधनमा उनले सरकारका उपलब्धि र आगामी योजनाबारे जानकारी दिएका थिए ।

 

सम्बोधनका क्रममा मोदीले महात्मा गान्धी, जवाहरलाल नेहरू, सुभाषचन्द्र बोस, श्यामाप्रसाद मुखर्जी, बिरसा मुण्डा र ज्योतिबा फुलेले देखेको भारत निर्माण गर्ने संकल्प दोहोर्याउन आह्वान गर्दै सपना, संकल्प, क्षमता र सफलतालाई जोड्दै विकसित भारत निर्माणका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

 

मोदीले युवालाई जनगणनामा सही विवरण उपलब्ध गराउन आग्रह गर्दै सही विवरणले देशको विकास योजना बनाउन सहयोग पुग्ने उनले बताए । महिलालाई राजनीतिक क्षेत्रमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलहरूलाई आग्रह गर्दै महिलाको क्षमता र सहभागितालाई थप बल दिनुपर्नेमा जोड दिए । आधुनिक चुनौती सामना गर्न युवाको सहभागितासहित देशभर नागरिक सुरक्षाको ठूलो सञ्जाल बनाउने घोषणा पनि उनले गरे ।

 

सुरक्षाका विषयमा उनले नक्सलवादी हिंसा कमजोर भए पनि हिंसात्मक सोच अझै चुनौतीका रूपमा रहेको बताए । सीमा सुरक्षासँगै तेल प्रशोधन केन्द्र, बैंकिङ क्षेत्रलगायत महत्वपूर्ण संरचनाको सुरक्षामा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो । विद्यार्थीका लागि निःशुल्क अनलाइन पढाइको सञ्जाल विस्तार गर्ने र आगामी एक वर्षमा एक करोड युवालाई कृत्रिम बुद्धिमत्तासम्बन्धी सीप दिने योजना पनि उनले सार्वजनिक गरे ।

 

शिक्षाको क्षेत्रमा नयाँ शिक्षा नीति लागू भएपछि विश्वविद्यालय र चिकित्सा शिक्षाका अवसर बढेको दाबी गर्दै मोदीले विदेशी विश्वविद्यालयसमेत भारत आउन थालेको बताए । युवालाई देशको विकासको सबैभन्दा ठूलो शक्ति र विकसित भारतको प्रमुख लाभार्थी भन्दै उनले नयाँ व्यवसाय, सीप, खेलकुद र प्रविधिमा युवालाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

 

मोदीले भारतका बैंक, औषधि उद्योग, लेखा सेवा र अन्य कम्पनीलाई विश्वस्तरीय बनाउनुपर्नेमा जोड दिए । प्रविधि र नयाँ आविष्कारलाई विकासको प्रमुख आधार बनाउँदै भारतलाई विश्वकै नवीनताको केन्द्र बनाउनुपर्ने उनले बताए । सन् २०४७ सम्म विकसित भारत बनाउने लक्ष्यका लागि आगामी वर्षहरूमा विकासको गति अझ तीव्र बनाउनुपर्ने उनको भनाइ थियो ।

 

ऊर्जा क्षेत्रमा पाँचवटा आणविक भट्टी सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिँदै मोदीले कच्चा तेलमा विदेशी निर्भरता घटाउन समुद्री क्षेत्रमा तेल तथा ग्यासको खोजी अघि बढाइने बताए । सम्बोधनपछि राष्ट्रिय गीत र राष्ट्रगानसँगै समारोहको औपचारिक समापन भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार