अमेरिकी विशेष दुत कतारमा, वार्ता गर्न इरानले राख्यो यस्तो शर्त

१६ आषाढ़, २०८३, मगलवार
सारांश
  • इरानले विदेशमा रोकिएको आफ्नो सम्पत्ति फिर्ता गर्नुपर्ने विषयलाई अमेरिकासँगको समझदारीको प्रमुख सर्त बनाएको छ । इरानले आफ्नो रकम फुकुवा नभएसम्म शान्ति सम्झौतासम्बन्धी प्रक्रिया अगाडि नबढाउने अडान लिएको छ ।

काठमाडौं: कतारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुशनर दोहा आइपुगेको जनाएको छ । तर उनीहरूको इरानी अधिकारीसँग प्रत्यक्ष भेटवार्ता नहुने स्पष्ट पारेको छ ।

 

कतारका अनुसार दुवै अमेरिकी प्रतिनिधिले कतारी अधिकारीसँग भेट गरी अमेरिका-इरानबीच जारी वार्तालाई अगाडि बढाउने विषयमा छलफल गर्नेछन् । उनीहरूले कतारको मध्यस्थतामार्फत दुवै देशबीच संवादलाई निरन्तरता दिने प्रयास गर्नेछन् ।

 

कतारले आफ्नो देशमा रोकिएको इरानको ६ अर्ब अमेरिकी डलर बराबरको रकम अझै तेहरान नपठाइएको स्पष्ट गरेको छ ।

 

ह्वाइट हाउसका एक अधिकारीका अनुसार स्टिभ विटकफ र जेरेड कुशनरले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानी तथा अन्य मध्यस्थकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

 

त्यसैगरी, अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच कतार र पाकिस्तानका मध्यस्थकर्ताको उपस्थितिमा प्राविधिक तहको वार्ता हुनेछ । यद्यपि दुवै पक्ष आमनेसामने बसेर छलफल गर्ने छैनन् । मध्यस्थकर्तामार्फत अलग-अलग रूपमा वार्ता अघि बढाइने जनाइएको छ ।

 

यसअघि पनि कतारले अमेरिकी र इरानी प्रतिनिधिबीच प्रत्यक्ष भेटवार्ता नहुने स्पष्ट पारिसकेको थियो ।

 

इरानले विदेशमा रोकिएको आफ्नो सम्पत्ति फिर्ता गर्नुपर्ने विषयलाई अमेरिकासँगको समझदारीको प्रमुख सर्त बनाएको छ । इरानले आफ्नो रकम फुकुवा नभएसम्म शान्ति सम्झौतासम्बन्धी प्रक्रिया अगाडि नबढाउने अडान लिएको छ ।

 

इरानी अधिकारीहरूका अनुसार यो सर्त समझदारीपत्रमा समावेश गरिएको छ । सम्झौताको धारा ११ मा विदेशमा रोकिएको इरानी सम्पत्ति फुकुवा गर्ने व्यवस्था गरिएको बताइएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले कतारमा रोकिएको इरानको १२ अर्ब अमेरिकी डलरमध्ये ६ अर्ब डलर फुकुवा गर्न अमेरिका सहमत भएको बताएका छन् ।

 

इरानले उक्त रकम आफ्नै सम्पत्ति भएको र अमेरिकी प्रतिबन्धका कारण वर्षौंदेखि विदेशमा रोकिएको दाबी गर्दै आएको छ । त्यसैले सबैभन्दा पहिले आफ्नो रकममा पूर्ण पहुँच सुनिश्चित भएपछि मात्र अमेरिकासँग थप वार्ता र सम्झौता कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने उसको अडान रहेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार