नास्तिक पनि आस्तिक:

२०८२ जेठ २ शुक्रबार
सारांश
  • सबैको विनाशकर्ता, सबैको निषेधको अवधि र साक्षीभूतलाई अस्वीकार गर्दा शून्य पनि अप्रामाणिक हुनेछ। त्यसैले त्यही सबैभन्दा अबाधित, सर्वबाधको अधिष्ठान एवं साक्षीभूत अस्तित्वको सत्ता नै भगवानको 'वास्तविक' वा 'सत्' रूप हो।

भक्तहरूको सर्वस्व र ज्ञानीहरूको एकमात्र परम-सार ईश्वर नै नास्तिकहरूको पनि सर्वस्व हुनुहुन्छ। यो असम्भव जस्तो लाग्छ, तर विवेचन गर्दा यो धेरै स्पष्ट हुनजान्छ। चाहे जस्तोसुकै नास्तिक किन नहोस्, ऊ आफ्नो अभावदेखि आत्तिन्छ, ऊ यही चाहन्छ कि 'म सधैँ रहिरहुँ'। साधारण प्राणी पनि आत्मरक्षाको लागि चिन्तित रहन्छन्। कोही पनि आफ्नो अस्तित्व मेटाउन चाहँदैनन्। यसरी, नास्तिक पनि आफ्नो अस्तित्वको पूर्ण अनुरागी छ। यो अलग कुरा हो कि 'आफू' भन्ने तत्त्व को हो जसको अस्तित्व ऊ चाहन्छ, त्यो उसलाई थाहा छैन। यदि सौभाग्यवश यसतर्फ पनि कहिल्यै उसको दृष्टि पर्यो भने उसले बुझ्नेछ कि विनाशी शरीर, इन्द्रिय, मन, बुद्धि, अहंकार, यी सबै 'दृश्य' र 'मेरा' हुन्; तर 'म' यिनीहरूबाट अलग तथा यिनको 'द्रष्टा' हुँ। म त्यही निर्विकार द्रष्टा आत्माको नै सदाको लागि अस्तित्व चाहन्छु। विश्लेषण गर्दा यो पनि थाहा हुन्छ कि स्वप्रकाश दृक् को अस्तित्व 'तत्' स्वरूप नै छ। त्यसैले आत्मालाई स्वप्रकाश भनिन्छ। संसारका अनेकानेक वस्तुहरूमा चाहे जतिसुकै शङ्का होस्, तर ‘म छु अथवा छैन’ - यस्तो आत्मविषयक शङ्का कसैलाई पनि हुँदैन। संसार, ईश्वर, धर्म, कर्म सबैको अभाव प्रमाणित गर्ने शून्यवादीले पनि "स्व" को अस्तित्वलाई नचाहेरै स्वीकार गर्नुपर्छ, किनकि जो सबैको अभावलाई प्रमाणित गर्नेवाला हुन्छ, यदि ऊ रह्यो भने स्वात्म बाहेक सबैको अभावमात्र प्रमाणित हुन्छ- आफ्नो अभाव प्रमाणित हुँदैन। सबैको विनाशकर्ता, सबैको निषेधको अवधि र साक्षीभूतलाई अस्वीकार गर्दा शून्य पनि अप्रामाणिक हुनेछ। त्यसैले त्यही सबैभन्दा अबाधित, सर्वबाधको अधिष्ठान एवं साक्षीभूत अस्तित्वको सत्ता नै भगवानको 'वास्तविक' वा 'सत्' रूप हो।

 

साथै, बोध र प्रकाशको निम्ति हरेक प्राणीमा उत्सुकता देखिन्छ। पशु र पंक्षीहरू पनि स्पर्श र गन्धद्वारा ज्ञानको प्रेमी हुन्। यो ज्ञानको चाहना उत्तरोत्तर बढिरहन्छ। हामीलाई अब अमुक तत्त्वको ज्ञान होस्, अब अमुकको होस्, हामीमा इतिहास, भूगोल, खगोल, भूत तत्व र अधिभूत, अधिदैव, अध्यात्मजस्ता सबै तत्वहरू जान्ने इच्छा हुन्छ। धेरै के बताउनु! सर्वज्ञ नभएसम्म ज्ञानमा सन्तुष्टि हुँदैन। पूर्ण सर्वज्ञता कहाँ हुन सक्छ भन्ने कुराको विवेचन गर्दा यो स्पष्ट हुन्छ कि सबै पदार्थ जुन स्व-प्रकाश, अखण्ड, विशुद्ध भान (बोध) मा कल्पित छ, त्यही सर्वावभासक एवं सर्वज्ञ हुन सक्छ, किनभने प्रकाश वा भान अत्यन्त असङ्ग एवं निरवयव र अनन्त छ। दृश्यसँग उसको आध्यात्मिक सम्बन्ध बाहेक अरु संयोग, समवाय आदि सम्बन्ध बन्नै सक्दैन। त्यसैले यदि सर्वज्ञ हुने इच्छा छ भने, यो अखण्ड बोध नै भगवानको 'चित्' रूप हो। जसरी पूर्वोक्त अखण्ड, अनन्त, स्वप्रकाश सत्ता वा अस्तित्व नै आफू तथा सबैको निज रूप हो, त्यसरी नै यो अबाध्य, अखण्ड बोघ पनि सबैको अन्तरात्मा हो।

 

संसारमा कुनै पनि पशु, कीरा फट्याङग्रा यस्तो छैन जो आनन्दको लागि व्यग्र नभएको होस्। प्रत्येक प्राणीको शरीर, इन्द्रिय, मन, बुद्धि, अहंकार आदिका जति पनि प्रयास र गतिविधिहरू छन्, ती सबै आनन्दका लागि हुन्। कुनै पनि प्रयोजनबिना कसैको पनि प्रवृत्ति हुँदैन। एउटा उन्मत्त व्यक्तिले पनि चाहे भ्रमवश होस् या अज्ञानवश, आनन्दको लागि नै सबै चेष्टाहरू गर्दछ। समस्त वस्तुहरूमा गर्दछ । समस्त वस्तुहरूमा भ्रान्त भएर पनि प्राणी जसका लागि नाना चेष्टाहरू गर्दछ, त्यसमा विषयमा उसलाई भ्रम या सन्देह अथवा अज्ञान होस्, यो कसरी भन्न सकिन्छ? यसरी जसको लागि सबै प्रयासहरू भइरहेको छ, त्यो आनन्द निकै प्रसिद्ध छ। संरारभरका समस्त वस्तुहरूमा प्रेम जसका लागि हो, र जो स्वयं निरतिशय एवं निरुपाधिक प्रेमको आस्पद हो, अन्यको निमित्त प्रिय नहोस्, त्यही 'आनन्द' हो। हामी देख्न सक्छौँ कि समस्त आनन्दका साधनहरूमा प्रेम अस्थिर हुन्छ। स्त्री, पुत्र आदिमा प्रेम तबसम्म छ, जबसम्म उनीहरू अनुकूल छन्; प्रतिकूल हुनासाथ उनीहरूसँग द्वेष हुन्छ। तर, सुख र आनन्द त सदा नै प्रिय रहन्छ। कहिल्यै पनि, कसैलाई पनि आनन्दसँग द्वेष होस्, यो हुन सक्दैन। यसरी सबै आनन्द चाहन्छन् र त्यसैको प्राप्तिको लागि प्रयत्नशील एवं लालायित रहन्छन्। 

 

तर, उसलाई पहिचानको कमी छ, किनकी जुन आनन्द र सुखको लागि नास्तिक व्यग्र छ, त्यसलाई चिन्दैन। ऊ त सुखसाधन, स्त्री-पुत्र, शब्द-स्पर्श आदिको सम्भोगमा नै सुखको भ्रान्तिमा फसेर त्यसमा नै सन्तुष्ट हुन्छ। तर विवेचनबाट यो थाहा हुन्छ कि जसमा कहिले प्रेम र कहिले द्वेष हुन्छ, त्यो सुख होइन, अपितु सदा नै जसमा निरतिशय एवं निरुपाधिक प्रेम हुन्छ, त्यही सुख हो। जगतको सम्भोग साधन-पदार्थ यस्ता छैनन्, त्यसैले ती सुखरूप होइनन्; तर आफूले चाहेको वस्तुको प्राप्तिले तृष्णाप्रशमन भइसकेपछि जुन शान्त अन्तर्मुखी मनमा सुखको आभास हुन्छ, त्यो आभास वा प्रतिबिम्बको निदान वा विम्बभूत जो अन्तरात्मा छ, त्यही 'आनन्द' हो।  जुन लक्षण आनन्दको छ, त्यही लक्षण अन्तरात्माको पनि हो। जसरी सबैकुरा आनन्दको लागि प्रिय छ, आनन्द अरु कसैका लागि प्रिय होइन, ठिक त्यसरी नै समस्त वस्तु आत्माको लागि प्रिय हुन्छ, आत्मा कोही अरुका लागि प्रिय हुँदैन। अतः आत्मा नै आनन्द हो र आत्मा नै निरतिशय, निरुपाधिक परम-प्रेमको आस्पद हो। त्यसैको आभास अन्तर्मुखी अन्तःकरणमा हुनाले 'म सुखी छु' यस्तो अनुभव हुन्छ। यसकै लागि समस्त कार्य-कारण-सङ्घातको प्रवृत्ति हुन्छ। यो सुख-दुःख-मोहात्मक, नानात्मक सङ्घातभन्दा विलक्षण सुख-दुःख-मोहातीत, असंहत, असङ्ग, अद्वितीय तत्त्व नै भगवानको 'आनन्द' रूप हो। यसरी सबै सच्चिदानन्द भगवानका उपासक हुन्। 

 

सबै प्राणी स्वतन्त्रता चाहन्छन्। एउटा कमिलालाई समाउँदा पनि व्याकुल भएर हातखुट्टा चलाउँछ। सुगा, सारिका आदि पंक्षी सुनको पिँजड़ामा बन्द रहेर सुन्दर, मधुर भोजनको अपेक्षा बन्धनमुक्त भएर स्वतन्त्रतापूर्वक वनमा अमिलो फल नै खाएर भए पनि जीवन व्यतीत गर्नुमा वास्तविक आनन्दको अनुभूति गर्दछन्। यसरी समस्त प्राणी बन्धनबाट छुट्न र स्वतन्त्र हुन लालायित छन्। यो स्थितिमा कुन नास्तिक बन्धनमुक्ति र स्वतन्त्रता नचाहला? तर, स्वतन्त्रताको वास्तविक रूप विवेचन गर्दा स्पष्ट हुन्छ कि यो पनि भगवानकै स्वरूप हो। असङ्ग सच्चिदानन्द भगवानलाई प्राप्त नगरीकन बन्धनमुक्ति र स्वतन्त्रताको कल्पना अत्यन्तै निराधार छ। जबसम्म स्थूल, सूक्ष्म तथा कारणदेहको सम्बन्ध बनिरहन्छ, तबसम्म स्वतन्त्रता कसरी हुनसक्छ? चाहे कसैले माता-पिता, गुरुजन तथा वेद-शास्त्रको आज्ञालाई नमानोस् र त्यसबाट आफूलाई स्वतन्त्र मानोस्, तर जन्म, जरा, व्याधि, दरिद्रता, विपत्ति, मृत्यु, आदिको परतन्त्र त सम्पूर्ण प्राणीहरू हुनैपर्छ, किनकी जबसम्म केही स्वतन्त्रतालाई त्यागेर शास्त्र एवं गुरुजनको परतन्त्र भएर कर्म, उपासना तथा ज्ञानद्वारा मल, विक्षेप आवरणलाई हटाएर शरीरत्रय-बन्धनबाट मुक्त भएर निजी निर्विकार स्वरूपलाई प्राप्त गरिँदैन, तबसम्म पूर्ण स्वातन्त्र्य प्राप्त हुनै सक्दैन। यस विवेचनबाट स्पष्ट हुन्छ कि 'स्वतन्त्रता' पनि सर्वोपाधिविनिर्मुक्त, असङ्ग, अनन्त, स्वप्रकाश, प्रत्यग भिन्न भगवानकै स्वरूप हो। 

 

त्यसरी नै, सम्पूर्ण प्राणीहरूमा यो रुचि हुन्छ कि सबै कुरा मेरो अधीन होस्, र म स्वाधीन रहुँ। यहाँसम्म कि माता-पिता, गुरुजनको प्रति पनि यही रुचि हुन्छ कि, यी सबैले मेरो प्रार्थना मानुन् र हर प्रकारले मेरो अनुकूल रहुन्। यही स्थिति देवताहरूको प्रति पनि हुन्छ। यी सबै भाव पनि जीवभाव रहेसम्म पूरा हुन सक्दैनन्। समस्त कल्पित पदार्थ कल्पनाको अधिष्ठानभूत भगवानकै परतन्त्र हुन सक्दछन्। यसरी, परमार्थतः पूर्ण अस्तित्व, पूर्ण बोध, पूर्ण आनन्द, पूर्ण स्वातन्त्र्य, पूर्ण नियामकत्व, यी सबै भगवानमा नै हुन्छन्। जब आस्तिक नास्तिक सबै पूर्ण स्वातन्त्र्य, पूर्व बोध, पूर्ण आनन्द, पूर्ण अबाध्यता या सत्ताको लागि व्यग्र छन्, तथा यिनको प्राप्तिको लागि आफ्नो सम्पूर्ण शक्ति लगाएर प्रयत्न गर्दछन्, तब कसले यो भन्न सक्छ कि अज्ञानी किं वा नास्तिक जसको प्राप्तिको लागि व्यग्र छ, त्यो तिनै भक्तहरू र ज्ञानीहरूको ध्येय, ज्ञेय, परमाराध्य, परब्रह्म भगवान होइनन्? किनकी प्राणीमात्र किं वा तत्त्वमात्रको अन्तरात्मा भगवान नै हुनुहुन्छ। तब वहाँबाट विमुख भएर निः सत्त्व, निःस्फूर्त्ति कसले चाहन्छ? यही आशयले श्रीवाल्मिकीजीको भनाइ छ—

"लोके नहि स विद्येत यो न राममनुव्रतः।" 

 

लोकमा यस्तो कोही पनि छँदै छैन जो रामको अनुगामी नहोस्। निज-सर्वस्वको बिना कसैलाई पनि कसरी शान्ति हुन सक्छ? त्यसैले, तरङ्गको जसरी समुद्रानुगामिता छ, ठीक त्यसरी नै प्राणीमात्रको भगवदनुगामिता छ। फरक यत्ति हो कि ज्ञानीले आफ्नो प्रियतमलाई जानेर प्रेम गर्दछ, अरु उसैका लागि व्यग्र भएर पनि उसलाई जान्दैनन्।

 

(- धर्मसम्राट् स्वामिश्री करपात्रीजी महाराजको लेखको नेपाली अनुवाद। 

अनुवादक : आशिष पाठक) 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप लेखहरु