अमेरिकामा ४३ दिने सरकार बन्द अवधि सकियो, राष्ट्रपति ट्रम्पले गरे बजेट स्वीकृत
२०८२ कार्तिक २७ विहिवार
- अमेरिकी प्रतिनिधि सभाले बजेट प्याकेज अनुमोदन गरेको थियो । सभाले यसलाई २२२ विरुद्ध २०९ मतले पारित गरेको थियो, जसमा अधिकांश रिपब्लिकन र केही डेमोक्र्याटहरूले समर्थन गरेका थिए । यसअघि अमेरिकी सिनेटले पनि यसै हप्तामा बिल पारित गरेको थियो ।
काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकार पुनः सञ्चालन गर्न आवश्यक बजेट स्वीकृत गर्दै ऐतिहासिक ४३ दिने लामो सरकार बन्द अवधि औपचारिक रूपमा अन्त्य गरेका छन् ।
बुधबार ओवल अफिसमा बजेट स्वीकृत गर्ने समारोहमा बोल्दै ट्रम्पले यस लामो बन्दका लागि डेमोक्र्याटहरू जिम्मेवार रहेको आरोप लगाउँदै यसलाई ‘अमेरिकी करदातालाई दबाब दिने प्रयास’ भने ।
उनले भने, ‘गत ४३ दिनदेखि कांग्रेसका डेमोक्र्याटहरूले अमेरिकी सरकार बन्द गरेर अवैध आप्रवासीका लागि सयौं अर्ब डलरको माग गर्दै अमेरिकी करदातालाई दबाब दिन खोजे । आज हामी स्पष्ट सन्देश दिँदैछौं कि हामी कहिल्यै दबाबमा पर्न सक्दैनौं ।’
यसअघि, अमेरिकी प्रतिनिधि सभाले बजेट प्याकेज अनुमोदन गरेको थियो । सभाले यसलाई २२२ विरुद्ध २०९ मतले पारित गरेको थियो, जसमा अधिकांश रिपब्लिकन र केही डेमोक्र्याटहरूले समर्थन गरेका थिए । यसअघि अमेरिकी सिनेटले पनि यसै हप्तामा बिल पारित गरेको थियो ।
समारोहमा राष्ट्रपति ट्रम्पले सरकार बन्द रहँदा जनसेवामा ठूलो असर परेको र दुई लाख भन्दा बढी उडान रद्द वा ढिला भएका, एक करोड सरकारी कर्मचारीले तलब पाएका छैनन् र अहिले लाखौं अमेरिकीलाई खाद्य सहायता कटौती भएको बताए ।
नयाँ स्वीकृत बजेट एच.आर ५३७१ ले संघीय सरकारको अधिकांश कार्य जनवरी ३०, २०२६ सम्म जारी राख्ने व्यवस्था गरेको छ ।
यसले कृषि, ग्रामीण विकास, फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन, सैन्य निर्माण, भूतपूर्व सैनिक विभाग र विधायिका शाखा जस्ता मुख्य क्षेत्रहरूका लागि पूर्ण वर्षको विनियोजन पनि समेटेको छ ।
बजेट पास भएपछि सरकार तात्कालिक रूपमा आफ्नो सामान्य कामकाज पुनः सुरु गर्नेछ, र तलब नपाएको कर्मचारीहरूलाई भुक्तानी वितरण हुनेछ । यसले महत्वपूर्ण कार्यक्रमहरूमा रोकिएको रकमपनि पुनः स्थापना गर्ने जानकारी कार्यकारी कार्यालयले दिएको छ ।
ट्रम्पले समारोहमा फिलिबस्टर प्रणालीको अन्त्य गर्नुपर्ने पनि आह्वान गरे, जसले अमेरिकी सिनेटमा अनिश्चितकालीन बहस गरेर विधेयक वा प्रस्तावमा मत रोक्ने वा ढिला गर्ने प्रचलनलाई जनाउँछ ।
यससँगै अमेरिकी सरकारले इतिहासको सबैभन्दा लामो र विवादास्पद सरकार बन्द अवधि अन्त्य गर्दै पूर्ण रूपमा काम सुरु गर्ने भएको छ । ट्रम्पले आफ्नो भाषणमा भने, ‘मेरो हस्ताक्षरपछि संघीय सरकार सामान्य रूपमा सञ्चालन हुनेछ । हामी लागत घटाउने, जनसुरक्षा पुनस्र्थापित गर्ने र अमेरिकालाई सबैका लागि सस्तो बनाउन काम गर्दै जानेछौं ।’ एएनआई
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’