इरानसँग बढ्दो तनावबीच मध्यपूर्वमा अमेरिकी सैन्य तैनाथी वृद्धि
२०८२ माघ २९ बिहीवार
- इरानसँग बढ्दो तनावका बीच अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढाएको पाइएको छ ।
एजेन्सी, २९ माघ । इरानसँग बढ्दो तनावका बीच अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढाएको पाइएको छ । स्याटेलाइट तस्वीरहरूमा कतारस्थित अल–उदीद एयर बेसमा प्याट्रियट क्षेप्यास्त्र प्रणाली स्थायी लञ्चरको सट्टा ट्रकमा राखेर तैनाथ गरिएको देखिएको छ ।
रिपोर्टका अनुसार विभिन्न सैन्य अड्डाहरूमा विमान र उपकरणको संख्या समेत बढाइएको छ । फोरेन्सिक इमेजरी विश्लेषक विलियम गुडहाइन्डका अनुसार जनवरीको तुलनामा फेब्रुअरीमा सैन्य गतिविधि तीव्र देखिएको छ । ट्रकमा राखिएका प्याट्रियट प्रणालीले आवश्यक पर्दा छिटो स्थानान्तरण र पुनःतैनाथी सम्भव बनाउने बताइएको छ ।
फेब्रुअरी १ को तस्वीरमा अल उदीद बेसमा एक आरसी-१३५ निगरानी विमान, तीन सी- १३०, १८ केसी-१३५ स्ट्राटो ट्यांकर र सात सी-१७ विमान देखिएका छन्, जुन जनवरीको मध्यतिरको तुलनामा निकै बढी हो । त्यस्तै, अधिकतम १० वटा एमईएम-१०४ प्याट्रियट प्रणाली हेमटीटी ट्रकमा तैनाथ गरिएको देखिएको छ ।
जोर्डनको मुवाफ्फक बेसमा १७ एस- १५इ स्ट्राइक विमान, ८ ए-१० थन्डरबोल्ट, चार सी-१३० र चार हेलिकप्टर तैनाथ गरिएको छ । साउदी अरेबिया, ओमान र हिन्द महासागरस्थित डिएगो गार्सिया बेसमा समेत अमेरिकी सैन्य गतिविधि बढेको देखिएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु तथा ब्यालिस्टिक मिसाइल कार्यक्रमबारे कडा चेतावनी दिँदै आवश्यक परे सैन्य कारबाही हुन सक्ने संकेत दिएका छन् । यद्यपि दुवै पक्षबीच कूटनीतिक वार्ता जारी रहेको बताइएको छ ।
इरानको रिभोल्युसनरी गार्ड्सले आफ्नो भूमिमा आक्रमण भए मध्यपूर्वस्थित कुनै पनि अमेरिकी सैन्य अड्डालाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ ।
अमेरिकाले अरब सागर र लाल सागरमा युएसएस अब्राहम लिंकन, युएसएस थियोडोर रुजवेल्टलगायत विमानवाहक पोत र मिसाइल विनाशक युद्धपोत तैनाथ गर्दै क्षेत्रीय सुरक्षा सतर्कता थप कडा बनाएको छ । यससँगै अमेरिका इरानका सम्भावित परमाणु तथा सैन्य संरचनामाथि समुद्र र आकाश दुवैतर्फबाट कारबाही गर्न सक्षम अवस्थामा पुगेको विश्लेषण गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’