ग्रीनल्याण्डमा ट्रम्पले दिने भनेको सहयोग डेनमार्कबाट अस्वीकार
२०८२ फाल्गुण ११ सोमवार
- डेनमार्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाउने भनिएको अस्पताल जहाज (हस्पिटल शिप) अस्वीकार गरेको छ ।
एजेन्सी, ११ फाल्गुण । डेनमार्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाउने भनिएको अस्पताल जहाज (हस्पिटल शिप) अस्वीकार गरेको छ । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सन र रक्षा मन्त्री ट्रयल्स लुन्ड पल्सनले ग्रीनल्यान्डलाई कुनै बाह्य स्वास्थ्य सेवाको आवश्यकता नरहेको स्पष्ट पारेका हुन् ।
राष्ट्रपति ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्यान्डमा 'उत्कृष्ट अस्पताल जहाज' पठाइने बताएका थिए । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’मार्फत उक्त जहाज स्वास्थ्य सेवाबाट वञ्चित व्यक्तिहरूको उपचारका लागि पठाइएको दाबी गरेका थिए ।
तर रक्षा मन्त्री पल्सनले डेनिश प्रसारक डीआरसँग कुरा गर्दै ग्रीनल्यान्डका नागरिकले आवश्यक उपचार स्वदेशमै वा विशेष उपचारका लागि डेनमार्कमै प्राप्त गर्ने व्यवस्था रहेको बताए । 'ग्रीनल्यान्डमा कुनै विशेष बाह्य स्वास्थ्य पहलको आवश्यकता छैन,' उनले भने । डेनमार्क सरह ग्रीनल्यान्डमा पनि स्वास्थ्य सेवा निःशुल्क रहेको र त्यहाँ पाँच क्षेत्रीय अस्पताल सञ्चालनमा रहेको जानकारी उनले दिए । राजधानी नुउकस्थित अस्पतालले सम्पूर्ण क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।
प्रधानमन्त्री फ्रेडरिक्सनले फेसबुकमार्फत आफ्नो देशको स्वास्थ्य प्रणालीको प्रशंसा गर्दै सबैका लागि समान र निःशुल्क उपचार उपलब्ध हुनु गर्वको विषय भएको उल्लेख गरिन् । उनले ग्रीनल्यान्डमा पनि यही व्यवस्था लागू रहेको बताएकी छन् ।
रक्षा मन्त्री पल्सनले अस्पताल जहाजबारे औपचारिक जानकारी आफूलाई प्राप्त नभएको पनि बताए । उनले ग्रीनल्यान्ड सम्बन्धी ट्रंपका निरन्तर अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको नयाँ प्रवृत्तिको संकेतका रूपमा व्याख्या गरे ।
यसअघि ग्रीनल्यान्ड सरकारले कोपेनहेगनसँग सम्झौता गर्दै आफ्ना नागरिकलाई डेनमार्कका अस्पतालमा गुणस्तरीय उपचार उपलब्ध गराउने व्यवस्था मिलाएको थियो । साथै, हालै डेनमार्कको आर्कटिक कमान्डले नुउक तट नजिकै एक अमेरिकी पनडुब्बीका चालकदल सदस्यको आकस्मिक स्वास्थ्य समस्यामा सहयोग गरेको पनि जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’