दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प, एपीईसी शिखर सम्मेलन अगाडि उच्चस्तरीय बैठकको तयारी

२०८२ कार्त्तिक १२ बुधवार
सारांश
  • ट्रम्प बुधबार बिहान टोकियोबाट एयर फोर्स वनमार्फत उडेर दक्षिण कोरियाको बुसानस्थित गिमहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार दक्षिण कोरिया पुगेका छन् । दक्षिणपूर्वी सहर ग्योंग्जुमा आयोजना भइरहेको एशिया–प्रशान्त आर्थिक सहकार्य (एपीईसी) शिखर सम्मेलनका अवसरमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युंगसँग उच्चस्तरीय वार्ता गर्ने तयारी गरेका छन् ।

 

ट्रम्प बुधबार बिहान टोकियोबाट एयर फोर्स वनमार्फत उडेर दक्षिण कोरियाको बुसानस्थित गिमहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनका संचार सल्लाहकार तथा राष्ट्रपति विशेष सहायक मार्गो मार्टिनले सामाजिक सञ्जाल ‘एक्स’ मा साझा भिडियोमार्फत एयर फोर्स वनलाई दुई अमेरिकी र दुई कोरियाली एफ–१६ लडाकु विमानहरूले दक्षिण कोरियाको आकाशमा स्वागत गरेको दृश्य सार्वजनिक गरेकी छन् ।

 

राष्ट्रपति ट्रम्पको यो दोस्रो कार्यकालको पहिलो एशिया भ्रमण हो, जसमा अमेरिकाले व्यापार र लगानीका ठूला सम्झौताहरूमा केन्द्रित हुने बताइएको छ । दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार ट्रम्पले बुधबार नै राष्ट्रपति ली जे–म्युंगसँग ग्योंग्जुमा भेटवार्ता गर्नेछन् । यो दुई महिनाभित्र उनीहरूबीचको दोस्रो शिखर बैठक हुनेछ । सबैको नजर जुलाईमा प्रारम्भिक सहमति गरिएको व्यापार सम्झौतामा छ, जसको अन्तिम रूप यस भ्रमणमा टुंग्याइने अपेक्षा गरिएको छ ।

 

उक्त फ्रेमवर्क सम्झौता अनुसार दक्षिण कोरियाले अमेरिका भित्र करिब ३५० अर्ब अमेरिकी डलर लगानी गर्नेछ । त्यसको बदलामा वासिङटनले ‘पारस्परिक’ रुपमा लागू गरिएको २५ प्रतिशत कर घटाएर १५ प्रतिशतमा झार्ने सहमति भएको थियो । तर, लगानी प्याकेजका विवरणमा मतभेदका कारण सम्झौता अझै लागू हुन सकेको छैन ।

 

ट्रम्पको दक्षिण कोरिया भ्रमणको अर्को महत्वपूर्ण पाटो भनेको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बिहीबार हुने बहुप्रतीक्षित भेट हो । सन् २०१९ पछि यी दुई नेताबीच हुने यो पहिलो प्रत्यक्ष वार्ता हुनेछ ।

 

यसैबीच, उत्तर कोरियाले अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणअघि मंगलबार पहेँलो समुद्रमा समुद्र–देखि–सतहमा प्रहार गर्न सक्ने रणनीतिक क्रूज मिसाइल परीक्षण गरेको दाबी गरेको छ । योन्हापका अनुसार उत्तर कोरियाले यसलाई “सामरिक प्रतिरोध क्षमताको प्रदर्शन”का रूपमा व्याख्या गरेको छ ।

 

ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग पुनः वार्ता गर्न खुला मनस्थिती देखाए पनि प्योङयाङले हालसम्म कुनै प्रतिक्रिया नदिएको पनि समाचारमा उल्लेख छ । यद्यपी, यसैबिच उत्तर कोरीयाले ट्रम्प दक्षिण कोरीया पुग्नु अघि क्षेप्यास्त्र परिक्षण गरेको खबरहरु बाहिरिएका छन् ।

एएनआई

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार