इरान युद्धपछि श्रीलंकाले दुई पटक बढायो इन्धनको मुल्य

८ चैत्र, २०८२, आइतवार
सारांश
  • इरान युद्धपछि श्रीलंकाले दुई पटक बढायो इन्धनको मुल्य

काठमाडौँ । इरानसँगको युद्धका कारण श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य फेरि बढाइएको छ । पछिल्ला दुई सातामै दोस्रो पटक मूल्य वृद्धि गरिएको हो ।

 

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ३९८ श्रीलंकन रुपैयाँ पुगेको छ, जुन पहिले ३१७ रुपैयाँ थियो। त्यसैगरी डिजेलको मूल्य पनि बढेर प्रतिलिटर ३८२ रुपैयाँ पुगेको छ ।

 

सरकारले इन्धनको खपत घटाउन मूल्य बढाइएको जनाएको छ । श्रीलंकाका राष्ट्रपति अनुर कुमारा दिसानायकेले मध्यपूर्वमा जारी लामो युद्धका कारण तेल आपूर्तिमा असर पर्न सक्ने भएकाले देशलाई पहिले नै तयारी अवस्थामा राख्न यस्तो निर्णय लिएको बताएका छन् ।

 

इरानसँगको युद्धका कारण उत्पन्न इन्धन संकटले श्रीलंकाका अत्यावश्यक सेवामा दबाब बढ्न थालेको छ ।

 

 स्वास्थ्यकर्मीहरूले इन्धन अभाव समाधान नभए केही दिनमै अस्पताल सेवा प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।

 

डाक्टर र जनस्वास्थ्य निरीक्षकहरूले सीमित इन्धन कोटा र लामो लाइनका कारण काममा जान समस्या भइरहेको बताएका छन्। यसले उपचार सेवा र रोग नियन्त्रण अभियानमा असर पर्ने चिन्ता बढाएको छ । त्यस्तै खाद्य आपूर्ति प्रणाली पनि दबाबमा परेको छ । ढुवानी सेवा र कन्टेनर ट्रकका लागि आवश्यक इन्धन व्यवस्थापन गर्न सरकारले तथ्यांकमा आधारित योजना सुरु गरेको जनाएको छ ।

 

इन्धन बचतका लागि सरकारले बुधबार सार्वजनिक बिदा दिने र घरबाटै काम गर्ने व्यवस्था लागू गर्ने तयारी पनि गरेको छ । पर्यटन क्षेत्रमा पनि यसको असर देखिएको छ ।

 

मध्यपूर्वका उडान केन्द्रमा समस्या आएपछि मार्चको सुरुवातमा पर्यटक आगमन २५ प्रतिशतले घटेको छ । यद्यपि सन् २०२६ को कुल आगमन भने अघिल्लो वर्षभन्दा अझै बढी रहेको छ । पर्यटन व्यवसाय जोगाउन सरकारले होटल, रेस्टुरेन्ट र पर्यटन व्यवसायीलाई प्राथमिकताका साथ इन्धन उपलब्ध गराउने तथा खाना पकाउने ग्यास आपूर्ति नरोकिने व्यवस्था गरेको छ । यस्ता चुनौतीबीच पनि श्रीलंकाको समग्र आर्थिक अवस्था भने स्थिर देखिएको छ । विदेशी मुद्रा सञ्चिति ७ अर्ब डलरभन्दा माथि रहेको, महँगी कम रहेको र आर्थिक वृद्धि दर करिब ५ प्रतिशत रहेको जनाइएको छ। तर बाह्य असरको जोखिम अझै उच्च रहेको चेतावनी दिइएको छ ।

 

इन्धन आपूर्ति सुनिश्चित गर्न श्रीलंकाले भारत, चीन, रुस र अमेरिकासँग वैकल्पिक स्रोतका लागि वार्ता तीव्र बनाएको छ। केही ग्यास आयात अमेरिकाबाट सुरु भइसकेको छ भने भारतले आपतकालीन सहयोगमा सकारात्मक प्रतिक्रिया दिएको छ । सरकारले ऊर्जा आपूर्ति, सार्वजनिक सेवा, खाद्य वितरण र सामाजिक सुरक्षाका लागि चार वटा विशेष समिति गठन गरेर विभिन्न सम्भावित अवस्थालाई ध्यानमा राखी तयारी गरिरहेको जनाएको छ । 

 

अधिकारीहरूले सन् २०२२ को संकटभन्दा अहिले देश बढी तयार रहेको दाबी गरे पनि अवस्था अझै अनिश्चित छ । इन्धन ढुवानी ढिलाइ, बढ्दो मूल्य र आपूर्ति अवरोधले आगामी दिनमा थप चुनौती ल्याउन सक्ने देखिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार