- पेशा व्यवशाय गर्न, लगानी गर्न हाम्रोमा धेरै वाधाहरू छन् । नीतिगत बाधाहरू छन्, संस्थागत बाधाहरू छन्, भौतिक पूर्वाधार निर्माणमा बाधाहरू छन् । यस्ता विभिन्न बाधाहरू छन् जसले हाम्रो अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायामान गराउन सकेको छैन।
पछिल्लो समय राष्ट्र बैंकको तथ्याङ्क र राष्ट्रिय तथ्याङ्क कार्यालयको आफ्नै तथ्याङ्कमा समग्र आर्थिक सूचकहरू सकारात्मक देखिएका छन् । आर्थिक वृद्धि दर राम्रै देखिएको छ। मुद्रास्फीति घटेको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ। रेमिट्यान्स पनि बढेको छ । यसरी हेर्दा राम्रो छ भन्ने देखिन्छ तर यसलाई सर्वसाधारणले (आम जनताले) महशुस गर्न सकिरहेका छैनन्। सरकारी आंकडामा जुन राम्रो चित्रहरू देखिएको छ, त्यो आम जनताले महशुस गर्न नसक्नु नै अहिलेको विरोधाभास हो ।
यो किन भैरहेको छ भने हाम्रो जुन आकांक्षा छ, हामीले छिमेकी मुलुकहरूसँग वा अन्य अन्तराष्ट्रिय समुदायसँग आफुलाई दाजेर हेर्छौं। त्यहाँको जस्तो रोजगारी, उत्पादन, भौतिक सुखसुबिधाहरू हामीलाई किन सुलभ छैन भनेर सोच्छौं।
त्यसको लागि आर्थिक वृद्धि हुनुपर्छ। वृद्धिदर न्युन भयो भने हाम्रो आकांक्षा पूर्ति हुदैन । अहिले हाम्रो प्रतिव्यक्ति आम्दानी हेर्ने हो भने हामी न्यून आय भएको देशमै पर्छौं। अहिले संसारमै धनी भनिएका मुलुकहरूको प्रति व्यक्ति आम्दानी ५०–६० हजार डलर भन्दा माथि छ। प्रति व्यक्ति आम्दानी धेरै हुन किन आवश्यक छ भने त्यो भएपछी नै ति सबै चिजहरू सुलभ हुन सक्छ। भौतिक सुख सुविधाहरू प्राप्त हुन्छन् । यसका लागी हामीलाई राम्रो रोजगारी चाहिन्छ। अनि रोजगारीका लागि उत्पादनमुलक गतिविधिहरू हुनुपर्छ। त्यो चाहिं भैरहेको छैन।
अहिले हामीले सतही रुपमा मौद्रिक आंकडाहरू मात्रै हेरिरहेका छौं। तर खासमा अलि गहिरिएर हेर्ने हो भने हामी उत्पादनमुलक गतिविधि गरिरहेका छैनौं। र, यो हाम्रो आंकडा भनेको विगतको आंकडासँग तुलना गर्दा देखिएको राम्रो आंकडा हो । अघिल्लो वर्ष र पछिल्लो वर्ष भन्ने जस्तो मात्र। हाम्रा छिमेकीहरूसँग वा अन्य अन्तराष्ट्रिय समुदायसँग तुलना गर्दा वा वास्तविक अवस्थाालाई मनन गर्ने हो भने यो दरिलो होइन।
भन्नुको मतलव अब हामीले आर्थिक चमत्कार गरेको भन्ने जतिपनि मुलुकहरूको नाम आउँछ हाम्रो दिमागमा जस्तै चीन, जापान, कोरिया, सिंगापुर, हङकङ, आदि देशहरू। ति देशहरूले एक समयमा लगातार १० प्रतिशत वरिपरी आर्थिक वृद्धि गरेका थिए। त्यो पनि लगातार १५–२० वर्ष। ति देशहरूले एउटा पुस्तामै गरिबी निवारण गरे भनिन्छ। अहिले चीनले पनि दावी गरिरहेको छ कि आफ्नो देशमा गरिबी छैन भनेर। यो किन भैरहेको छ भने उनीहरूले लगातार २०–२५ वर्षसम्म कम्तिमा ८–१० प्रतिशतका दरले आर्थिक वृद्धिदर कायम गरे । हाम्रोमा एक पटक मात्रै ८ प्रतिशत छोएको थियो (५२–५४ ताका) नत्र भने कहिले पनि हामीले त्यस्तो आर्थिक वृद्धिदर गर्न सकेकै छैनौं।
हाम्रो पछिल्लो ४०–५० वर्षको आर्थिक वृद्धिदर त्यहि ३–४ प्रतिशत मात्रै हो। त्यो भनेको न्यून वृद्धिदर हो । यसले मुख्य आर्थिक वृद्धिदर छ कि छैन भन्ने देखाउँछ। त्यो नभएको कारणले अहिले जति पनि सरकारी तथ्याङ्कहरू आए पनि त्यसबाट हामी सन्तुष्ट हुन सकिरहेका छैनौं।
पेशा व्यवशाय गर्न, लगानी गर्न हाम्रोमा धेरै वाधाहरू छन् । नीतिगत बाधाहरू छन्, संस्थागत बाधाहरू छन्, भौतिक पूर्वाधार निर्माणमा बाधाहरू छन् । यस्ता विभिन्न बाधाहरू छन् जसले हाम्रो अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायामान गराउन सकेको छैन।
वि.सं. २०४६ सालपछि उदारवादलाई अवलम्वन गरियो। बैंक तथा वित्तिय क्षेत्र, शिक्षा, स्वास्थ्य, वैदेशिक व्यापार सबैमा निजी क्षेत्रको लगानीलाई खुला गरियो। पहिले जस्ता प्रतिबन्धहरू थिए, ति हटाईयो । तर त्यसरी हटाउदा के हुन गयो भने वित्तिय क्षेत्रले अलि गति लियो। वित्तिय क्षेत्र भनेको अरु आर्थिक गतिबिधि भयो भने उसले पनि प्रगति गर्ने हो। वित्तिय क्षेत्र एक्लै अगाडी बढन सक्दैन।
तर, भैदियो के भने वित्तीय संस्थाहरूमा सबैभन्दा धेरै लगानी भएको देखियो। बैंक तथा वित्त क्षेत्रका संस्थाहरू धेरै भए क, ख, ग, घ वर्गका । त्यसमा पुँजी कति धेरै लगानी भयो। त्यो क्षेत्र आफै अडिनको लागि उत्पादनमुलक क्षेत्रहरू जस्तै कृषि क्षेत्र, प्रशोधन क्षेत्र अथवा अन्य सेवा क्षेत्रहरू त्यहि गतिमा विकास हुन सकेन। यसले गर्दा बिरोधाभास सिर्जना भयो ।
यसले के विरोधाभास निर्माण गर्यो भने पैसा भन्छौं नि हामी, रेमिट्यान्स होस वा यहीं हामीसँग भएको पैसा होस, पैसाले पैसा उत्पादन गर्ने जस्तो भयो । यसले गर्दा सम्पत्तिहरूको मूल्य बढ्यो । घरजग्गाको मूल्य बढ्यो, सेयरको मूल्य बढ्यो। अरु बहुमुल्य सम्पत्तिहरूको मूल्य बढ्यो। तर त्यो सम्पत्तिहरूबाट सिर्जना हुने जुन लाभ हो त्यो सिर्जना हुन सकेन। यसले फेरी अर्थतन्त्रलाई खुम्च्याउने तिर लग्यो। यो खालको बिरोधाभास हाम्रो अर्थतन्त्रले सिर्जना गरेको हो।
हाम्रो अर्थतन्त्रको सिमितता के छ भने, त्यो भौतिक पूर्वाधारसँग जोडिएको छ। जस्तो हामीले रहर गर्छौं, कि हाम्रो पनि अर्थतन्त्र उद्योगमा आधारित होस्। औद्योगिक गतिविधिहरू होउन, कलकारखानाहरू होउन। हामी सामान्य कुराकानी गर्दा पनि आर्थिक समस्या के हो, यसलाई समाधान कसरी गर्ने भन्दा मानिसहरू फटाफट जवाफ दिन्छन, एउटा उद्योग खोले भैहाल्यो नि भनेर। त्यहाँ मान्छेले रोजगारी पाउँछन, आर्थिक समस्या समाधान हुन्छ भन्छन् । हो यस्तो रहर त हामी गर्छौं । हाम्रो भौतिक पूर्वाधार, बिजुली, सडक र पानीको अवस्था र हाम्रो भौगोलिक बाधाहरू छन् त्यसले हामीलाई अरु क्षेत्र जस्तो उद्योगहरूलाई फस्टाउन दिदैन।
फेरी एउटा कुरा के भने हामी आफैले मात्र रहर गरेर पनि हुँदैन। हामीले औद्योगिक उत्पादनमा जाने हो भने भारतले वा चीनले भन्दा सस्तो उत्पादन गर्न सक्नुपर्छ। हामीले हाम्रै जनसंख्यालाई लक्ष्य गरेर उत्पादन गर्ने हो भने कत्रो ठूलो कारखाना स्थापना गर्न सकौंला ? त्यसले कति जनालाई रोजगारी देला ? अहिले सुनिरहेका छौं कि सिमेन्ट उद्योगहरूको उत्पादन धेरै ‘ओभरप्रोडक्सन’ भइरहेको छ । हाम्रो अर्थतन्त्रले खपत गर्न सकिरहेको छैन। ८–१० वटा सिमेन्ट उद्योग आउँदा त हाम्रोमा ओभरप्रोडक्सन हुन्छ भने अन्य औद्योगिक क्षेत्रमा पनि यस्तै समस्या होला नि !
हामीले सिंगापुरलाई तुलना गर्न सक्छौं। सिंगापुरको जुन ‘विशेष अवस्थिति’ छ त्यस्तै हाम्रो पनि छ। सिङ्गापुर समुन्द्रले घेरिएको एउटा सानो टापु देश हो । त्यसले गर्दा उसले धेरै उत्पादन गर्न सक्दैन। त्यो गर्न सक्ने उसँग क्षेत्रफल नै छैन। त्यसकारण हाम्रा लागी उद्योग उपयोगी होइन भन्ने उनीहरूले बुझेर अर्को क्षेत्रमा ध्यान दिए। उनीहरू वित्त, पर्यटन, सेवा, व्यापार, ट्रान्जिट सेवा आदिमा केन्द्रित भए । त्यस्तै हाम्रो चाहिँ विशेषता के हो ? सिंगापुरको जुन रणनैतिक अवस्थिति छ, त्यस्तै हाम्रो लागि पनि पर्यटन, जलविद्युत, कृषि, जसमा हामी अरु देशहरूसँग प्रतिस्पर्धा गर्न सकौंला । अथवा उद्योग सिर्जनामा जस्ता वाधाहरू छन्, उत्पादनदेखि बजारसम्म त्यस्ता वाधाहरू पर्यटन अथवा अन्य सेवा क्षेत्रहरूमा नहोला। त्यसकारण हाम्रो समस्या अथवा अवसरको क्षेत्र के हो पहिचान गर्नुपर्छ ।
हाम्रो संविधानमा लेखिएको ’समाजवाद उन्मुख’ भन्ने शब्दले लगानीकर्तालाई मनोवैज्ञानिक रुपमा निरुत्साहित गर्छ । अर्को यसले व्यवहारिक रुपमा पनि लगानीकर्तालाई निरुत्साहित गर्छ । कुनै लगानीकर्ताले सम्पत्ति कमाउदै, सम्पत्ति जोड्दै र लगानी बढाउदै गर्दा भोलि राष्ट्रियकरणका कुराहरू आउलान। समाजवादले त त्यहि भन्छ। सामुहिकिकरण गर्ने भन्छ। अथवा उच्च कर लगाउने कुराहरू आउलान, यो त भैरहेको पनि छ। यस्ता गतिबिधिहरूलई समाजवादले जोड देला, त्यो अवस्थामा व्यवहारिक रुपमै अप्ठ्यारो हुन्छ।
तपाईले पेशा व्यवसाय गर्दै हुनुहुन्छ भने बढी कर तिर्नुपर्ने हुन सक्छ। तपाई मिहिनेत गर्ने तर कर चाहिं बिना अर्थमा तिर्नुपर्ने भयो भने तपाईलाई उत्साहित त बनाउदैन। बढीभन्दा बढी लगानीकर्तालाई उत्साहित गर्दैन। त्यसैले संविधानमा लेखिएको ’समाजवाद उन्मुख’ शब्द लगानीकर्तालाई निरुत्साहित गर्ने एउटा महत्वपूर्ण फ्याक्टर हो। लगानीकर्ताहरूले लगानी गर्नुपूर्व हाम्रो नियम कानुन, संविधान त पक्कै हेर्छन। हाम्रा संस्थारू कति व्यापार व्यवसायमैत्री छन्, लाईसेन्सका कुराहरू लगायत सबै हेरेर मात्रै लगानी गर्छन।
समाजवादी संरचना भनेको राज्यद्वारा केन्द्रिकृत गर्ने, नियन्त्रण गर्ने संरचना हो। भोलि राजनैतिक तह र कर्मचारितन्त्रबाट त्यहि कानुन र संवैधानिक व्यवस्थालाई समातेर लगानीकर्ताहरूलाई दुख दिन्छन कि दिदैनन भन्ने डर त रही नै रहन्छन। पैसा लगानी गर्ने लगानीकर्ताले आफु कस्तो वातावरणमा लगानी गर्दैछु भनेर त पक्कै सोचविचार गर्छ।
नियम कानुन फितलो भयो भने वा देशमा नेताराज चल्यो भने अथवा तजबिजमा चल्ने भयो भने फटाहाहरूलाई सजिलो हुन्छ। जसले अन्यत्र अपराध गरेर अथवा भ्रष्टाचारजन्य काम गरेर कमाएको पैसा यहाँ ल्याउन सक्छन। त्यो त हामीले चाहेको होइन। हामीलाई त शुद्ध लगानीकर्ता चाहिएको हो। त्यस्ता शुद्ध (वास्तविक) लगानीकर्ताहरूले त पक्कै हाम्रा नीति नियम र संवैधानिक व्यवस्था आदि पक्कै हेर्छन। लगानीकर्ताको पैसा सित्तैमा आएको होइन, मिहेनत गरेरै आएको हुन्छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’