शान्ति बोर्डमार्फत गाजा पुनर्निर्माणका लागि ५ अर्ब डलर दिने ट्रम्पको प्रतिबद्धता

२०८२ फाल्गुण ०४ सोमवार
सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धपछिको विनाश झेलेको गाजा क्षेत्र पुनर्निर्माणका लागि शान्ति बोर्डका सदस्यहरूले ५ अर्ब अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको बताएका छन् ।

काठमाण्डौ, ०४ फाल्गुण । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धपछिको विनाश झेलेको गाजा क्षेत्र पुनर्निर्माणका लागि शान्ति बोर्डका सदस्यहरूले ५ अर्ब अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको बताएका छन् । साथै उक्त क्षेत्रमा सुरक्षा तथा स्थिरता कायम गर्न हजारौँ अन्तर्राष्ट्रिय सुरक्षाकर्मी पठाइने प्रतिबद्धता पनि जनाइएको उनले उल्लेख गरेका छन् ।

 

ट्रम्पका अनुसार यी प्रतिवद्धताहरूको औपचारिक घोषणा आगामी बिहीबार वाशिङ्टनमा बस्ने बोर्डको पहिलो बैठकमा गरिनेछ । उनले  शान्ति बोर्ड इतिहासकै प्रभावशाली अन्तर्राष्ट्रिय निकाय बन्ने दाबी समेत गरेका छन् । यद्यपि पुनर्निर्माणका लागि कुन-कुन सदस्य राष्ट्रले रकम उपलब्ध गराउने वा सुरक्षाबल पठाउने भन्ने विषय स्पष्ट रहेको छैन ।

 

यसैबीच इन्डोनेसियाले भने आइतबारसम्म करिब ८ हजार सैनिक जुन अन्त्यसम्म मानवीय तथा शान्ति मिसनका लागि गाजामा पठाउन तयार हुन सक्ने जनाएको छ ।

 

गाजा पुनर्निर्माण ठूलो चुनौती हुने देखिएको छ । संयुक्त राष्ट्र संघ, विश्व बैंक र युरोपियन युनियनको अनुमान अनुसार यस क्षेत्र पुनर्निर्माणमा करिब ७० अर्ब अमेरिकी डलर खर्च लाग्नेछ । दुई वर्षभन्दा लामो इस्राइली बमबारीपछि गाजा पट्टीका धेरै संरचना ध्वस्त भएका छन् ।

 

संघर्षविराम सम्झौतामा सशस्त्र अन्तर्राष्ट्रिय बल राखेर सुरक्षा कायम गर्ने तथा हमासलाई निःशस्त्र बनाउने व्यवस्था गरिएको छ, जुन इजरायलको प्रमुख माग रहेको छ । तर हालसम्म धेरै देशले प्रस्तावित बलमा सहभागी हुने स्पष्ट इच्छा देखाएका छैनन् ।

 

अमेरिकी मध्यस्थतामा अक्टोबर १० मा भएको युद्धविरामले दुई वर्षभन्दा बढी समयदेखि जारी इस्राइल-हमास युद्ध रोक्ने प्रयास गरेको थियो। संघर्षको तीव्रता केही घटे पनि इस्राइली सेनाले समय-समयमा हवाई आक्रमण जारी राखेको र सैन्य नियन्त्रण क्षेत्र नजिक गोलीबारीका घटना भइरहेका बताइएको छ ।

 

२० भन्दा बढी सदस्य रहेको शान्ति बोर्डको पहिलो बैठकमा कति देश सहभागी हुने स्पष्ट छैन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सहभागी नहुने अनुमान गरिएको छ, यद्यपि उनले गत साता ह्वाइट हाउसमा ट्रम्पसँग भेट गरेका थिए ।

 

शुरुमा गाजामा इस्राइल-हमास युद्ध अन्त्य गर्ने संयन्त्रका रूपमा हेरिएको ट्रम्पको नयाँ बोर्ड अहिले विश्वव्यापी संकट समाधान गर्ने व्यापक उद्देश्यतर्फ उन्मुख देखिएको छ । विश्लेषकहरूले यसलाई दोस्रो विश्वयुद्धपछि बनेको अन्तर्राष्ट्रिय संरचनालाई पुनःपरिभाषित गर्ने अमेरिकी प्रयास तथा संयुक्त राष्ट्रलाई किनारामा पार्ने पहलको रूपमा समेत हेरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार