यूएफओ बारे अमेरिकाले जारी गर्यो पहिलो चरणका गोप्य फाइल

२०८३ वैशाख २६ शनिवार
सारांश
  • सार्वजनिक दस्तावेजमा नासाको अपोलो–१२ र अपोलो–१७ अभियानसँग सम्बन्धित तस्बिर तथा संवादका अभिलेख राखिएका छन् । एउटा तस्बिरमा चन्द्रमाको सतह माथिको आकाशमा तीन वटा रहस्यमयी बिन्दु देखिएको दाबी गरिएको छ ।

काठमाण्डौ, २६ वैशाख । अमेरिकाले यूएफओ अर्थात् अज्ञात उड्ने वस्तुसँग सम्बन्धित बहुचर्चित गोप्य फाइलहरूको पहिलो खेप सार्वजनिक गरेको छ ।

 

शुक्रबार सार्वजनिक गरिएका यी फाइलहरूमा सयौँ नयाँ भिडिओ, तस्बिर तथा पुराना सरकारी अभिलेख समावेश छन् । विशेषगरी नासाको अपोलो अभियानसँग जोडिएका तस्बिर र अन्तरिक्ष यात्रीबीचको संवादले विश्वभर चासो बढाएको छ ।

 

सार्वजनिक दस्तावेजमा नासाको अपोलो–१२ र अपोलो–१७ अभियानसँग सम्बन्धित तस्बिर तथा संवादका अभिलेख राखिएका छन् । एउटा तस्बिरमा चन्द्रमाको सतह माथिको आकाशमा तीन वटा रहस्यमयी बिन्दु देखिएको दाबी गरिएको छ ।

 

सबैभन्दा धेरै चर्चा अपोलो–१७ अभियानको संवाद अभिलेखलाई लिएर भइरहेको छ । उक्त अभिलेखमा अन्तरिक्ष यात्रीहरूले उडानका क्रममा अन्तरिक्षयान नजिक चम्किरहेका वस्तु देखिएको बताएका छन् ।

 

एक सञ्चालकले नियन्त्रण कक्षसँग संवाद गर्दै 'हाम्रा वरिपरि केही चम्किला कण वा टुक्रा गुज्रिरहेको देखियो' भनेका छन् । त्यसको जवाफमा अर्का सञ्चालकले 'मेरो झ्याल बाहिर धेरै चम्किरहेका वस्तु देखिएका छन्, दृश्य आतिशबाजी जस्तै लागिरहेको छ' भनेका छन् ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महिनाअघि रक्षामन्त्री पेट हेगसेठलाई यूएफओ तथा कथित एलियन गतिविधिसँग सम्बन्धित अभिलेख सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

 

फाइल सार्वजनिक भएपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सरकारका विभिन्न निकायलाई एलियन जीवन, यूएफओ तथा यूएपीसँग सम्बन्धित जानकारी जनतासामु ल्याउन निर्देशन दिएको बताएका छन् ।

 

यी फाइल सार्वजनिक भएपछि सामाजिक सञ्जालमा एलियन जीवन र यूएफओबारे बहस तीव्र बनेको छ । तर अमेरिकी सरकारले यसअघि पनि एलियन जीवन वा एलियन प्रविधिको ठोस प्रमाण अहिलेसम्म फेला नपरेको स्पष्ट गर्दै आएको छ ।

 

पेन्टागनका अघिल्ला प्रतिवेदनहरूमा धेरै यूएफओ भिडिओ तथा तस्बिर अन्ततः सैन्य प्रविधि वा प्राकृतिक घटनासँग सम्बन्धित रहेको उल्लेख गरिएको थियो ।

 

सार्वजनिक गरिएका दस्तावेजमा सन् १९९९ को नयाँ वर्षको पूर्वसन्ध्यामा अमेरिकी सङ्घीय अनुसन्धान निकाय एफबीआईले खिचेका केही तस्बिर पनि समावेश छन् । ती तस्बिरमा अमेरिकी सैन्य विमान नजिक केही रहस्यमयी वस्तु देखिएको दाबी गरिएको छ । साथै सैन्य चालकहरूले खिचेका तस्बिरमा तीव्र गतिमा उडिरहेका वस्तु विमान नजिकबाट गुज्रिएको देखिन्छ ।

 

एक गोप्य सैन्य प्रतिवेदनमा एक अधिकारीले आकाशमा धेरै चम्किला वस्तु तीव्र गतिमा अघि बढिरहेको देखेको बताएका छन् । प्रतिवेदनअनुसार तीमध्ये एउटा वस्तुलाई विमानको लक्ष्य प्रणालीले करिब २० सेकेन्डसम्म पछ्याएको थियो, तर पछि त्यो अचानक हराएको उल्लेख छ ।

 

नयाँ यूएफओ फाइलमा ओमानको खाडीमाथि देखिएको एउटा रहस्यमयी वस्तुको तस्बिर पनि सार्वजनिक गरिएको छ । सन् २०२४ मा इन्फ्रारेड संवेदकले आँसु आकारको तीव्र गतिमा उड्ने वस्तु अभिलेख गरेको दाबी गरिएको छ । यद्यपि अमेरिकी अधिकारीहरूले यी सबै प्रत्यक्षदर्शीका बयान मात्रै भएको स्पष्ट पारेका छन् । यसलाई एलियन वा यूएफओको आधिकारिक पुष्टि मान्न नहुने उनीहरूको भनाइ छ ।

 

अमेरिकी सांसदहरूले शुक्रबार सार्वजनिक गरिएका दस्तावेज केवल सुरुआत मात्र भएको बताएका छन् । आगामी दिनमा थप अभिलेख सार्वजनिक गरिने जनाइएको छ । तर अर्को चरणको फाइल कहिले सार्वजनिक हुन्छ भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन ।

 

रक्षा मन्त्री हेगसेथले सरकारले यूएफओसम्बन्धी विषयमा बढी पारदर्शिता अपनाउन चाहेको बताएका छन् । जनतालाई सकेसम्म धेरै जानकारी उपलब्ध गराइने र त्यसपछि घटनाको अर्थबारे निष्कर्ष निकाल्ने जिम्मा जनताकै हुने सरकारको भनाइ छ ।

 

केही दस्तावेजका अंशमा साक्षीको पहिचान तथा संवेदनशील सैन्य अड्डासम्बन्धी जानकारी लुकाउन कालो रेखा लगाइएको छ । तर अधिकारीहरूले घटनासँग सम्बन्धित कुनै महत्त्वपूर्ण जानकारी नलुकाइएको दाबी गरेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार